Newslaya Home

​एमाले नेता रुपनारायणको यस्तो रुप : भीम आचार्यको हवला दिंदै टीकटका लागि पैसाको वार्गेनिङ (अडियोसहित)

– रेवती निरौला
शनिबार २७, माघ २०७४

इटहरी । गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको टीकटका लागि एमालेका एकजना केन्द्रीय नेताले नै पैसाको बार्गेनिङ गरेको खुलासा भएको छ । स्थानीय तह निर्वाचनमा मोरङको मिक्लाजुङ गाऊँपालिकाको टीकट दिलाइ दिने भन्दै एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले अध्यक्ष पदका आकांक्षी भेषराज काफ्लेसँग पैसाको बार्गेनिङ गरेको अडियो न्यूजलयलाई प्राप्त भएको छ । 
मिक्लाजुङतिर रहेका भेषराजले विराटनगरमा रहेका रुपनारायण श्रेष्ठलाई फोन गर्छन्, उनीहरुको कुराकानीबाट यो थाहा हुन्छ की रुपनारायणले यसअघि भेषराजलाई फोन गरेका रहेछन् । भेषराजले पछि थाहा पाएर रुपनारायणलाई कल ब्याक गरेका हुन् । अडियो सुन्दा भेषराजले टीकटका लागि रुपनारायणसँग पहिलेदेखि नै कुरा गरेको बुझिन्छ । पैसाको वार्गेनिङ भने यो कुराकानीबाट मात्रै भएको बुझिन्छ । 
कुराकानीका क्रममा श्रेष्ठले काफ्लेसँग यसरी सिधै पैसाको वार्गेनिङ गरेका छन् ।
‘अब यो टीकट ल्याउन नै पैसा चाहिने भयो । तपाईलाई प्रस्ट भन्छु म । अब के हो कति हो तपाईको जम्मै कुरा चाहिं जान्दिन । किन भने देवी र नरेन्द्रलाई चाहिं लडाउनै पर्ने भयो । यीनिहरुले धेरै गरे ।’ 
श्रेष्ठले काफ्लेसँग पैसाको वार्गेनिङ गर्ने क्रममा अध्यक्षको टीकट पाएर विजयी भएका हालका गाऊँपालिकाका अध्यक्ष देवी आचार्य र अन्य आकांक्षी डिल्ली अधिकारी र नरेन्द्र ढुंगेलको कुरा गर्दै उनीहरुले टीकट पाउने बढी सम्भावना रहेकाले पैसा दिनै पर्ने भयो भन्दै काफ्लेलाई फकाउन खोजेका छन् । 
‘देवीले चुनाव जित्छ हरे त्याँ भन्छ मलाई सिधै भीम आचार्य ।’ श्रेष्ठले अडियोमा भनेका छन् ।, ‘भेषराज त तेश्रोमा अरे भने, कसरी भने मैले, देवी फष्ट रे, सेकेण्डमा नरेन्द्र हरे, थर्डमा मात्र भेषराज, भेषराज र डिल्ली खतिवडा उस्तै–उस्तै हु्न् भन्छन् ।’
श्रेष्ठले यसरी फकाउँदा वा टीकट नपाउने संभावना रहेको भनेर डर देखाउँदा समेत सुरुमा काफ्ले फकिंदैनन् । उनले आफुसँग पैसा नभएको र इमान्दारीता र क्षमता मात्र भएको भनेर जवाफ दिन्छन् । काफ्लेले अडियोमा भनेका छन्, ‘अब मैले के भन्नु म त्यस्तो पैसावाला मान्छे होइन, मसँग इमान्दारीता छ । म त्यो ठाऊँबाट काम गर्ने क्षमता राख्छु । तर पैसाको हकमा मेरो स्थिती बलियो छैन । साथीहरुसँग पैसा होला आफ्नो ठाऊँमा छ । मैले कमरेडलाई सहयोग गर्दा पनि गाऊँमा २ रुपैयाँ व्याजमा काडेर कमरेडको समस्या समाधान गरेको हो ।’ 
माथिको काफ्लेको भनाइबाट काफ्लेले श्रेष्ठलाई यसअघि पनि केहि ऋण खोजेर पैसा सहयोग गरेको स्पष्ट हुन्छ । श्रेष्ठले भने त्यो कुरालाई पन्छाउँदै अब पनि ऋणै खोजेर टीकटका लागि पैसा दिन आग्रह गरेका छन् । उनले भोलिका दिनमा टीकट पाएर जितेपछि काम गर्ने क्रममा असुल–उपर हुन्छ भन्ने आसयले काफ्लेलाई पुन सम्झाउँछन् ।
