Newslaya Home

​बलात्कार घटना : बालिकाको बयान, मिलापत्र र एसपी निलम्बन प्रक्रियासम्म

मङ्गलबार २३, माघ २०७४

इटहरी । गत पुस १६ गते इटहरीकी १४ वर्षिया बालिकामाथि इटहरीको रोयल रिसोर्टमा बलात्कार भएको थियो । बालिकाका प्रेमि भनिएका धरानका जोकम लिम्बू र उनका विराटनगरका साथी मनिष श्रेष्ठले बालिकालाई खाजा खाने भन्दै रिसोर्टमा लगेका थिए । सो क्रममा मादक पदार्थ समेत खुवाएर श्रेष्ठले आफूलाई बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् । 

एसपी विद्यानन्द माझी र प्रहरी निरिक्षक चिरञ्जिवी दाहाल निलम्बित

प्रहरीकै दवावमा मिलापत्र
उक्त घटनाबारे पीडित परिवार उजुरी गर्न इलाका प्रहरी कार्यालय धरान पुगेको थियो । धरानले इटहरी फर्काइदिएपछि इटहरी कार्यालय पुगेको परिवारलाई दबाब र प्रभावमा पारेर मिलापत्र गरेर पठाइएको थियो । सो क्रममा पीडितका परिवारलाई आर्थिक प्रलोभन र धाकधम्की समेत दिइएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरी आइपुगेका आरोपित धरानका जोकम लिम्बुलाई पनि पीडितले उजुरी नदिएको भन्दै छाडिएको थियो । प्रहरीको असहयोगका कारण बलात्कारका पीडितको तत्काल मेडिकलसमेत गरिएन । पछि यो विषयमा छानविन सुरु भएपछि मात्र मेडिकलको लागि पठाइएको थियो ।  
झण्डै महिना दिनपछि प्रहरीको उपल्लो तहमा जानकारी 
घटनाको धेरैपछि माघ १२ गते मात्र घटनाबारे प्रहरीको उपल्लो तहले थाहा पाएर अनुसन्धान थालेको थियो । कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पालको निर्देशनमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सञ्जय राउतले मुद्दा दर्ता गरेका थिए । 
इलाका प्रहरी कार्यालय इटहरीमा डीएसपी राउत विदामा रहँदा इन्सपेक्टर चिरञ्जीवी दाहालले घटनालाई हेरेका थिए । घटनामा सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीकोसमेत संलग्नता रहेको अनुमान गरिएको थियो । 
एक प्रक्राउ, एक फरार
आरोपित दुई जनामध्ये बालिकाका प्रेमि भनिएका लिम्बू शनिबार पक्राउ परेका छन् । यसअघि घटना मिलाउने क्रममा छाडिएका लिम्बूलाई घटना बाहिर आएपछि तरहराबाट पुनः पक्राउ गरिएको हो । मुख्य आरोपीको पनि खोजी तीव्र भइरहेको प्रहरीले जनाएको छ । 
आर्थिक चलखेलको आशंका 
पीडितका परिवारलाई यो विषयमा धाकधम्की र आर्थिक प्रलोभनमा समेत पारिएको पाइएको छ । सो क्रममा पीडक, मध्यस्थकर्ता, प्रहरी र पीडितका आफन्तबिच आर्थिक चलखेल भएको अनुमान गरिएको छ । जसमा केहि पत्रकार र वडाध्यक्ष समेत मुछिएको आरोप लागेको छ । घटना मिलाउन तरहरामा रहेर राजनीति गर्दै आएका नेपाली काँग्रेसका युवा नेताहरु सक्रिय थिए । 
एसपी र इन्सपेक्टरको निलम्बन प्रकृया सुरु 
बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा मंगलबार सुनसरीका एसपी विद्यानन्द माझी र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । प्रहरी प्रधान कार्यालयले एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर दाहाललाई निलम्बनका लागि मंगलबार गृह मन्त्रालयमा पत्राचार गरेको हो । 
अनुसन्धानका क्रममा एसपी र इन्सपेक्टरले गम्भीर मुद्दामा नियतबश मिलापत्र गरेको खुलेपछि निलम्बन गर्न सिफारीस गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले जानकारी दिए । घटना छानविनका लागि कोशी सञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पालको संयोजकत्वमा गठन गरिएको छानविन समितिको सिफारिसका आधारमा निलम्बनको प्रकृया अघि बढाइएको हो । 
एसपी माझीको विवादीत विगत 
बालिका बलात्कार घटनालाई मिलापत्र गराएको गंभीर आरोप लागेका एसपी माझीको विगत समेत विवादीत छ । वर्तमान सरकारका उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारको छत्रछायाँ पाएका माझी पछिल्लो पटक सुनसरी प्रहरी प्रमुख भएर आएपछि झन् विवादमा मुछिंदै आएका छन् । 
सुनसरी–३ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेर विजयी भएका गच्छदारलाई सघाउनकै लागि माझीलाई प्रहरी प्रमुखको रुपमा सुनसरी ल्याइएको त्यतिबेलै चर्चा चलेको थियो । गच्छदारलाई जिताउन माझीले प्रशासनको दुरुपयोग गरेको आरोप समेत लगेको छ । 
नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार निकट प्रहरीको रुपमा चर्चामा रहेका माझीले गएको चुनावमा गच्छदारको पक्षमा खुलेरै भोट हाल्न दबाब दिएको विपक्षीहरुले आरोप लगाउने गरेका छन् । एमालेका प्रदेश सांसद लिलम बस्नेत र गच्छदारसँग प्रतिष्पर्धा गरेकी एमाले नेतृ भगवती चौधरीले चुनाव लगत्तै पत्रकार सम्मेलन नै गरेर माझीको सहयोगमा धाँधली गरेर गच्छदारले चुनाव जितेको आरोप लगाएका थिए । 
चुनावकै सेरोफेरोमा खनारमा भएको एमाले र काँग्रेसका युवाबिचको झडपको घटनामासमेत एसपी माझी विवादमा पुछिएका थिए । घटनामा माझीले कांग्रेस युवाहरुको पक्ष लिएको भन्दै एमाले इटहरीले केहि दिन अघि इटहरीमा पत्रकार सम्मेलन नै गरेर माझीको सरुवा मागेको थिए । 

एसपी माझी निलम्बन रोक्न गच्छदारको दबाब, यस्तो छ माझी–गच्छदार कनेक्सन

बालिका बलात्कार काण्ड : एसपी र इन्सपेक्टर निलम्बनको प्रकृया अघि बढाइयो

गच्छदारले प्रभावित पार्न सक्ने भन्दै भगवती चौधरीले राखिन् यस्तो माग

भगवतीलाई एउटै डर : बुथ क्याप्चर