Newslaya Home

​विराटनगरमा प्रदेशसभाको पहिलो बैठकको यस्तो छ तयारी

कुन मन्त्रालय कहाँ ?
शनिबार २०, माघ २०७४

विराटनगर । प्रदेश सभा र मन्त्रालयको लागि विराटनगर महानगरपालिकामा सबै तयारी सकिएको छ ।  मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लगायत सम्पूर्ण मन्त्रालयको तयारी पूरा भएको हो ।
जिल्ला समन्वय समितिको सभा भवनमा प्रदेश सभा हुनेछ । सो स्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय, आवास लगायतका मन्त्रालय रहने कार्यालयमा आइतबार नाम उल्लेख गरिएको बोर्ड लगाइने भएको छ । उक्त बोर्डमा पहिले नेपाल सरकार त्यसपछि मन्त्रालयको नाम, प्रदेश नं १ र विराटनगर राखिने छ ।
विराटनगरस्थित क्षेत्रीय कृषि निर्देशालयको पहिलो र दोस्रो तलामा मुख्य मन्त्रीको कार्यालय र निवास रहने छ ।

कुन मन्त्रालय कहाँ ?
प्रदेश प्रमुखको कार्यालय आवास : क्षेत्रीय सिँचाइ निर्देशनालयमा
आन्तरिक मामिला तथा कानून मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा 
आर्थिक मामिला तथा योजना मन्त्रालय : घरेलु तथा साना उद्योग कार्यालयमा
भौतिक पूर्वाधार विकास मन्त्रालय : सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा 
सामाजिक विकास मन्त्रालय : जनस्वास्थ्य कार्यालयमा 
उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय : क्षेत्रीय वन निर्देशालयमा
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय : क्षेत्रीय पशु निर्देशलयमा

यही माघ २२ गते १ बजे आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण स्थानिय तथा राष्ट्रिय टेलिभिजनबाट गरिने भएको छ ।
पहिलो बैठकका लागि १५ जना पुरुष तथा सात जना महिला मर्यादापालक राखिने छ । पुरुष मर्यादापालकका लागि सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपी निर्धारण गरिएको छ भने महिलाको हकमा रातो पारी भएको सेतो सारी, रातो चोलो र कालो कोट निर्धारण गरिएको छ ।

प्रदेशसभा बैठक हुने माघ २२ गतेका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा बैठक कक्षमा १ नं प्रदेशमा रहेका १४ जिल्लालाई चिनाउने प्रतिक चिन्ह फोटो फ्रेममा राखिने भएको छ ।
प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ प्रदेशसभा सदस्य छन् । सभा बैठकस्थलमा कुल १७० सिटको व्यवस्था गरिएको छ ।