Newslaya Home

​फेसबुक विनाको दुई महिना

भूमिका पाख्रिन
शुक्रबार १२, माघ २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गरेकाले चुनाबी चहलपहल तीब्र बनिरहेको थियो । ठुल्ठुला सभा समारोह भईरहेका थिए । शनिबारको दिन भएकाले मोरङ कै एक चुनावी कार्यक्रममा नेताहरुका साथमा म पनि उतैतिर हानिएँ । 
कुनै कार्यक्रममा पुगेपछि फोटो खिच्नु, सेल्फी खिँच्नु भनेको अहिले युवाको आदत नै बनिसकेको छ । भनिन्छ नि, सामाजिक सञ्जालमा फोटो अपलोड नगरुन्जेल कुनै कार्यक्रममा गएको अर्थ हुन्न । मैले पनि टन्नै फोटो खिँचेँ । 
कार्यक्रमपछि घर फर्किँदा साँझ परिसकेको थियो । गेटबाटै मैले वाइफाइ अन गरेर फेसबुक खोल्न खोजेँ तर मेरो आइडीको पासवर्ड चेन्ज भनेर देखायो । म त अचम्ममा परेँ । के गर्ने, कसो गर्ने केही भेउ पाउन सकिनँ । सबै प्रक्रिया अपनाउँदा पनि निराशाबाहेक केही हात लागेन । 
सुन्दा सानो लाग्ने यो कुराले मलाई भने अत्यन्तै तनाब दियो । खाना पनि नखाई मैले रातैभर फेसबुकको पासवर्डका लागि हरेक विधि अपनाएँ । तर ह्याक भइसकेको पासवर्ड फिर्ता ल्याउनु मेरो लागि फलामको चिउरा चपाउनु झै भइसकेको थियो ।
सामाजिक सञ्जालले साथीभाईलाई जोड्ने मात्र नभई सुचनाको आदान प्रदान गर्ने र कतिपय संघसंस्थाका बैठकसमेत गर्ने परिपाटी बनेको अवस्थामा फेसबुक विहीन हुनुपर्दा म तनावमा रहेँ । मोबाइल कसैलाई छुनसमेत नदिने मैले अन्यलाई पासवर्ड दिनु असम्भव नै थियो । त्यसैले कसैले मेरो आइडी ह्याक गरेको निष्कर्षमा पुगेँ ।
त्यसपछि फेसबुकका साथीहरुसँग नियमित सम्पर्कमा रहन नयाँ आइडी बनाएर अपडेट हुन खोजेँ । तर पुराना सबै साथीलाई एकैपटक समेट्न गाह्रो भयो । साथी नबनिसकेकाहरुले आफूलाई अनफ्रेण्ड गरिएको हो कि भनेर बुझ्लान् भन्ने चिन्ताले पनि मलाई सताउन थाल्यो । अधिकाशं साथीहरुले त किन नयाँ आइडी बनाएको भनेर बारम्बार प्रश्न सोधिरहे ।
अन्ततः मैले प्रहरीको सहारा लिने निर्णय लिन पुगेँ । प्रहरीप्रति विश्वास र भरोसा गर्दै सम्भावनाका केही त्यान्द्रा बटुलेर मैले केही दिनका लागि फेसबुकबाट विदा लिए । हामी बास्तवमै सुचना प्रविधिसँग अत्यन्तै नजिकिएका छौँ । पासवर्ड चोरिएको दुई महिना बित्दा चुनाब सकिएर मत परिणामसमेत सार्वजनिक भइसकेको थियो । 
मंसिरको महिना साथीभाईहरुको बिहे, अनि त्यसै सेरोफेरोमा धेरै साथीहरुको जन्मदिनमा मैले फेसबुकबाट बधाई दिन पाईनँ । कति साथीहरु बिरामी भएको वा कति चिने जानेका मानिसको मृत्यु भएको जानकारी पनि पाइनँ । एक तरिकाले म ठूलो संसारबाट सम्पर्क विहिन झैँ भएँ । मसँग थिए त केवल मैले भेट्ने साथीहरु, मेरो परिवार, कार्यालय, म बसेको वा म हिडेको बेला भेटिने मानिसहरु ।
मैले यतिका समय अर्को युगको मान्छे भएको महसुस आफैलाई गरेँ । एक किसिमले भन्ने हो भने फेसबुक विनाको जीवन अत्यन्तै रंगहीन भएको अनुभुति मैले गरेँ । कतिपय अवस्थामा फेसबुक २/४ दिनका लागि बन्द नगरेको पनि हैन । तथापी आफैले केही कारणले बन्द गर्नु र पासवर्ड नै चोरी हुनु नितान्त भिन्न अनुभव थिए मेरा लागि ।
फेसबुकमा आँखा उघारेदेखि बन्द नहुन्जेल विभिन्न गतिविधि नियाल्ने म जस्ताका लागि भने यतिका समय कटाउन गाह्रो काम थियो । पहिलेकै आइडी रिकभर भइहाल्छ कि भन्ने आशामा दिनहुँ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा फोन गरेर नसोधेको हैन । तर प्रक्रियामा छ, हामी हर सम्भव प्रयास गर्दै छौँ भन्ने हरेक पटकको उत्तरले मैले हरेश खाइसकेको थिएँ । र अन्ततः यो रंगीन दुनियाको माहोल देख्न नयाँ आइडी बनाउनुको अर्को विकल्प म सँग रहेन ।