Newslaya Home

आज ६८ औँ प्रजातन्त्र दिवस

सोमबार ०७, फागुन २०७४

काठमाडौं ।फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिन आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । 
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।
१ सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरेपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भए र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । 
वि.सं. २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरण भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले आज फाल्गुन ७ गते सार्वजनिक बिदा समेत दिएको छ ।