Newslaya Home

विराटचोकस्थित पानस बचतमा ९१ लाख हिनामिना

२ पदाधिकारी र २ कर्मचारी पक्राउ
आइतबार २८, माघ २०७४

विराटचोक । मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको पानस बचत तथा ऋण सहकारी सँस्थामा लाखौं रकम हिनामिना भएको पाइएको छ । सहकारी सँस्थामा ९१ लाख रुपैयाँ बराबरको रकम हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले सहकारीका पदाधिकारी र कर्मचारी गरि ४ जनालाई पक्राउ गरेको छ । 
सहकारीका अध्यक्ष देवेन्द्र मास्केले नै रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले सहकारीका सचिव नेत्रप्रसाद श्रेष्ठ, लेखा समिति सदस्य भरत श्रेष्ठ, व्यवस्थापक विमला राई र अर्की कर्मचारी आस्मा चम्लागाईंलाई पक्राउ गरेको हो । 
अध्यक्ष श्रेष्ठले आफु विरामी भएर घरमा बसेको बेलामा केहि पदाधिकारी र कर्मचारी मिलेर ९१ लाख रुपैयाँ बराबरको हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । उजुरी परे लगत्तै प्रहरीले अध्यक्ष श्रेष्ठसहित ५ जनालाई नियन्त्रणमा लिएकोमा प्रहरीले अध्यक्ष श्रेष्ठलाई भने छाडेको थियो । 
रकम हिनामिनामा खासगरि व्यवस्थापक विमला राईको मुख्य संलग्नता रहेको पाइएको र अहिले अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । सहकारीको खातापाता नियन्त्रणमा लिएर सुक्ष्मरुपमा अध्ययन भइरहेकाले केहिदिन भित्रै सबै कुरा बाहिर आउने उनले बताए । 
ऋण नै नलगेका सदस्यको नाममा ऋण लगेको उल्लेख गरिएको, कतिपय ठाऊँमा टिपेक्स लगाएर सच्याएको, सदस्यले लगेको ऋण रकम बढाएको लगायत पाइएपछि अध्यक्ष मास्केले प्रहरीमा उजुरी दिएको सहकारीका शेयर सदस्य शंकर श्रेष्ठले बताए । हिसाव किताव नमिलेपछि गत असोज तिरै हुनुपर्ने सहकारीको साधारणसभा समेत अहिलेसम्म नभएको उनको भनाइ छ । यस सहकारीमा ४ सय ८२ जना सदस्य छन् । 
– रेवती निरौला