Newslaya Home

कैली

जमुना न्येउपाने
आइतबार १६, पुष २०७४

सपनाको माध्यमबाट जोडिएर घटेका हरेक घटनाहरू र दीपको कहानी मलाई सबै सपनै जस्ता लागे । मैले जान्न चाहेको यथार्थ, सबै सङ्लो पानी झैँ छर्लङ्ग भो । मेरो मनमा जुन शङ्का थ्यो, आखिरमा त्यो सत्य साबित भो । दीपले नचाहँदा नचाहँदै पनि मेरो मायाको नशाले हो, वा विश्वासले, जेहोस् सबै कुरा खोल्यो । रक्सीको नशा त उसको नसाबाट उत्रिसकेको थ्यो तर मायाको नशाले भने लठ्याएको हुनुपर्छ । ऊ जुनसुकै नशाले लठ्ठिएको भएता पनि म भने उसकै मायाको नशामा मात्तिएकी थेँ । मलाई उसको पूर्ण विश्वास लागेको थ्यो, त्यसैले आफ्नो तन मन दुवै सुम्पेकी थेँ ।  

मेरो तन र मन दुवै हल्का भो । मन चरासँगै आकाशमा कावा खान थाल्यो, तन भने दीपकै अङ्गालोमा कसिएको थ्यो । हामी तीन दिनसम्म घर फर्किएनौँ । एक अर्काको हात समातेर हिड्याँै, बाहिरै रमायौँ । समुन्द्रका छालहरूसँगै औतायौँ । त्यस्ता दिन फेरि आउलान् नआउलान् ! भरपुर रमाउन मन लाग्यो, त्यसैले दिल खोलेर रमायौँ । 
 
यो जीवन न त बगिरहेको खोला जस्तो, न त जमिरहेको पोखरी जस्तो, कस्तो–कस्तो ? खोलाको त प्रायः बग्ने निश्चित दिशा र दुरी हुन्छ तर यो जीवनको न त कुनै दिशा छ, न त कुनै दुरी नै । पोखरी त स्थिर हुन्छ तर यो जीवन गतिशील छ । कहिले बाढीमा मिसिएर ढुङ्गा र मुढासँग बग्छ त कहिले ढलमा मिसिएर दुर्गन्धित हुन्छ । त्यसरी नै अस्थिर जीवनको यात्रामा म बगिरहेकी थेँ । सधैँ कञ्चन र सफा भएर बगिरहन मन थ्यो । सोच्थे— “मलाई मेरो दीपले मात्र उघाएर आजीवन आफ्नो प्यास मेटाइरहोस् ।” 
 
बगेको खोला रोक्न नसकिने, बाढी आउँदा छेक्न नसकिने । प्रकृतिको नियम चाहेर पनि मान्छेले बिथोल्न नसक्ने, चलिरहने निरन्तर चलिरहने । यो माया पनि त्यस्तै, खोला जस्तै, बाढी जस्तै, बगिरहने,  उर्लिरहने । नगरौँ भन्दा पनि लागिरहने निरन्तर लागिरहने । 
 
अचानक तय भएको गन्तव्य विहीन यात्रामा दुई दिन थाहै नपाई मिलिक्कै सकिये । हामी एकअर्कामा छताछुल्ल पोखिएर रमायौँ । घर फर्किन मन लागेको थेन तर नफर्कि पनि हुन्थेन । दीप पनि अगाएको थेन, मेरो पनि प्यास मेटिएको थेन । दुई दिन हामीलाई दुई घण्टा जस्तो मात्र भयो । त्यसैले अरु एक दिन बाहिरै बस्ने निणर्य ग¥यौँ । एक दिन थप गर्ने प्रस्ताव भने दीपले नै राख्यो । मैले सहमति नजानाउने त कुरै भएन । 
 
मेरो मन मस्तिष्कमा दीप मात्र थ्यो । हिँड्ने बाटोमा ऊ नै, खानाको गाँसमा ऊ नै, आँखा चिम्म गर्दा ऊ नै, आँखा खोल्दा ऊ नै । जताततै दीप नै दीप, तनमा पनि मनमा पनि दीप । उसकै स्पर्श र न्यानो अङ्गालोमा डुब्दा डुब्दै घाम पनि डुब्यो । झमक्क साँझ प¥यो । म सोच्दै थेँ— “आजको रात मेरो तन मनमा दीपको राज, दीपको तन मनमा मेरो राज ।” आहा ! कति रमाइलो । 
   
त्यसरी दीपसँग मेरो तेस्रो रात बित्न लाग्दै थ्यो । जीवनमा जसलाई चाहेँ उसैको साथमा रहन पाउँदा आनन्द लागिरा थ्यो । उसले त कति केटीसँग कति रात बिताइ सकेको थ्यो होला तर मैले भने रात बिताएको पहिलो पुरुष ऊ नै थ्यो र अन्तिम पनि ऊ नै होस् भन्ने लाग्थ्यो । अरु कुनै पुरुषसँग मलाई कुनै रात बिताउनु थेन, बस् दीपले मेरो साथ नछोडोस्, सारा रात उसैको नाममा गरिदिन्छु । यस्तै कुराहरू दिमागमा आइरहे ।
 
