Newslaya Home

​इटहरीको संगीत साधना प्रतिष्ठानलाई बेलायती संस्थाको सम्मान

आइतबार २८, माघ २०७४

काठमाडौँ । बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले इटहरीको सङ्गीत साधना प्रतिष्ठान नेपाललाई प्रतिभा दशक सम्मान प्रदान गरेको छ ।
राजधानी काठमाडौमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सम्मान पाएको हो । प्रतिष्ठानसँगै सुदूर पश्चिमाञ्चल साहित्य समाज (धनगढी) र डा. पारसमणि प्रधान शालिक निर्माण समिति जलपाईगुडी (पश्चिम बंगाल) ले समेत सम्मान पाएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवं मुन्धुमविद् बैरागी काइँलाले सम्मान प्रदान गरेका थिए ।
सङ्गीत साधनाका तर्फबाट महासचिव राजु केसीले सम्मान ग्रहण गरेका थिए । यसैगरी मदन पुरस्कार विजेता समेत रहेका साहित्यका समाजका अध्यक्ष रामलाल जोशी र शालिक निर्माण समितिकातर्फबाट अध्यक्ष प्रकाश क्षेत्रीले सम्मान ग्रहण गरेका थिए ।
यी तीन संस्थाबाहेक युवा साहित्यकारहरुलाई सम्मान समेत गरिएको थियो । कवि तथा पत्रकार फूलमान बल, वरिष्ठ कवि वेणु आचार्यलाई पुरस्कार प्रदान गरिएको थियो । सम्मानितहरुलाई दोसल्ला तथा ताम्रपत्रसहित सम्मान गरिएको थियो । साथै बललाई एक लाख नगद राशिसहितको प्रतिभा पुरस्कार र कवि आचार्यलाई २० हजार राशिसहितको प्रतिभा सम्मान प्रदान गरिएको थियो ।
नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा संस्कृति विधामा उल्लेखनीय योगदान पु¥याएवापत स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष तथा समारोहका सभापति दयाकृष्ण राईले बताए । 
सम्मानित प्रतिभा तथा संस्थाहरुलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि बैरागी काइँलाले उनीहरुको योगदान अतुलनीय रहेको बताए । काइँलाले देशले चिन्नु पर्ने व्यक्तिलाई बेलायतमा रहेको संस्थाले चिनेकोमा आफूलाई हर्ष लागेको उल्लेख गरे । सम्मानित संस्थाहरुले नेपाली भाषा, कला, संस्कृति र सङ्गीत क्षेत्रमा पु¥याएको योगदानको पनि उहाँले मुक्त कण्ठले प्रशंसा गरे । 
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र प्रज्ञा प्रतिष्ठानकै मातृभाषा साहित्य विभाग प्रमुख प्र्राज्ञ श्रवण मुकारुङले प्रतिभा प्रतिष्ठानले विश्वलाई भाषा, साहित्य, कला र सङ्गीतमा माध्यमबाट विश्वलाई जोड्ने काम गरिरहेको भन्दै यस्तो सत्कार्यले नेपालीको शिर ठाडो भएको उल्लेख गरे ।