Newslaya Home

​अपराधमा राजनीतिकरण, फाइदा कसलाई ?

रुपेश बजगाई
शनिबार २७, माघ २०७४

आज हाम्रो समाजमा अनेकन विकृती दिनानुदिन बढिरहेको छ  । जसले हाम्रो समाज अनि राष्ट्रलाई समेत प्रभावित बनाइरहेको छ । ऊर्जाशिल युवा अवस्था पनि यसबाट प्रभावित छ ।
कुनै पनि राष्ट्र विकासमा त्यस देशको युवाशक्तिको विशेष भुमिका हुन्छ । सहि ढंगबाट युवालाई ध्यान दिन सकिएन भने राष्ट्र, समाज र परिवारमा यसको नकारात्मक असर पर्न जान्छ । विकास र प्रगतीतर्फ अगाडी बढीरहेको विश्वमा सम्पन्न जीवन बिताउने चाहनाले युवाहरुलाई सपना देख्न बाध्य बनाएको छ ।
आफ्ना तिनै सपना पुरा गर्न युवाहरु विभिन्न तरिका अपनाउँछन् । गुन्डागर्दी अनि अपराधमा युवाको संलग्नता त्यही सपनाको उपज हो । छिटो धेरै कमाउन चाहने युवाहरुको स्वभाव नै हुन्छ । तर यसले सम्पूर्ण राष्ट्र, समाज र परिवारलाई नै संकटमा पारिरहेको छ भनेर उनीहरु बुझ्न सक्दैनन् । 
ऊर्जाको गलत प्रयोग हँुदा राष्ट्र को प्रगति अनि समृद्धिमा दूरगामी असर पर्छ । सामाजिक अपराधमा युवा वर्गको सहभागिताले ठूलो जोखिमको सृजना गरेको छ ।
प्रहरी प्रशासन, भ्रष्ट अनि पीत पत्रकारिता, खराब राजनीतिक नेतृत्व, कालाबजारी गर्ने व्यवसायीहरु र उनीहरुले पाएको परिवारिक वातावरण युवाहरूलाई अपराध तिर धकेल्ने कारणहरु हुन् ।  
माया, प्रेमसहितको मनोवैज्ञानिक तवरबाट बच्चालाई ध्यान दिन नसक्नु अनि घटना नै नबुझी दण्ड दिनुले नकारात्मक असर पारिरहेको हुन्छ । यस्तै बच्चाको बानी अनि सङ्गतको विषयमा ध्यान नदिँदा पनि युवा अपराध उन्मुख हुन्छ । 
समाजमा व्याप्त अपराधलाई नियन्त्रण गर्न कडाभन्दा कडा ल्याउनुपर्नेमा त्यसमा कसैले पनि चासो दिइरहेका छैनन् । प्रहरी प्रशासनको मिलेमतोले त झन् अपराधलाई संस्थागत गरिरहेको छ । 
साथै भ्रष्ट कर्मचारी अनि कतिपय मुद्धामा पैसाको चलखेलले गर्दा अपराधी उम्कने गरेका छन् । यसले अपराध गर्नेलाई प्रोत्साहित गरिरहेको छ । आर्थिक अनि राजनीतिक शक्तिको प्रभावबाट झुठो मुद्धा हाल्नुका साथै पीडितले न्याय नपाउने अवस्था सृजना हुन्छ । गरिब अनि पहुँच नपुगेका मानिसहरु अझ बढी पीडित हुन्छन् । राजनीतिमा पनि युवा पंक्तिलाई हतियारको रुपमा प्रयोग गर्ने सोँच अर्को  कारणहो । जसबाट राजनीति अपराधी संरक्षण गर्ने अखडा भएकोछ । 
कानुन सबैका लागि समान हुनुपर्छ । राजनीतिमा पनि सहि अनि इमान्दारीताको कदर साथै प्रशिक्षण अनि अनुशासित नेतृत्व उत्पादन हुनुपर्दछ । गलत राजनितीक संस्कार को अन्त्य हुनुपर्छ । कुनै घटनाको निचोडमा नपुगी घटना लाई अतिरन्जित गर्ने, सत्ता र शक्तिको आडमा कानुन हातमा लिएर जोसुकैलाई फँसाउने राजनीतिक संस्कार पछिल्लो समयमा व्याप्त छ । यसले राजनीतिलाई थप विकृत बनाउँछ । 
हरेक घटनाहरूलाई राजनीतिकरण गर्ने विकृतीले पराकाष्ठा नाघिसकेको छ । इटहरीमा केही समयअघि भएको बालिका बलात्कारको घटनालाई पनि राजनीतिक रंग दिने स्वार्थ समुहहरु धेरै छन् । पार्टी र तिनका नेतालाई कुन मुद्धामा र कुन घटनामा फँसाउन सकिन्छ, फँसाउने र रमिता हेर्ने अनि विरोधमा सडकमा उत्रिन प्रोत्साहित गर्ने पार्टी, व्यक्ति र समुहहरु समाजका भाइरस हुन् । अनेकन समस्यामा मौन बस्ने अनि इत्तर पार्टीको भन्दै मा खैरो खन्ने कार्यले कस्तो सन्देश देला ? अनि यस्तो काममा युवाहरुको प्रयोग हुनु खेदजनक छ । 
युवाहरु परिवर्तनकारी शक्ति हुन् । त्यो शक्तिको गलत प्रयोग भयो भने समाज विभाजित हुने सम्भावना अत्यधिक रहन्छ । त्यसैले राजनितीको आडमा हुने गलत अभ्यासको अन्त्य र समाजमा भएको अपराधलाइ राजनितिकरण गर्नु समाज बिभाजनको अध्याय सुरु गर्नु हो । कुनै पनि नेता तथा कार्यकर्ता शत प्रतिशत सहि हुँदैन । कहि कसैले गल्ति गर्यो भन्दैमा त्यसलाइ सिध्याउने ध्याउन्नमा लाग्ने कुनै पनि पार्टी वा व्यक्तिबाट समाजको सकारात्मक परिवर्तन र विकासको अपेक्षा गर्नु कोरा कल्पना मात्र हुन सक्छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • मणिलेख्नुहुन्छ
  • |
  • शनिबार २७, माघ २०७४ १२:४७
युवा लाई युज एन्ड थ्रो मात्र गर्ने हुन नेता ले, आफ्नो अनुकुल नहुदा सम्म प्रयोग गर्छन, त्यसपछी आफै लागेर पाखा लगाउछन । मैले नि धेरै नेता को यश म्यान भएर काम गरे तर आज तिनै ले चिन्दैनन। बिडम्बना हाम्रो समाज को।