पैसा नदिए टीकट देवी र नरेन्द्रले लैजाने भए भनेर श्रेष्ठले पैसाका लागि दबाब दिएका छन् । तर यति भन्दा पनि काफ्ले पैसा तिरेर टीकट किन्न सहमत हुँदैनन् । काफ्ले भन्छन्, ‘अब पैसाकै बलमा अब साथीहरुले टीकट पाउँछन् ल्याउँन्छन् भने अब बेग्लै कुरा भयो, अब एमलेमा त्यस्तो प्रवृत्ती बढेछ भनेर भन्नु पर्नेहुन्छ ।’
काफ्लेले अघि भनेका छन्, ‘हुन्छ भने एउटा इमान्दारीता र मूल्यांकन गरेर दिने हो भने त्यो मैले पाउनु पर्छ, मेरो आधार बलियो बनेको पनि छ । कमरेडले सहयोग गर्नुपर्छ, मैले तपाईंसँग पहिलेदेखि भरोसा गरेको पनि हो, विश्वास गरेको पनि हो ।’ 
निकै सम्झाउँदा समेत काफ्लेले पैसा दिने छाँट नदेखाएपछि श्रेष्ठले भीम आचार्यको नाम जोड्न्छन् । ‘होइन होइन त्यो त होकी सहि गर्ने त भीम आचार्य होनी कमरेड कस्तो कुरा गर्नुहुन्छ । मैले तपाइँलाई यतिकै भेटेर आएर भनेको छु, त्यो त स्वभाविक हो, सहि गर्ने त भीम आचार्यले गर्ने हो नी, निर्णय त भीम आचार्यले गर्छ नी कमरेड, कस्तो कुरा गर्नुहुन्छ ।, उहाँले भन्दै हुनुहुन्छ फष्ट देवी, सेकेण्डमा नरेन्द्र थर्डमा डिल्ली खतिवडा र उहाँ(काफ्ले) को उस्तै उस्तै हो भन्ने कुरा रिपोर्टिङ छ भन्नु हुन्छ ।’ 
श्रेष्ठले टीकट ल्याउने जिम्मा आफ्नो भएकाले थोरै चाहिं पैसा दिर्नै पर्ने भनेर दबाब दिन्छन् । अरु आकांक्षीले पनि आचार्यसँग पैसाको कुरा गरेकाले पैसा नदिइ टीकट नपाउने भनेर श्रेष्ठले काफ्लेलाई मनाउन खोज्छन् । 
फोनमा श्रेष्ठ भन्छन् ‘यो आदर्श तपाईको म भनेर मात्र हुन्न । ऋणै गर्ने हो तपाईले, मैले भनेनी ऋणै गर्ने हो त्यसकारण तपाईले अलिकति चाहिं गर्नै पर्ने भयो कमरेड, त्यति भएपछि म फाइनल्ली तपाईलाई आफ्नै तयारीमा लाग्नुस् भन्छु, भरे बेलुकै भन्छु तपाईंलाई ।’ जवाफमा काफ्लेले ठीकै छ टीकट चाहिं जसरी पनि लिएर आउनु अनि सल्लाह गरौंला भन्ने जवाफ दिन्छन् । कुराकानीका क्रममा श्रेष्ठले भीम आचार्यलाई प्रदेशको खर्च–वर्च र १६ वटा जिल्ला घुम्न होर्न पैसा चाहिने पनि बताएका छन् । उनले पैसा दिएको कुरा अरुलाई थाहा नहुने भन्दै काफ्लेलाई पनि अरुलाई नभन्न आग्रह गरेका छन् । अरुले थाहा पाएमा दुवै जनाको राजनीति सकिनेतर्फ पनि श्रेष्ठले सचेत गराएका छन् । 
भीम आचार्य मन्त्री हुँदा पनि आफुले धेरै आर्थिक कुरा गरेको भन्दै श्रेष्ठले आचार्य आफुसँग एकदमै कन्फिडेन्स भएर कुरा गर्ने बताएका छन् । ‘जो दिने हो त्यसलाई भन्दा अरुलाई थाहा हुन्न, भीम आचार्य भनेको एकदमै गोप्य मान्छे हुन् । उहाँले हिजो भन्नु भएको छ । तपाईले टिकट लिने हो भने कुरा यसो हो भन्नु भएको छ ।’  
सुरुमा आचार्यले २१ लाख मागेको र आफुले १० लाख भनेकोमा १५ लाखमा कुरा मिलेको भन्दै श्रेष्ठले काफ्लेसँग पैसा मागेका छन् । 

