Newslaya Home

​राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

मङ्गलबार २३, माघ २०७४

काठमाडौं । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ बाट निर्वाचित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा भने निर्वाचन हुने छैन । बाँकी ६ वटा प्रदेशमा भोलि निर्वाचन हुने भएको छ ।
प्रदेश नम्बर १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेका छन् । 
५९ सदस्यीय राष्ट्रियसभामा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
हरेक प्रदेशबाट कम्तिमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु तीन जनासहित आठ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ । 
आयोगले फागुन ५ गतेभित्र प्रतिनिधिसभा चुनावको सबै परिणामसमेत राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।