Newslaya Home

​अनलाइन चिहान

- सबिना श्रेष्ठ
मङ्गलबार ०१, फागुन २०७४

संसारको सबैभन्दा ठूलो चिहान कुन हो, सोच्नुभएको छ ?
यदि तपाईं इतिहास र भूगोलको विषयमा जानकारी राख्नुहुन्छ भने इराकको वादी–उस–सलाम ठूलो चिहानघर लाग्न सक्छ, जहाँ ५० लाख मानिसको सम्झना छ । तर संसारमा त्योभन्दा ठूलो अर्को चिहान छ ।
हो, संसारभर लोकप्रिय सामाजिक सञ्जाल फेसबुक सबैभन्दा ठूलो चिहान बनेको छ, जोसँग ५ करोड मानिसको सम्झना सुरक्षित छ । अझ रोचक त यो छ कि, हरेक वर्ष फेसबुक कम्तिमा पनि थप तीस लाख मानिसको चिहान बनिरहेको छ । 
हामीले खोल्ने गरेका फेसबुक खाता तथा युट्युबमा लेख्ने गरेका कमेन्टहरुको आयु हामीभन्दा बढी हुन्छ भनेर सोच्दा मात्र पनि जिउ सिरिङ्ग होला । तर यो वास्तविकता हो । भौतिक शरीर छोडेर गएको लामो समयसम्म पनि हाम्रा अनलाइन गतिविधिहरुले हाम्रा परिवार तथा इष्टमित्रलाई हाम्रो याद दिलाइराख्न सक्नेछ ।
हिजोसम्म कसैको हर्षोल्लासपूर्ण गतिविधि देखाउने त्यस्ता खाताहरु आज डिजिटल चिहान बन्न सक्छन् । कसैको मृत्यु भइसक्दा पनि उनको जन्मदिनको नोटिफिकेसन, फ्रेण्ड सजेसन वा केही वर्ष अघिका स्मरणहरुले उनका यादहरु ताजा बनाइराख्न सक्छन् ।
“डिलिटः द भच्र्यु अफ फरगेटिङ इन द डिजिटल एज”का लेखक प्रोफेसर भिक्टर मेयर–स्कोनबर्जरले यो विषयलाई समस्याको रुपमा पुस्तकमा केलाएका छन् । उनका अनुसार यो २१ औं शताब्दीमा मानिसहरुले सहनुपरेको दर्दनाक समस्या हो । 
आजकलखासै महत्व पनि नरहेका गतिविधि तथा स–साना क्रियाकलापका पनि फोटो तथा भिडियो अपलोड गर्ने चलनका कारण मृत्यपछि पनि त्यस्ता अनावश्यक स्मरणले मानसपटलमा भार थप्ने काम गरेको लेखक बताउँछन् । 
फेसबुक, इन्स्टाग्राम तथा गुगलसँग यो समस्या समाधान गर्ने कुनै नीति वा समाधान छैन । मृतकका सामाजिक सञ्जालका बढ्दो खातालाई कसरी व्यवस्थित गर्ने भन्ने बारे कसैको योजना छैन ।
फेसबुकमा कुनै खाता मृतकको रहेको पुष्टि भएमा त्यस्तो खाताको नोटिफिकेसन वा फ्रेण्ड सजेसन नजाने र त्यस्ता खाता“लिगेसी पेज”को रुपमा रहने व्यवस्था फेसबुकले गर्दै आएको छ । तर फेसबुकमा लिगेसी पेज बनाउनका निम्ति कसैको मृत्यको पुष्टि र मृतकसंगको आफ्नो सम्बन्ध खुलाउने काम भने त्यति सजिलो छैन । 
इन्स्टाग्राममा कुनै पनि खाता लगातार छ महिना चल्न छोडे त्यो डिलिट हुने गर्दछ । आजकल कानुनी मुद्दाहरुले पनि यस विषयमा स्थान ओगटेको छ । मृतकका परिवारका सदस्यहरुलाई उनको खाताका व्यक्तिगत च्याट र फोटोहरुमा पहँुच दिने वा नदिनेबारे धेरै पटक प्रश्न उब्जिने गरेका छन् । 
गत वर्ष मे माबर्लिनस्थित एक अदालतसँग एक अभिभावकले उनीहरुको १५ वर्षीय छोरीको अप्रत्याशित मृत्यका पछाडि कसैको हात रहेको हुन सक्ने बताउँदै फेसबुकलाई आफ्नो छोरीको च्याट हेर्न दिन अनुरोध गरेका थिए । फेसबुकले भने मृतकको मृत्युको पुष्टि पश्चात् कसैलाई पनि उनको व्यक्तिगत प्रोफाइलमा पहुँच दिन नसकिने बताएको थियो । उक्त अदालतले मृतकको व्यक्तिगत फेसबुक म्यासेजमा कसैको पनि अधिकार नरहेको भन्दै फेसबुकको पक्षमा निर्णय लिएको थियो ।
आउँदा दिनहरुमा सामाजिक सञ्जालले यस्ता थुप्रै घटनाको सामना गर्नपर्ने हुन्छ । कुनै अवस्थामा अभिभावकले आफ्नो सन्तानको खाता बन्द गर्न चाहे तर साथीहरुले नचाहे के हुन्छ, मृतकले के चाहन्थ्यो भन्ने बारे स्पष्ट हुने आधार के त ? जस्ता गम्भीर प्रश्न समेत खडा भएका छन् । सामाजिक सञ्जालले यस्ता अवस्थामा के गर्छन् र बढ्दो अनलाइन चिहानलाई कसरी व्यवस्थित गर्नेछन्, यो भने आगामी दिनले नै बताउनेछ ।
(जर्ज ह्यारिसनद्वारा द सन नामक अनलाइन पत्रिकाका लागि लेखेको लेखको अनुवादित सम्पादित अंश)