Newslaya Home

​बाढी (कविता)

शुक्रबार ०२, भदौ २०७४

ए बाढी,
किन तिमी आफ्नु छातीमा
सास र लासलाई
डुङ्गासरह बनाएर
निरन्तर बगिरहेछौं ?
किन तिमीपनि
एउटा क्रुल दानवसरह
जीउदा जीवनहरुलाई
आहार बनाइरहेछौंरु
आखिर किन
तिमी एउटा कवितालाई
सदाको खातिर 
मेटाउन चाहन्छौं ?
.............
 
ए बाढी,
तिमीलाई हाम्रो आँगनमा
तिहारको रमझममा
देउसीभैलो खेल्न 
रोक लगाएको छैन
तर तिमी आउँदा
मृत्युलाई साथ लिएर नआऊ
देवताहरुका जन्माष्टमीमा
मृत शवहरुको जन्माष्टमी नमनाऊ
एउटा कोपिला
जो आफ्नु आमाको
पेटबाट बाहिर निस्केर
फूल बन्ने अवस्थामा छ
त्यो कोपिलाको
भ्रूणहत्या नगर।
..............

ए बाढी,
तिमी हामीलाई 
अनगिनत लासहरुका माथि
हाम्रा पैतालाहरु चाल्न
विवश पारिरहेछौं
त्यो धकमक्क फूलेको
हँसिलो गुलाफलाई
हाम्रा खिएका पाइलाहरुले
कुल्चिन बाध्य पारिरहेछौं
सुत्केरी आमा, लाचार बुबा
छाउगोठकी छुई किशोरी
संसार नदेखेका कलिला मुनाहरु
सबैलाई बगाइरहेछौं।
...........

ए बाढी,
किन तिमी
गरिबीको आत्महत्या गर्न
सदा लागिरहेछौं
किन तिमी मुन्छेलाई
माटो र बालुवाको पहाडले
पुरिदिन अग्रसर भैरहेछौं ?
किन तिमी यति कट्टर बन्दैछौं कि
पीडितहरुका गास, बास र कपास
तन, मन र धन
आफ्नु रिससँगै बगाइरहेछौं ?
आखिर किन
तिमी एउटा कवितालाई
सदाको खातिर
मेटाउन चाहन्छौं ?

- बिकेश साह
     इटहरी

1 प्रतिकृयाहरू प्राप्त
  • nawarajलेख्नुहुन्छ
  • |
  • शुक्रबार ०२, भदौ २०७४ ०३:२४
atisundar