Newslaya Home

अकूते र मलामीहरु

प्रेमप्रसाद सञ्जेल ‘खतरा’
सोमबार २१, फागुन २०७४

कविता :

आजै
अचानक
नेपालमा धेरै गन्हाएका
एक महाअकूूते भ्रष्टले
चोला बदल्यो
आफन्त पर्ने जति सबै 
टाउको ठोकी ठोकी रोए
बाँकि जनता 
अनौठो मुद्रामा देखिए
सबैले आश्चर्य माने
म झन तीन छक्क परें
के भएर गुर्किएछ हँ ?
त्यो मसाने
घमानेले जिज्ञाशा राख्यो
ब्रेन एट्याक
हर्ट एट्याक
घुस एट्याक
कमिशन एट्याक
प्रतिशत एट्याक
रिसवत एट्याक
बक्सौनी एट्याक
ईनाम एट्याक
साथमा हाईब्लडप्रेसर  
एकैचोटी भएको रे
चुच्चे घर्ती सबैलाई बताउँछ 
फेरि
नेप्टे लेघ्रो तान्दै बोल्छ
असत्तिले बाँचुञ्जेल
जनताको रगत पिएकै हो
अब कमाएको सबै
चिहानमा पुर्लान नि त
उसका हकवालाले ?
बेल्डाँडे चोसो पसार्दै बोेल्छ
मलामी पो को जाला हँ ?
बाँचुञ्जेल पापी
कालोे कमाईमा रम्यो
मालपोतमा हुुँदा
गाँउलेको जग्गा जति 
किर्ते गरेर आफ्नै बनायो
ऐलानी पर्ति 
सन्धी सर्पन
पानी घट्ट
गौचरन
गल्ली गल्छौंडो
मामालाई रैकर बनाई दियो
सडकमा हुँदा
अलकत्राले
फाटेका पूराना आफ्ना
आन्द्राभूडी टाल्यो
छोरी ज्वाँईको शरिर मर्मत गर्यो
साडी किन्यो
सुन किन्यो
गाडी किनेर चाँहि
ठिकै गरेछ क्यारे
उसैको 
लाश ओसार्न काम लाग्छ
छोरालाई सजिलो भो
एकै श्वासमा
लाँकुरे जेठो 
बेहिसाबसँग पड्क्यो
हैन तँ पनि
खुस्किस कि कसो ?
छोरो त अनि
रक्सीले पोहोरै
सिलटिम्मूर खाएको होईन ?
बखतले प्याच्चै भन्यो
स्वास्नी बिचरी त
क्यानसरले कोमामा छे
गुहुमुत एकै ठाँउमा 
बुढेशकालमा
८८ बर्षे पितृ
बाबुले पो दागबत्ति दिने भो
हे हरि 
देशले कपुतनै जन्माएछ 
रामभजनेले रिस मार्यो
के गर्नु ?
जनताले ज्यान नखोज्ने भए
म त्यसलाई
उहिल्यै
माथि पठाउथेँ
कपटि मोरो
बिनाघुस कामै नगर्ने
आफन्तको 
घुस लिनुपरेमा
म त पल्लो फाँटको हु
के गर्ने काका ?
म त खान्नथेँ नि
यो फाँटवाला मान्दैन
घुसको हिसाब नमिले
मैले तिर्नु पर्छ
भन्दै ब्वाँसोले भेडो 
कन्याएझैं
कन्याई कन्याई 
काकाको पनि 
घुस खान्थ्यो चण्डाल
बजिया 
लरतरो हो र ?
अनि के छोड्थ्यो त
हामी निमुखालाई ?
चर्के आवाजमा
डाँडाघरे कुल्र्यो
मलामी त सिंङ्गै
चार पाँच जनाजस्तो छ
निन्दित श्वरमा
कुमाल काँईलो
फलाको हाल्छ
म झसंङ्ग हुुन्छु
हो र काँईला ?
अनि 
स्वर्गबाट बर्षन्छन् त अरु
चिमघरे जन्तरे
खुलाउँछ 
एक कान दुईकान मैदान
हुुँदै 
भ्रष्टनाथको चोला उठेको खबर
गाँउमा आगो सरी
भर्भराउँदै फैलियो
ह्वार ह्वार्ती
मानिस आउन थाले
एकै क्षणमा
मानव सागर
मोहल्लामा उत्रियो
सबैको अनुमान
फेल खायो
सबै 
मुखामुख गर्न थाले
हे ईश्वर
किन आए यत्तिका मानिस ?
अन्तमा भ्रम चिर्दै
सुशासनले भेद बतायो
एक भ्रष्ट प्रवृत्तिको
अन्त गर्ने
संकल्प लिन 
सबै आएका हुुन्
यी कोही पनि
अकूतेको मलामी
कदापि होईनन् ।।।