Newslaya Home

​लन्डन सिटी विमानस्थल बन्द

सोमबार २९, माघ २०७४

लन्डन । दोस्रो विश्वयुद्धमा प्रयोग भएको बम भेटिएपछि लन्डन सिटी विमानस्थल बन्द भएको छ । विमानस्थल रहेको थेम्स नदीमा बम भेटिएपछि आजका सबै उडान रद्द गरिएको विमानस्थलका प्रवक्ताले जनाएका छन् । 
विमानस्थल बन्द हुँदा करिब १६ हजार यात्रु प्रभावित भएका छन् । जर्ज भी डकस्थित विमानस्थलमा आइतबार थेम्स नदीमा बिहान ५ बजे बम भेटिएको प्रहरीले जनाएको छ । 
राति १० बजेसम्म विमानस्थल बन्द हुने र बाँकी प्रक्रियाका लागि बेलायती जलसेनासँग समन्वय गरिने नगर प्रहरीले जनाएको छ ।
यात्रुहरुलाई विमानस्थल प्रवेशमा रोक लगाइँदै नयाँ उडान समयका लागि एयरलाइन्ससँग सम्पर्क राख्न भनिएको छ । विमानस्थलका प्रमुख कार्यकारी रोवर्ट सिन्क्लियरले यात्रुहरुलाई परेको असरप्रति माफी मागेका छन् । 
सो विमानस्थलबाट ब्रिटिस एयरवेज, फ्लाइव, सिटीजेट, केएलएम तथा लुफ्थान्सा लगायतका विमान कम्पनीहरुले आन्तरिक तथा युरोपका विभिन्न सथनमा उडान भर्ने तालिका थियो । 
लन्डनस्थित नगर प्रहरीले करिब २ सय १४ मिटर लामो विस्फोट हुनसक्ने खतरा भएको क्षेत्र छुट्याइएको छ । बम डिस्पोज गर्ने तयारी समेत भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो क्षेत्र वरपर रहेका सडकमा सवारी निषेध गरेको छ । विमानस्थल र वुलविच आर्सनल जोड्ने रेल सेवा पनि बन्द गरिएको छ ।