Newslaya Home

​यी हुन् ५ वटा प्रदेशका भावी मुख्यमन्त्री

२ वटा प्रदेशमा टुंगो लाग्न बाँकी
शुक्रबार २६, माघ २०७४

काठमाडौं । सात प्रदेशमध्ये ५ वटामा प्रदेश सरकारको मुख्यमन्त्री लगभग टुंगो लागेको छ । ५ वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने पक्कापक्की देखिएका दलहरुले मुख्यमन्त्रीका प्रत्यासी चुनिसके पनि प्रदेश २ र प्रदेश ४ मा भने टुंगो लागिसकेको छैन । 
सात वटा प्रदेशमध्ये ६ वटामा बाम गठबन्धनको बहुमत रहेकाले बाम गठबन्धनबाटै मुख्यमन्त्री बन्ने छन् । बाम गठबन्धनबाट पनि ४ वटा प्रदेशमा एमाले र २ वटामा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनाउने सहमति भएको छ । प्रदेश–२ मा भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मिलेर सरकार बनाउने तयारी गरिरहेका छन् । यता नेपाली कांग्रेसले भने कुनै पनि प्रदेशमा सरकार बनाउन नपाउने भएको छ । यस्तो छ ७ वटै प्रदेशको अवस्था । 
प्रदेश–१ मा शेरधन  
शुक्रबार एमालेले आन्तरिक चुनावबाट प्रदेश १ को संसदीय दलको नेता चयन गरिसकेको छ । अर्का प्रतिस्पर्धी पार्टी सचिव भीम आचार्यलाई पारजित गर्दै युवा नेता शेरधन राई प्रदेश १ मा एमाले संसदीय दलको नेता बनेका छन् ।
प्रदेश संसदीय दलमा भएको चुनावमा राईले २६ र उनका प्रतिस्पर्धी भीम आचार्यले २४ मत पाए भने एक मत बदर भएको थियो । प्रदेश १ मा बाम गठबन्धनबाट एमालेले मुख्यमन्त्री पाएकाले अब राई नै प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । 
प्रदेश–२ मा कुरा मिल्न बाँकी 
प्रदेश २ मा सरकारको नेतृत्वको दावी गरिरहेको संघीय समाजवादी फोरम नेपालले लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिसकेको छ । तर राजपा नेपालले समर्थन जनाइ सकेको छैन । उसले राउतलाई मुख्यमन्त्री दिंदा आफुले सभामुखसहित बढी मन्त्री पाउनुपर्ने दाबी गरिरहेकाले कुरा मिलेको छैन । तरपनि प्रदेश २ मा राउतकै सम्भावना बढी छ । 
प्रदेश–३ मा पौडेल 
प्रदेश ३ मा एमाले संसदीय दलको नेताको रुपमा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनले अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन् । मुख्यमन्त्रीमा दाबी गरिरहेका राजेन्द्र पाण्डे चुनावी मैदानबाट बाहिरिएपछि पौडेल र शाक्यबीच प्रतिस्पर्धा भएको थियो । यो प्रदेश पनि बाम गठबन्धनमा एमालेको भागमा परेकाले पौडेल नै मुख्यमन्त्री बन्ने पक्का छ । 
प्रदेश–४ मा एमालेका २ गुरुङबीच विवाद
प्रदेश ४ पनि एमालेकै भागमा परेको छ । तरपनि एमालेले नाम टुंगो लगाउन सकेको छैन । यहाँ एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीको आकांक्षी छन् । तर कसलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भनेर एमालेले टुंगो लगाइ सकेको छैन । अब मुख्यमन्त्री बन्दा यीनै दुई मध्ये एक जना बन्ने पक्का छ । 
प्रदेश–५ मा पोखरेलमा सहमति
प्रदेश ५ मा यसअघि नै एमाले संसदीय दलले शंकर पोखरेललाई सहमतिमै नेता चयन गरिसकेको छ । प्रतिनिधिसभामा दाङबाट उम्मेदवार बन्ने इच्छा देखाएका पोखरेललाई मुख्यमन्त्री बनाउने आश्वासनका साथ बाम गठबन्धनले प्रदेश सभामा पठाएको थियो । 
प्रदेश–६ मा माओवादीका शाही 
बाम गठबन्धनको भागबण्डा अनुशार प्रदेश ६ माओवादी केन्द्रको भागमा परेको छ । यस प्रदेशमा माओवादीले महेन्द्रबहादुर शाहीलाई पार्टीको संसदीय दलको नेता चयन गरिसकेको छ । जसका कारण उनी मै मुख्यमन्त्री हुने पक्का छ । 
प्रदेश–७ मा माओवादीकै भट्ट
बाम गठबन्धनको भागबण्डा अनुशार प्रदेश ७ पनि माओवादीको भागमा परेको छ । जसअनुसार माओवादीको पार्टी कमिटीले संसदीय दलको नेताको रुपमा त्रिलोचन भट्टको नाम सिफारिस गरिसकेकाले उनी नै मुख्यमन्त्री बन्ने छन् ।