Newslaya Home

​पृथ्वीनारायणको शालिक सडक पेटीमा होइन, संग्रहालयमा

- अधिवक्ता रमेशकुमार पोखरेल
शनिबार २९, पुष २०७४

एकता जहाँबाट सुरु भएको छ त्यहीँबाट राजसंस्थाको बिजारोपण पनि भएको छ । इतिहासले राष्ट्रिय एकता कसले गर्यो ? त्यसको लेखाजोखा गर्ला त्यो एकताले भित्र्याएको राज संस्थाले कति वर्ष बुवा, हजुरबुबाको योगदानकै कारण प्रतिफल खाए ? त्यसको लेखाजोखा पनि होला । तर आज एक्कासी अतिरञ्जित ढङ्गले राष्ट्रिय एकता दिवसको नाटक मञ्चन हुँदैछ ।
त्यसले देखाउने भविष्यको बाटो के हो ? गणतन्त्र आएको यतिका वर्षसम्म पृथ्वीनारायण शाहको योगदान बुझेकाहरु किन कानमा तेल हालेर बसे ? हिजो हिन्दु धर्मका नाममा राजसंस्था ब्युँझाउने असफल प्रयत्नबाट आजित भएर कमल थापाले फालेको जालमा हामी सबै गणतन्त्रवादी फँस्दै छौं । अहिले गणतन्त्र आएको १२ वर्षपछि पनि किन बिदाको आवश्यकता प¥यो ? कि पहिला बुझिएन ? कि अहिले कसैको इशारामा भईरहेको छ ? बुझ्न जरुरी छ ।
कोही पुर्वराजाका सालिक पुर्ववत् राख्नुपर्छ भन्ने छन् त कोही समाचारका शीर्षक बन्न र फेसबुकमा आफ्नो तस्विर देखाउन पृथ्वीनारायणको जन्म जयन्तीको नाटक रच्न व्यस्त छन । जनताको ठुलो संघर्षबाट प्राप्त गणतन्त्रको मुख्य उपलब्धि जनताका छोराछोरी मुलुकको प्रमुख भएकोप्रति कसैलाई एमालेको कसैलाई काँग्रेसको ट्याग लगाईदिएर प्राप्त उपलब्धिलाई हलुका बनाउँदैछौँ भने अर्कोतर्फ ठुलो संघर्ष गरेर फ्यालेको राजसंस्थाप्रतिको मोह जगाउँदैछौं ।
पुर्व राजाका शालिकहरु संग्रहालय वा स्मृति प्रतिष्ठानमा राख्दा हुन्छ तर सडक पेटीमा हुन्न । आज जातीय, धार्मिक राजनिति गर्नेहरुलाई ठुलो असफलता हात लागेको छ, जनताद्वारा अनुमोदित हुन नसकेपछि । राजनितिक अस्तित्व खतरामा पर्ने स्पष्ट दृश्य देखेका केही राजनितिज्ञहरु सियो बनेर पसेर फाली बनेर निस्किने बाटो खोजिरहेका छन् । धेरै परिवर्तनगामी कुरा गर्ने आन्दोलनका अगुवाहरु क्षणिक चर्चाका लागि आज राजसंस्थाको बग्गी चढ्न खोजेको देखिन्छ । डाक्टर उपाधि पाएका व्यक्ति देखि समाजका अगुवा भन्नेसम्म पृथ्वीजयन्तीलाई यति महत्वका साथ हेर्ने तर नेपाल संवत्, सहिद दिवस, गणतन्त्र दिवस, जस्ता दिनहरुलाई त्यति वास्ता गरेको नदेखिनु बिडम्बनापुर्ण छ ।
हिजो प्रजातन्त्रमाथि दमन गर्नेहरु प्रजातन्त्र आएपछि सत्ताको बागडोर सम्हाल्न पुगे । गणतन्त्र आउन नदिन दमन गर्नेहरु गणतन्त्र प्राप्तीपछि पटक–पटक सत्तामा पुगे । उनीहरुको उद्देश्य गणतन्त्र असफल बनाउनु थियो, प्रजातन्त्र असफल बनाउनु थियो । आखिर त्यस्तै भयो । यिनिहरुकै पालामा सुस्त ब्युरोक्रेट्सहरु आज विश्वमा उत्कृष्ट ठहरिएका प्रजातान्त्रिक र लोकतान्त्रिक व्यवस्था नेपालमा किन सन्तोषजनक हुन सकेका छैनन् ? यसको एउटै कारण हाम्रो दासत्व स्वीकार्ने मनोवृत्ति नै हो । राष्ट्रपति, भोली जो कोही जनताको छोराछोरी हुनसक्ने अवस्था हाम्रो लागि गर्वको कुरा हो । यसलाई वढावा दिनुपर्ने ठाउँमा हामी अमृत वृक्ष मास्दै विष वृक्ष रोप्दै छौं । के हो एकता दिवस ? किन एकता दिवसमा केही जनजातीहरु आफ्नो लागि कालो दिवस मान्छन् ? 
एकता दिवस हुन सबै जातजाती नेपालीहरुको समर्थन जरुरी छ । त्यसैले अरुको लागि तोप पड्काउने काँध नबनौँ हामीलाई उल्टो पट्टी फर्काएर हाम्रो उपलब्धि माथि कोही तोप पड्काउन खोज्दै छ । भोली ठुलो संघर्षको प्रतिफल रक्षा गर्न नसक्ने स्थिति आयो भने हाम्रो गतिविधि त्यसको नैतिक जिम्मेवार हुनेछ ।
पृथ्वीनारायण शाहको योगदान छैन हैन, छ तर अहिले चर्चामा ल्याउन खोजे जति हैन । पृथ्वीनारायणसँगै एकिकरण अभियानमा हिँडेका पूर्वजहरुको स्मरण नै नहुनु, त्यसो भए पछिल्लो समय एकिकरणमा जंगबहादुर राणाको भुमिकाको लेखाजोखा हुनु जरुरी छ, त्यस्तै अरुको पनि ।
अन्त्यमा दिवस फेसन हैन, रहर हैन ऐतिहासिक धरातललाई टेकेर त्यसको महत्व बुझ्दै भावी दिनको लागि कदम चाल्नु हो । केही कुराको महत्व बुझाउनु हो । त्यसैले यसको हैन गणतन्त्र दिवसको महत्व बुझाउ, प्रजातन्त्र दिवसको महत्व बुझाउ, जनतालाई मुक्ति तर्फ डोहोर्याउ दासत्वबाट उन्मुक्ति दिलाऔं ।

जय नेपाल