Newslaya Home

निशानको स्वागतमा उर्लियो पूर्व (फोटो फिचरसहित)

मङ्गलबार २७, भदौ २०७४

इटहरी । नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराई मंगलबार पूर्व आएका छन् । मोरङको उर्लाबारीस्थित आफ्नो घर आउने क्रममा पूर्वका विभिन्न ठाऊँमा उनको स्वागत गरिएको छ । विराटनगर विमानस्थलमा ओर्लिएका निशानलाई विमानस्थलमै पुगेर भव्य स्वागत गरिएको छ । त्यसपछि इटहरी, विराटचोक, पथरी, उर्लाबारी लगायतका ठाऊँमा उनको भव्य स्वागत गरियो । सो अवसरमा उनले केहि गीत समेत प्रस्तुत गरेका थिए । त्यहाँ ठूलो संख्यामा समर्थकहरुको सहभागिता रहेको थियो । विराटनगरको कञ्चनबारीमा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको समेत उपस्थिति रहेको थियो । विराटनगरको प्रस्तुती सकाएर उनी मध्यान्न तिर इटहरी आइपुगेका थिए । जब उनी इटहरी आइपुगे, समर्थकहरुको कारण निशानलाई सुरक्षा दिन प्रहरीलाई पनि हम्मे–हम्मे पर्यो ।
 मंगलबार ११ बजे इटहरीमा कार्यक्रम तय गरिएको भएपनि उनी झण्डै दुई घण्टा ढिलो कार्यक्रममा आइपुगे । उनका लागि इटहरी उपमहानगरपालिका कार्यालय अघि स्टेज बनाइएको थियो । स्टेज वरीपरी ठूलो संख्यामा समर्थकहरु भेला भइसकेका थिए । उनी समर्थकहरुलाई छिचोल्दै स्टेजमा पुगे । उनका आफन्तले उनलाई ढाका टोपी लगाइदिए । यहाँपनि इटहरीका मेयर द्वारिकलाल चौधरीले उनको पक्षमा भोट मागिदिए । ‘कार्यक्रममा तीन चार वटा गीत गाउने योजना थियो,’ कार्यक्रम सञ्चालक तथा उनका समर्थक जीबी गजलले भने, ‘तर दुई वटा गीत गाएपछि फ्यानहरुलाई रोक्नै सकिएन ।’ उनका अनुसार सामान्य तरिकाले बनाइएको स्टेज र सुरक्षा व्यवस्थाका कारण कार्यक्रम व्यवस्थित भएन ।
‘फ्यानहरु स्टेज नै भत्काउँला झै गरेर झुम्मिएपछि कार्यक्रम रोकेर मञ्चबाट उतार्नुपर्यो,’ गजलले भने, ‘राजेश हमालको भन्दा निशानको क्रेज धेरै देखियो ।’ उनलाई हेर्न र फोटो खिँच्न युवा युवतीदेखि वृद्धवृद्धासम्म भेला भएका थिए । निशानलाई प्रहरीले सुरक्षा दिएर स्टेजबाट त ओह्राल्यो, तर इटहरी कटाउन सकेन । वरीपरी समर्थकहरुले घेरेपछि उनलाई नजिकै रहेको इलाका प्रहरी कार्यालय पुर्याइयो । समर्थकहरुले प्रहरी कार्यालय नै घेराउ गरे ।
भीड हटाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । प्रहरीले उनलाई त्यहाँ केही समय राखेर सुरक्षाका साथ उर्लाबारी पठाउने योजना बनाउँदै थियो । तर निशान र उनका समर्थकहरुको आग्रह अनुसार निशानलाई दर्शकहरुसँग साक्षात्कारसम्म गराइयो । प्रहरी कार्यालयको तलामाथि चढेका निशानले हात हल्लाएर समर्थकहरुलाई अभिवादन गरे ।  त्यसपछि उनलाई इटहरीका डिएसपी सञ्जय राउतले प्रहरी भेनमा आफूसँगै राखेर बाहिरीएका थिए । उनको गाडी इटहरी कटिसकेपछि मात्र कार्यालय बाहिरको भीड हटेको थियो ।  
तस्विरमा हेर्नुहोस् निशानको क्रेज :






















फोटो : सुवर्णशमशेर विष्ट