Newslaya Home

​मन्त्रीले भारतको पक्षमा बोल्ने कि नेपालको ?

सोमबार ३०, साउन २०७४

मन्त्री मीन विश्वकर्माको एउटा वक्तव्य अहिले विवादित बनेको छ । धरानका मीनले बोलेको एउटै भनाईलाई अहिले उनका पार्टीभन्दा फरक पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुले निकै मसला बनाएका छन् । हुन पनि स्वभाविक नै हो । आफ्नो शहरभन्दा नजिकै बग्दै गरेको कोशीमा बाढी उर्लिरहेको बेलामा उनले कोशी ब्यारेजको ढोका खोले बिहार बगाउँछ भनिदिएछन् । 
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले ब्यारेजका ५६ वटै ढोका खोल्न आग्रह गरेको बेला सरकारकै अर्कामन्त्री विश्विकर्माले भने ढोका खोल्दा बिहार डुवानमा पर्ने बताए । ढोका नखोल्दा नेपालमा डुबान पर्ने बताएपछि विश्वकर्माको आलोचना सामाजिक सञ्जालमा सुरु भएको छ ।
ब्यारेजका धेरै ढोका खोल्दा बिहार डुब्ने र नेपालमा भन्दा धेरै मानिस विस्थापित हुने सत्य हो । २०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्किँदा पनि नेपालमा भन्दा धेरै मानिस बिहारमा विस्थापित भएका थिए । नेपालमा ३० हजार मानिस विस्थापित भइरहँदा बिहारमा एक लाख भन्दा ज्यादा मानिस विस्थापित भएका थिए ।
तर नेपालका मन्त्रीले ब्यारेजको ढोका खोल्दा बिहार डुबाउँछ भन्ने चिन्ता लिनु त्यती ठिक होइन । छिमेकी देशको विपत्तीको चासो हुनु स्वभाविकै हो, तर चिन्ता नै गर्नु भने त्यती स्वभाविक देखिँदैन । नेपाल र भारतबिचको सम्झौताअनुसार ब्यारेज र त्यसभन्दा चतरासम्मको कोशीको भूभाग भारत नियन्त्रीत क्षेत्र हो । त्यो ठाउँमा भारतले दुवैतर्फ तटबन्ध लगाएको हो । त्यसैले ब्यारेज, बाँधको मर्मत गर्ने अधिकार भारत सरकारलाई छ । अनि कति वटा ढोका खोल्ने भन्ने पनि भारत सरकारअन्तर्गतकै निकायले निर्णय गर्ने हो ।
तर नेपालले दबाब भने दिनुपर्छ । किनकी नेपालमा धेरै जनधनको क्षती नहोस् भनेर नेपालका नेताले सोँच्नुपर्छ र पहल गर्नुपर्छ । ब्यारेजका ढोका नखोल्दा पानीको दबाब बाँधमा र ब्यारेजमा पनि पर्छ । आयु सकिइसकेको ब्यारेज भत्कियो भने अनि बाँध भत्कियो भने त्यसले गर्ने क्षतीको पूर्ती गर्न नेपाललाई अर्को पाँच वर्ष लाग्नेछ । जबकी भारतको लागि त्यो त्यती ठूलो कुरा होइन । त्यसैले नेपालका मन्त्रीले नेपालको विषयमा सोच्ने हो । भारतप्रतिको अनावश्यक सहानुभुतीले न नेपाललाई फाइदा छ, न नेपालीलाई फाइदा छ न त उनी स्वयंलाई नै फाइदा छ ।
त्यसैले कोशीमा पानीको बहाब बढेका बेलामा बाँध फुट्छ कि भनेर हरदम बाँध माथि उक्लेर कोशीका बहाव हेर्ने जनताको विषयमा सोच्नुपर्छ मन्त्री विकले । कोशीको बिचमा रहेको श्रीलंका टापुमा बस्ने भूमीहीनहरु बाढीले विस्थापित भए भने त्यसले गर्ने क्षतीको विषयमा विचार गर्नुपर्छ मन्त्री विकले । अनि आयु सकिइसकेको ब्यारेज नै दबाबमा आएर भत्कियो भने त्यसले प्रदेश नं. १ र उनी स्वयं बस्ने धरानको आर्थिक र भू राजनीतिक व्यवस्थामा पार्ने दूरगामी असरका विषयमा सोच्नुपर्छ मन्त्री विकले ।
त्यसैले नेपालको जिम्मेवार तहमा बसेका मन्त्रीले अभिव्यक्ति दिँदा सोच्नुपर्छ । बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोप नेपालको लागि नयाँ कुरा होइन । त्यसको व्यवस्थापनको लागि पहिले देखि नै जुन तयारी हुनुपथ्र्यो, त्यो तयारी भएको छैन । सरकार र स्थानिय तह अब जिम्मेवार बन्नुपर्छ ।