Newslaya Home

​हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

मङ्गलबार ०१, फागुन २०७४

राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीको आक्रमणबाट सप्तरीमा दुई जना महिलाको मृत्यु भएको छ । मंगलबार मध्याह्न १२ बजे दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गर्दा हात्तीको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मञ्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षिया पत्नी दुर्गीदेवी रहेका छन् । उनीहरुसँगै रहेकी २२ वर्षिया बुधनीदेवी सरदारले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन् । 
दाउरा खोज्दै आरक्षको बाँधमा पुग्नासाथ उनीहरुलाई हात्तीले लखेटेको र भाग्ने क्रममा आफू बाँचे पनि अन्य दुई जनाको मृत्यु भएको सरदारले बताइन् । 
मृतक दुवैको शव पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर डिल्ली चौहानले बताए ।