Newslaya Home

इटहरीका मेयरले दिए शुभ संकेत

सोमबार १६, साउन २०७४

इटहरीका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरी सामान्यतया कडा स्वभावका मानिन्छन् । आफुले सहि ठानेको काम फत्ते गरेरै छाड्ने र गलत लागेको काममा कुनै सम्झौता नगर्ने उनको स्वभाव छ । आफुलाई चित्त नबुझ्ने कुरा आएमा तत्काल कडा प्रतिकृया जनाउन पनि उनी पछि पर्दैनन् । कतिपयले चौधरीले यस्तै कडा स्वभावका कारण चुनाव हार्दैछन् भनेर हल्ला पनि पैmलाए । जसले जति हल्ला फैलाए पनि चौधरी उत्कृष्ट पुनरागमन गर्दै फराकिलो अन्तरले प्रतिस्पर्धिलाई हराएर इटहरीको मेयरको कुर्सीमा विराजमान भइछाडे ।
इटहरीको मेयर भएसँगै सामाजिक कामहरुमा चौधरीको व्यस्तता बढ्दो छ । विभिन्न अन्तरकृया, उद्घाटन र बैठकहरुका लागि समय मिलाउन उनलाई भ्याइ–नभ्याइ छ । यस्तै व्यस्तताका बीच मेयर चौधरी मंगलबार इटहरीको खनारमा सातौं अमन्त्रण खुल्ला उसु क्वान प्रतियोगिताको उद्घाटन गर्न पुगे । आयोजकले बोलाएको समय बिहानको ठीक ११ बजे उनी कार्यक्रम स्थलमा पुगे । चौधरी पुग्दा कार्यक्रम सुरु हुनु त कहाँ हो कहाँ सुरु हुने छाँटकाँट समेत देखिएन । समयमा कार्यक्रम सुरु नभएपछि मेयर चौधरी समयको सदुपयोग गर्न भन्दै खनार छेउछाउमा रहेका एमालेका स्थानीय कार्यकर्ताका घरमा पुगे । घडीले १२ बजायो, मेयर चौधरी फेरि खनार चौक फर्किए । अझै कार्यक्रम सुरु हुने छाँट नदेखे पछि उनी आयोजकलाई समेत थाहै नदिइ हिंडे ।
समयमा कार्यक्रम सुरु नगर्ने र अतिथि तथा सहभागीहरुलाई घण्टौंसम्म कुराउने प्रवृत्तीलाई मेयर चौधरीले गतिलो जवाफ दिएका छन् । यस्तै आफु फुर्सद हुँदा–हुँदै पनि कार्यक्रम सुरु भइसकेको घटौंपछि मात्र ढिलो गरेर जाने ठूलावडा भनाउँदहरुलाई पनि चौधरीले पाठ सिकाएका छन् । जुन घटनाले यतिबेला इटहरीमा निकै चर्चा पाइरहेको छ । भर्खरै इटहरीको मेयरमा निर्वाचित भएका चौधरी नेपाली समाजमा रहेको नेपाली समय भन्दै ढिलोगरि कार्यक्रम सुरु गर्र्ने र ढीलो गरि जाने दुवै प्रवृत्तिको विरुद्धमा खरो उत्रिएका छन् । उनको यो कदमले चौधरीले केही गर्लान् भनेर आश गरिरहेकाहरुमा अझ आशा थपिदिएको छ भने चौधरीले मेयर भएर के नै पो नाप्लान् भन्नेहरुलाई आश गर्ने ठाऊँ दिएका छन् । अझ भनौं भर्खरै इटहरीको मेयर बनेका चौधरीले विजयको अबिर सुक्न नपाऊँदै फरक कामको सुरुवात गरेर निकै धेरै नाप्ने शुभ संकेत दिएका छन् ।