Newslaya Home

​थारु लोक कलाबाट यसरी सजियो कार्यक्रम हल (फोटो फिचरसहित)

मङ्गलबार २६, असार २०७५

इटहरी । भित्ताभरी सजाइएका चित्रकला र पेन्टिङहरु, कार्यक्रमहलभरी थारु समुदायका महिलाहरु । इटहरीमा आयोजित एक महिने थारु चित्रकला तालिमको समापनको समयमा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा देखिएको दृश्य हो यो ।

इटहरी थारु समुदायको बाहुल्य भएको र थारु समुदायले वन फडाँनी गरेर बस्ती सुरु गरेको ठाउँ हो । तर पछिल्लो समयमा थारु समुदायको मौलिक पहिचानहरु मासिने क्रममा छ । सोमध्ये थारु लोक कलासमेत एउटा हो ।

सोही लोककलालाई जीवन्त बनाउन इटहरी उपमहानगरपालिकाले एक महिने तालिम आयोजना गरेको थियो । उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत सञ्चालन गरेको एक महिने थारु जातीको कोहबर चित्रकला निर्माण सम्बन्धि तालिम दिइएको थियो । कोहबर नवविवाहित दुलहा, दुलहीको कोठामा बनाइने पेन्टिङ हो । यो पेन्टिङ थारु समुदायमा पुस्तान्तरण हुँदै आएको छ । तर धेरैले यो बनाउन जान्दैनन् । त्यसैले तालिमबाट सिकेका प्रशिक्षार्थीहरुले अरुको घरमा पेन्टिङ बनाइदिएर आर्थिक आयआर्जन गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमलगायतले सम्बोधन गरेका थिए । उपमेयर गौतमले तालिमपछि महिलाहरुले बनाएका चित्र, पेन्टिङको बजार खोज्नको लागि समेत आफूहरुले सहयोग गर्ने बताइन् ।

सामाजिक विकास महाशाखाको समितिकी संयोजक शान्ता अधिकारीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, नेकपाका इटहरी अध्यक्ष रेवतीप्रसाद घिमिरे, कांग्रेस इटहरी सचिव बिजय केसी, संघीय समाजवादीका इटहरी अध्यक्ष शङ्कर राई, प्रशिक्षक सरोजा खड्गी लगायतले बोलेका थिए ।

कोहबर चित्रकला तालिममा ३८ जना थारु महिलाहरुको सहभािगता थियो ।