जब साँझ ढल्दै गयो दीपले हाप फायल ओल्ड दरवार र एक बट्टा चुरोट मगायो । अनि मेरो हात छाडेर रक्सीको ग्लास र चुरोट समायो । उसको नसामा रक्सीको नशा नचढी मायाको नशै नलाग्ने । मलाई घुर्की लगाउन मन लाग्यो । कतै मानी पो हाल्छ कि— “तिमी यसरी रक्सी र चुरोट मै रमाउने भए, यहाँ मेरो के काम ? म जान्छु ।” 
 
मेरो यो कुरा सुनेर ऊ विचलित होला । तत्काल मलाई खुशी पार्नका लागि रक्सी छोड्छु भन्ला भन्ने मेरो ठूलो आशामा तुषारापात तबभ यो जब उसले सजिलै “जाने भए जाऊ न त !” भन्दियो । मलाई भन्दा रक्सीलाई नै आफ्नो सम्झियो । उसको प्यारो रक्सी र चुरोट नै रैछ, म त त्यसपछि मात्र । उसका कुराहरुले म हरेक पटक आश्चर्यमा पर्थें । तर पनि मैले जिन्दगीमा उसका लागि हरेक कुरासँग सम्झौता गरिसकेकी थेँ, जाबो रक्सी र चुरोट के हो र ? मैले पनि ऊसँगै बसेर पिउने निर्णय गरेँ । नपिएको पनि त हैन क्यारे ! मजैले पिएर डबल नशा लिने सोच बनाएँ र डबल एप्पल फ्लेबरको हुक्का पनि मगाएँ । अनि दुवैजना मजाले गफिदैँ, चल्दै, जिस्किँदै पिउन थाल्यौँ । हामी बीचमा न कुनै कुराको सीमा रह्यो, न त कुनै पर्दा नै । त्यसरी हामी छताछुल्ल पोखियाँै ।
 
हुक्का र रक्सीको नशा चढ्दै गयो । दीप पनि मात्दै गयो, म पनि । हामी झनै उत्तेजित हुँदै गिलास साटासाट गर्दै पिउन थाल्यौँ । आँखा धमिलिंदै गए, गोडा लर्बराउन थाले । रक्सीको नशा चढेपछि नसा आफैँ सल्बलाउन थाले, अधर जुध्न लागे, सलबलाउँदै हात पनि अङ्ग–अङ्गमा डुल्न थाले । न त आङमा कुनै लुगा रहे न त चुम्न बाँकी कुनै अङ्ग । त्यसरी हामी डबल नशामा डुब्यौँ । अघिल्ला दुई दिनमा नमेटिएको प्यास मेटियो । स्वर्गीय आनन्द त्यही दिन भेटियो ।  
 
उसले गरेको बात मीठो, नशामा मातिएको त्यो रात मीठो । उसकै अङ्गालोमा कसिएर बस्न पाउँदाको, त्यो साथ झनै मीठो । एकआपसमा टाँसिएको हाम्रो शरीर छुट्टिन मानेन । गाँठो परेका हातका औँलाहरू खुल्न मानेनन् । हामी अधरमा अधर टसाएर, नजरमा नजर मिलाएर गफ गर्न थाल्यौँ । 
 
“कैली, मलाई त यसरी नै तिमीलाई हेरेर, अनि अङ्गालोमै बेरेर यो रात बिताउन मन छ तर तिमीलाई निन्द्रा लाग्यो होला हई, अब सुतौँ ल !” ऊ बोल्दै बेहोसीमा जताततै चुम्बनको बर्षा गराइरहेकै थ्यो । मलाई पनि स्वर्गीय आनन्द आइरहेको थ्यो । त्यस्तो बेला निद्रा जाबो के हो र ? मलाई उसको अङ्गालोबाट छुटिन मनै लागेको थेन अनि मैले पनि भावनामा बहकिदै भनेँ— “यो रात मात्र ? मलाई त यस्ता सयौँ रात, तिमीसँग यसरी नै बिताउन मन छ, तिम्रै आँखामा हेरेर, तिमीलाई नै यो अङ्गालोमा बेरेर, तिम्रै अधर चुमेर अनि तिमीमै घुलेर ।”
 
दीपले मेरो आँखाबाट उसको आँखा हटायो, गालाबाट ओठ हटायो, गाँठो परेका औँलाहरू बिस्तारै खोल्यो, उसले आफ्नो कसिलो अङ्गालो पनि बिस्तारै खुकुलो बनायो । सायद त्यतिबेला ऊ हलुङ्गो भैसकेको थ्यो । अनि ओछ्यानमा पल्टिएर बोल्न थाल्यो— “जीवनमा सधैँ सोचेजस्तो कहाँ हुन्छ र ! न त मनले चाहेका सबै कुरा नै पाइन्छन् । मेरो कुनै भर छैन र मलाई कसैको डर पनि छैन । म खुला आकाशमा उडिरहेको वाज जस्तै हुँ । जुनसुकै बेला जता पनि वेग हान्न सक्छु । मलाई स्वतन्त्र उड्न मन लाग्छ । सधैँभरि तिम्रो अङ्गालोमा हराइ रहन नसकुँला ! मेरो मन अस्थिर छ, जीवनको लक्ष्य केही छैन । त्यसैले तिमी आफ्नै खुट्टाले हिंड्न सिक, मसँग उड्न नखोज ।”