पैसा माग्ने श्रेष्ठ नै हुन् भन्ने प्रमाण के त ? 
अडियो सुन्ने वित्तिकै एमाले नेता रुपनारायण श्रेष्ठको आवाज सुन्ने जो कोहीले पनि आवाज प्रस्टै चिनिहाल्छ । यस्तै कुराकानीका क्रममा समेत पैसाको वार्गेनिङ गर्ने व्यक्ति श्रेष्ठ नै भएको खुल्छ । 
कुराकानीका क्रममा श्रेष्ठले आफु केन्द्रीय सदस्य भएकाले आफ्नो क्षेत्रको उम्मेदवार मैले छान्न किन नपाउने भनेर भीम आचार्यसँग कुरा गरेको भनेर काफ्लेलाई सुनाएका छन् । जसबाट पैसाको बार्गेनिङ गर्ने व्यक्ति श्रेष्ठ नै हुन् भनेर सजिलै बुझ्न सकिन्छ । किनभने मिक्लाजुङ गाउँपालिकामा हाल एमाले केन्द्रीय सदस्य बनेका व्यक्ति श्रेष्ठ मात्रै हुन् । उनले भनेका छन्, ‘म मूला एउटा केन्द्रयि कमिटीको सदस्य, अनि मेरो गाविसमा म को मान्छेलाई टिकट दिने भन्ने अधिकार पनि राख्दिन । ल राख्नुहुन्छ तपाइँले पाउनु हुन्छ कुरा यो भने पछि मैले फाइनल बोल्नु परेन त तपइसँग ।’ 
यसैगरि कुराकानीका क्रममा श्रेष्ठले मिक्लाजुङ गाऊँपालिकामा एमाले भित्र उम्मेदवारी दिने विषयमा विवाद भएको कुरा उल्लेख गर्दै नरेन्द्र ढुंगेलले काफ्लेको पक्षमा बोलेको भए रुपनारायण श्रेष्ठ रातिराति कुद्नु पर्ने थिएन भनेर भनेका छन् । जसबाट पनि पैसाको वार्गेनिङ गर्ने व्यक्ति श्रेष्ठ नै हुन् भन्ने पुष्टि हुन्छ । 
श्रेष्ठले टीकटका लागि पैसा माग्दै दबाब दिएपछि अन्त्यमा काफ्लेले त्यति ठूलो रमकमको बारेमा चाहिं सोच्नु पर्ने भन्दै घरमा छोराहरुसँग सल्लाह गरेर खबर गर्ने जवाफ दिएका छन् । 

यसो भन्छन् काफ्ले 
यस विषयमा हामीले काफ्लेलाई फोन सम्पर्क गरेर बुझ्दा आफुसँग रुपनारायण श्रेष्ठले नै रकम मागेको बताएका छन् । आफुले पैसा नदिए पछि दोश्रो दावेदार नरेन्द्र ढुंगेलसँग पैसा मागिएकोमा उनले पनि नदिएपछि डिल्ली अधिकारी र उनले पनि पैसा नदिएपछि देवी आचार्यलाई टीकट दिइएको उनको भनाइ छ । तीनै जनाले पैसा नदिएपछि टीकट पाएका आचार्यलाई पनि पैसा लिएरै टीकट दिएको हुनसक्ने उनको भनाइ छ ।
यस विषयमा आफुले पार्टीका नेताहरु गुरु बराल, घनश्याम खतिवडा र विनोद ढकालसँग कुरा गर्दा श्रेष्ठलाई पार्टीले निलम्बन गरिसकेको भनेर जवाफ दिने गरेको उनको भनाइ छ । उनले पैसा लिएर टीकट बेच्ने काममा जोडिएका सबैलाई बारवाही हुनुपर्ने माग समेत गरेका छन् । 
 

1 प्रतिकृयाहरू प्राप्त
  • Kimलेख्नुहुन्छ
  • |
  • आइतबार २८, माघ २०७४ १०:३३
यो रूप नारायणलाई साढे सातको दशा लागेकै हो त ।