Newslaya Home

टेंग्रा खोला सफा गर्न यसरी जुट्यो इटहरी

मङ्गलबार २४, साउन २०७४

इटहरी । इटहरीको मध्यभाग हुँदै बग्ने टेंग्रा खोला निकै फोहोर देखिँदै आएको थियो । खोला, नाला, पोखरी जस्ता पानीका प्राकृतिक स्रोतहरुको संरक्षण र सरसफाइलाई विश्वव्यापी रुपमा महत्व दिइँदै आएकोमा इटहरीको यो खोला भने लामो समयदेखि वेवास्ताको शिकार बन्दै आएको थियो ।
पछिल्लो समयमा भने इटहरीका केही जुझारु व्यक्तिको सक्रियतामा इटहरीको टेंग्रा खोला सफाइ दैनिक रुपमा चलिरहेको छ । इटहरीका हिरा आचार्य, दिव्यराज गुरुङ, निरु चौधरीलगायतका केही अभियानकर्मीहरुको पहलमा थालिएको यो अभियानबाट  महिना लामो सरसफाइले खोला केही सफा भएको छ, तर त्यहाँ फोहोर फाल्ने क्रम नरोकिएकोले सफा गरिरहनुपर्ने बाध्यता छ ।
इटहरी सफाइको जिम्मा लिएको इन्भारो केयर कन्सर्न प्रालि नामक कम्पनिले इटहरीको सरसफाइ भन्दा पनि फोहोर उठाउने र फाल्ने मात्र काम गर्दै आएपछि सर्वसाधारण सचेत वर्ग खोला सफा गर्न आफै तातेको हो ।

अभियानकर्मीहरुको पहलमा खोला छेउमा वृक्षरोपण गरिएको छ भने फलैंचाहरु समेत राखिएको छ । खोलाको किनारमा मानिसहरु सुस्ताउन वा थकाइ मार्ने गरी व्यवस्था मिलाईँदैछ भने दुवैतर्फ बगैँचा बनाउने योजना बनाइएको छ । यो कामको लागि इटहरीका उद्योगी, समाजसेवी, युवा तथा शैक्षिक, सामाजिक संस्थाहरुले सहयोग गरिरहेका छन् ।