Newslaya Home

​प्रचण्डलाई छाडेर वैद्यसँग पुगे गोपाल किराँती

मङ्गलबार ०१, फागुन २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसको अवसरमा मंगलबार पेरिसडाँडामा विशेष कार्यक्रम गर्यो । पार्टीले जनयुद्ध दिवसको अवसरमा गरेको कार्यक्रममा माओवादीका नेता तथा प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल किराँती भने अनुपस्थित रहे । पार्टीको कार्यक्रम छाडेर उनी भने माओवादीसँगै छुट्टिएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवका पार्टीले संयुक्तरुपमा गरेको कार्यक्रममा पुगे । उनी आफु मात्र गएनन् उनले अर्का नेता विश्वभक्त दुलाल ‘आहुति’ लाई पनि साथै लगे । उनले आफ्नो पार्टीको वृहत कार्यक्रम हुँदाहुँदै त्यसलाई छाडेर सभागृहमा पुगेर वैद्यसाग जनयुद्ध दिवस मनाए । माओवादी केन्द्र र एमालेबीचको पार्टी एकताको विरोध गर्दै आएका किराती र आहुतिले माओवादी केन्द्रबाट असन्तुष्ट भएर संयुक्त रूपमा भएको कार्यक्रममा सहभागिता जनाएको बताएका छन् । नेता किरातीले जनयुद्ध नै नलडेकाले जनयुद्ध दिवस मनाउने भन्ने सुनेकाले पेरिसडाँडा नगएको बताए । उनले आफूहरू मोहन वैद्यले बोलाएका कारण सभागृह गएको पनि बताए । संयुक्त कार्यक्रममा गए पनि आफूहरू वैद्य र विप्लवको पार्टीमा जाने सम्भावना भने नरहेको किराँतीले बताए । कार्यक्रममा बोल्दै नेता गोपाल किराँतीले अहिलेसम्म आफूले पार्टी नछोडे पनि एमालेसँग पार्टी एकता भएमा आफूले पार्टी छोड्ने निष्कर्षमा पुगेको बताएका छन् । प्रदेश १ को संयोजक रहेका  किराँतीलाई कारबाही गर्न भन्दै पार्टीभित्र बहस चलेको छ ।