Newslaya Home

​‘होटल व्यवशायको विकृति निकै कम भएको छ’

सोमबार २२, माघ २०७४

पूर्वको व्यापारीक नगरीका रुपमा परिचित इटहरीका होटल व्यवशायीहरुसँग चुनौति र सम्भावना दुवै छन् । होटल व्यवशाय मर्यादित पेशाको रुपमा स्थापित हुदै गएको समयमा यसभित्रका समस्या समाधानको लागि होटल व्यवशायी संघको भर्खरै पुनर्गठन गरिएको छ । पुनर्गठनबाट जीवन पराजुलीको अध्यक्षतामा नयाँ समिति बनेको छ । उक्त समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द थापा विगत २०६२ सालदेखि होटेल व्यवसाय गर्दै आएका छन् । उनीसँग हामीले होटल व्यवशायका विभिन्न पक्षको बारे कुरा गरेका छौं :

होटल व्यवशायका मुख्य चुनौती तथा समस्याहरु के के छन् ?
होटल व्यवशायका चुनौती धेरै छन् । एक त सबै होटेल व्यवशायीहरुको आफ्नै घर छैन । होटल व्यवसाय  गर्नका लागि घर भाडामा लिनु पर्ने भएकाले घर भाडाको चुनौती छ । सहरी क्षेत्रमा फोहोरमैलाको सरसफाइमा समस्या हुन्छ । त्यसै गरी कहिले काहीँ कर सम्बन्धी पनि समस्याहरु आइ नै रहन्छन् । मुख्य चुनौती तथा समस्या भनेको दक्ष जनशक्ति पनि हो । अदक्ष जनशक्तिलाई काम सिकाएर दक्ष बनायो, वैदेशिक रोजगारका लागि विदेसिन्छन् ।

इटहरीमा धेरै होटल छन् तर ति मध्ये कतिपय होटलले विकृति फैलाइरहेको पाइएको छ । यस विषयमा तपाईको धारणा के छ ?
सबै व्यवसायमा एक न एक जनाले गलत काम गरीरहेका हुन्छन् । त्यस्तै विगत केही बर्ष अगाडी इटहरीका केही होटलहरुले पनि विकृति फैलाउने काम गरेका कारण सर्वसाधारणले इटहरीका होटलहरुलाई नराम्रो नजरले हेर्ने गर्थे । तर अहिलेको समयमा इटहरीका होटलमा विकृति निक्कै कम भएको छ ।

यस्ता विकृति हटाउन होटल व्यवसायी संघले के गर्दै आएको छ ?
यस्ता विकृति हटाउनका लागि होटल व्यवसायी संघले विभिन्न कार्यहरु गर्दै आएको छ । होटल व्यवसायी संघले यसको लागि आचारसंहिता लागु गरी नियमित तथा नियमन गर्दै आएको छ । बालबालिकालाई काममा नलगाउने, छोटो लुगा लगाएर काममा नबस्ने, जस्ता कु्राहरु आचारसंहितामा उल्लेख गरीएको छ । यदी कसैले यसको उल्लंघन गरेमा आवस्यक कारवाही पनि होटल व्यवसायी संघले गर्दछ ।

संघले सामाजिक उत्तरदायित्वको सवालमा कत्तिको काम गर्दै आएको छ ?
हामीले त्यस्तो देखिने काम नगरेता पनि विभिन्न संस्था सँग मिलेर कार्य समन्वयमा काम गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्नेछौं ।

तपाई मितेरी होटलको सञ्चालक हुनुहुन्छ, होटलको विशेषता के छ ?
नाम नै मितेरी होटेल मित्रगत व्यवहारमा मिठो नेपाली परिकार दाल, भात, तरकारी गुन्द्रुकको अचार नै हाम्रो होटलमो महत्त्वपूर्ण विशेषता रहेको छ । त्यसै गरी हामीसँग एसी, नन एसी, एटेज बाथरुम नान एटेज सहितको कोठामा पारिवारिक तवरबाट खाना बस्नसमेतको सुविधा भएको  कोठा छ ।

रात्रीकालिन समयमा होटललाई खुलाउन र ग्राहकको माग सम्बोधन गर्न तपाईले के गर्दै आउनु भएको छ ?
अहिले रात्रीकालिन सेवाको लागि ११ बजे सम्म होटल खोलेर ग्राहाकलाई सुविधा दिइरहेको छु । कहिलेकाहीँ यात्रुहरू गाडी बिग्रेर ढिलो आउँदा समस्या पर्छ भनेर मैले लामो समयसम्म होटेल खोल्ने गर्छु । सायद इटहरीमा मेरो होटेल नै सबै भन्दा बढी समय खुल्ने होटेल होला ।

हाल सम्म सुरक्षाकर्मीहरूबाट सुविधा वा असुविधा के कस्तो भइरहेको छ ?
असहजता भन्ने कुरो आज सम्म त भएको छैन । तर सुरक्षाकर्मीहरुबाट हुन सक्ने सहयोग हरू पर्याप्त पाएको छु । 

इटहरीमा नयाँ होटेल व्यवसाय गर्न खोजीरहेकाहरूलाई के भन्नु चाहनु हुन्छ ?
पूर्वको प्रमुख सहर मध्ये एक मुख्य सहर इटहरीमा होटेल व्यवसायमा राम्रो सफलता प्राप्त गर्न सकिन्छ । अझै यहाँ थप राम्रा राम्रा होटेलहरूको आवश्यकता रहेको छ । अझ सुविधा सम्पन्न होटेल भएमा इटहरीका लागि राम्रो हुन्थ्यो । होटेल व्यवसायमा राम्रो प्रतिफलको आस गर्न सकिने भएकाले लगानी गर्न सक्नुहुन्छ ।