Newslaya Home

​‘प्रदेश र राजधानी टुंगो लाउन तत्काल काम थाल्छु’ : मुख्यमन्त्री राई (भिडियो अन्तर्वार्तासहित)

औपचारिक कार्यक्रमहरुमा जाने क्रम रोक्छु । म अनुभवमा पाको
शनिबार १९, फागुन २०७४

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासको नामांकन र राजधानी टुंगो लगाउन आफूले गृहकार्य थाल्ने बताएका छन् । 
न्यूजलयलाई शनिबार अन्तर्वार्ता दिँदै उनले नामांकन र राजधानीको विषयमा टुंगो लगाइहाल्नुपर्ने परिस्थिती रहेको बताएका छन् । ‘नाम र राजधानी मैले मात्र भनेर हुने कुरो होइन,’ उनले आफू सहजकर्ता बन्ने बताउँदै भने, ‘प्रदेश सभाका सबैसँग छलफल गरेर टुंगो लगाउनेछौं, त्यसको लागि प्रत्यक्ष र अप्रत्यक्ष छलफल अघि बढाउनेछु ।’
प्रदेश १ को नाम सगरमाथा राख्ने भन्ने कुरा बाहिर आइरहेको छ भने राजधानी किहाँ राख्ने भन्ने टुंगो भइसकेको छैन । ‘भौगोलिक, जातिगत बसोबास, पहिचान, सभ्यता, अभ्यास सबैकुरा ख्यालमा राखेर आत्मसम्मानमा असर नपर्ने गरी टुंगो लगाउनुपर्छ ।’
अन्तर्वार्तामा उनले प्रदेश विकासको लागि आफू योजनाबद्ध तरिकाले लाग्ने बताउँदै पहिलो प्राथमिकता सडकलाई दिएको स्पष्ट पारे । त्यसमा पनि जोगबनी र किमाथांका सडक आफ्नो प्राथमिकतामा रहेको बताए । यस्तै पर्यटन, जडिबुटी, जलस्रोतमा निकै ठूलो सम्भावना रहेको बताए ।

‘कार्यक्रमहरुमा जाने क्रम रोकिन्छ’
उनले अन्तर्वार्ताका क्रममा आजभोलि आफू धेरै कार्यक्रममा सहभागि भइरहेको बताउँदै त्यो क्रम रोकिने बताए । ‘प्रदेश नं. १ को समग्र विकसको लागि सुशासन कायम गर्नुछ, त्यसो हुँदा मेरो प्रत्येक सेकेण्डको समय प्रदेश विकासको लागि खर्च हुन्छ,’ उनले भने, ‘बाहिरका औपचारिक कार्यक्रममा मेरो समय खर्च हुने छैन ।’

‘म अनुभवमा पाको’
राईले मुख्यमन्त्रीको दावेदारी दिँदै गर्दा उनलाई उमेर र अनुभवमा समेत कान्छो भएको टिप्पणीहरु भएका थिए । मुख्यमन्त्री राईको विवाह नै भइसकेको छैन । उनले मुख्यमन्त्री बन्नुअघि एउटा कार्यक्रममा मुख्यमन्त्री बनेपछि मात्र बिहे गर्ने बताएका थिए । 
यो प्रसंगमा उनले आफू संसदीय अभ्यासमा सबैभन्दा पाको रहेको बताए । ‘म २०५६ सालदेखि संसदीय राजनीतिमा छु, तेस्रो पटक विजयी भएर संसदमा छु,’ मुख्यमन्त्रीका अन्य दावेदारहरु निकै पछि रहेको बताउँदै उनले भने, ‘मैले सरकारको प्रवक्ता र सञ्चारमन्त्री भएर पनि काम गरिसकेकोले मैले यो देशलाई नजिकबाट बुझेको छु ।’