Newslaya Home

​नेपाललाई क्यानडासँगको खेल जित्नैपर्ने दबाब

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलिरहेको नेपाललाई क्यानडासँगको बुधबार हुने खेल जित्नै पर्ने दबाब परेको छ । मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपाललाई बुधबारको खेलमा क्यानडालाई हराउनैपर्ने दबाब परेको हो । आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने भएको हो ।
केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउँनै पर्ने दबाब बढेको हो ।
बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरेको नामिबियाले केन्यालाई केबल १ सय १० रनमा सीमित मात्रै गरेन, मात्रै १६ ओभर खेलेर २ विकेटको क्षतिमा जित पनि पक्का गर्यो ।
नामिबियाको यो जितपछि बुधबारमात्रै विश्वकप छनोटका लागि पुग्ने टिम तय हुनेछन् । आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जितेमा मात्रै विश्वकप छनोट यात्रा पक्का हुने छ । 
नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई हराएको थियो । अब अन्तिम खेलमा पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ ।
क्यानडा, नामिबिया र नेपालले अहिलेसम्म समान ६–६ अंक बटुलेका छन् । युएईले भने ४ अंक बटुलेको छ । यस्तोमा नेपाल शीर्ष स्थानको क्यानडासँग भिड्दैछ भने नामिबियाले युएईसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटमा स्थान बनाउन नेपालले क्यानडालाई हराएपुग्छ ।
बुधबारको खेलमा हारेमा नेपालले नेट रनरेटको सानो आशा मात्रै गर्न सक्नेछ ।