Newslaya Home

नीलम ढुंगाना

आइतबार ०४, चैत २०७४

इटहरी । मोरङको सुन्दर हरैंचाकी नीलम ढुंगानाका लागि २०६४ सालको माघ २३ गते कहिल्यै नबिर्सिने दिन थियो । घरबाट सेन्टअपको अन्तिम परीक्षा दिन साथीसँग इटहरी आउने क्रममा बूढीखोलाको पुलमै एउटा मालबाहक ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट नीलमसँगै हिंडिरहेकी उनकी साथी अञ्जना राईको घटनास्थलमै मृत्यु भयो तर नीलम भने बेहोस भइन् । 
धरानस्थित घोपा क्याम्पमा केही दिनको उपचारपछि होस आउँदा चिकित्सकहरूले उनको देब्रे खुट्टा काटिसकेका थिए । सेन्टअप परिक्षा प्रारम्भ हुनुभन्दा दुई महिनाअघि नै उनी वैवाहिक जीवनमा बाँधिइसकेकी थिइन् । 
सानैदेखि नृत्यमा पारंगत नीलमले अस्पतालको बेडबाटै एसएलसी दिइन् र प्रथम श्रेणीमा उत्तीर्ण भइन् । एउटा खुट्टा नभएपनि उनले नृत्य त्यागिनन् । देब्रे खुट्टाको तिघ्रा मुनिको पुरै भाग गुमाएर वैशाखी तथा नक्कली खुट्टाको सहाराले हिंडडुल गरिरहेकी नीलम एउटै खुट्टाको भरमा नृत्य प्रस्तुत गर्छिन् । व्यवसायिक नृत्यांगनाका रूपमा विशेष आकर्षण बनेकी छिन् । सुन्दर र हसिँलो मुहार अनि एउटै खुट्टाले पनि नाच्न सक्ने सीपले उनलाई अरुभन्दा विशेष बनाएको छ ।
हेरौं, न्यूजलयका लागि सुवर्णशमशेर विष्टले गोकर्ण रिसोर्टमा खिँचेका उनका केही तस्वीरहरु :