Newslaya Home

​‘बन्दुक नबोकी मदन भण्डारीलाई सुरक्षा दिएका थियौं’ (भिडियोसहित)

बिहीबार २०, पुष २०७४

दिवाकर महर्जन अमेरिका बसेको २४ वर्ष भयो । तेक्वान्दोका डान महर्जन अमेरिकामा विदेशीहरुलाई तेक्वान्दो सिकाउँछन् । उनी नेपालमा हुँदा पनि तेक्वान्दो प्रशिक्षण गर्थे । एक साताजति उनी एमाले नेता मदन भण्डारीको सुरक्षा जिम्मेवारी सम्हालेका उनी बाह्रौं अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो च्याम्पियनसिप व्यवस्थापन गर्नको लागि नेपाल आएका बेलामा उनीसँग न्यूजलयले गरेको कुराकानी ः 

यत्रो ठूलो गेम नेपालमा त्यसमा पनि इटहरीमा गर्न कसरी सम्भव हुन्छ जस्तो लाग्यो ?
हाम्रो टुर्नामेन्टका मुख्य धारणा पनि ठाउँलाई इन्करेज गर्ने हो । कहिलेपनि नहेरेको मानिसले हेर्न पाओस् भनेर यहाँ ल्याएको हो । दुई वर्ष अघि ११ औं हुँदा सदस्य सचिवज्यू प्रमुख अतिथिको रुपमा अमेरिका आउनुभएको थियो । वहाँले नेपालमा गर्ने प्रस्ताव राख्नुभयो । वहाँले प्रस्ताव राख्दा हामीलाई पनि खुसी लाग्यो । भूकम्पले नेपाललाई दुःख दिएको थियो, त्यसैले नेपालमा कार्यक्रम गर्ने कुराले हामीलाई पनि उत्साहित बनायो । अष्ट्रेलिया गर्ने योजना थियो, त्यहाँ नगरी हामीले यहाँ गर्यौं ।
यहाँ गेम गर्नुअघिको आशा अपेक्षा र गरिरहँदाको आशा अपेक्षामा कत्तिको परिवर्तन छ ? निराश वा उत्साहित के हुनुहुन्छ ?
म मात्र होइन, हाम्रो टिम नै खुसी छौं । सुरुमा त म निराश थिएँ । यस्तो ठाउँमा के होला र भनेर । यस्तो ठाउँमा मानिस आउँदैन होला, सुविधा छैन भन्थेँ । तर यहाँका सबैको उत्साह हेर्दा हामीले ठिकै गरेछौं भनेर खुसी लागेको छ ।
इटहरीलाई यहाँले कहिलेदेखि बुझ्नु भएको हो ?
यो वर्षमा यो मेरो तेस्रो भ्रमण हो । यही गेमको सिलसिलामा म तेस्रो पटक आएको हुँ । 
पूर्वाञ्चल त यहाँको लागि नौलो नहोला, स्व. मदन भण्डारीको सुरक्षा हेर्नुहुन्थ्यो भन्ने कुरा छ । वहाँसँग कसरी चिनजान भो ?
वहाँ चुनावमा पहिलो पटक उठ्दा मैले चिनेको हुँ । केपी ओली, मोदनाथ प्रश्रितहरु लगायत हाम्रो छेउछाउ बस्नुहुन्थ्यो र वहाँलाई मेरो रिफर गर्नुभएको हो । पहिलेदेखि नै म पढेको, राम्रो मान्छेलाई सहयोग गर्ने मान्छे हो । यो मेरो भाग्य पनि हो । वहाँले विश्वास गर्नुभयो । वहाँको सुरक्षाको लागि म ठिक छु भनेर छनोट गर्नुभयो । मेरो फेवरेट मानिस पनि भएकोले म आफैले अरु साथीहरुलाई जुटाएर वहाँलाई सुरक्षा दियौं । वहाँ राष्ट्रवादी पनि हुनुहुन्थ्यो । देशको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो ।
के वहाँलाई सुरक्षा थ्रेट थियो ?
वहाँ विश्वभरकै पपुलर मानिस बनिसक्नुभएको थिएन । सबैले रेस्पेक्ट गर्थे । तर भोलि के हुन्छ भन्ने कुराले नदेखिने गरी र बन्दुक नबोकी वहाँलाई सुरक्षा दिएका हौं । 
वहाँ असुरक्षा भयो भनेर कत्तिको डराउनुहुन्थ्यो ?
मानिसहरुसँग भेटघाट गर्दा, कार्यकर्ताहरुसँग भेट गर्दा वहाँ लिडर हो । विश्वभरीको मान्छे तान्न सक्ने मान्छे डराउने कुरै भएन । तर पनि केही भइहाल्छ कि भनेर अलिकति त भई हाल्छ । वहाँलाई भन्दा अरुलाई चिन्ता बढी थियो । मुर्ख मान्छे जहाँ पनि भइहाल्छ ।
एक हप्तामा कुनै सुरक्षा चुनौति फेस गर्नुभयो ?
थिएन । तर कसैले आँट पनि गरेन । हामी देख्दा पनि आँट गरेन । दोस्रो चुनावको समयमा वहाँलाई गालामा चड्कायो, पिट्न खोज्यो भन्ने कुरा आयो, दुःख लाग्यो । 
वहाँको दुर्घटनामा मृत्यु भयो भन्ने कुरा आयो, हत्या हो पनि भन्छन्, के लाग्छ ?
यो राष्ट्रिय राजनीतिको दुःखद् घटना हो । वहाँ भएको भए नानाथरीको राजनीति पनि हुँदैनथ्यो । यसलाई दुर्घटना भएको भन्न मिल्दैन । दुर्घटना नै नहुने ठाउँमा भएको घटना नहुनुपर्ने भयो । पत्तो लगाउनुपर्ने हो, पत्ता नलागेकोमा दुःख लाग्छ । 
अन्तिममा अमेरिकामा प्रशिक्षण पनि गर्नुहुन्छ । नेपालको सामान्य परिवारको व्यक्ति अमेरिकामा विदेशीहरुलाई तेक्वान्दो सिकाउनुहुन्छ, कस्तो लाग्छ ?
यहाँ अलिकति राम्रो गर्दा बढि बोलिस्, बढि गरिस् भन्ने कुरा छ । तर विदेशमा भने राम्रो सिकायो भने जस दिन्छन् । जति स्कील देखायो, हामीलाई पनि फाइदा र उनीहरुलाई पनि राम्रो हुन्छ । २४ वर्ष बितेको पनि मैले चाल पाएको छैन । बुढो भएको अनुभव पनि भएको छैन । 
नेपालले खेलको विकासको लागि के गर्दा ठिक होला ?
पुरानो व्यक्तिहरुले नयाँलाई ठाउँ दिनुपर्छ । पैसा खाने, काम नगर्ने संस्कार नहोस् ।