Newslaya Home

गरिब मारा नीति

- मणिन्द्र भट्टराई
शुक्रबार २३, चैत २०७४

अहिले भर्खरैको चर्चाको विषय हो, २० वर्षे गाडी विस्थापन । कुनै गाडीको अन्तिम म्याद २० वर्ष कसरी ? विभिन्न पार्टपुर्जाको जोडाईबाट पुर्ण गाडी बन्छ, जुन गाडीको जुन पार्टस बिग्रिन्छ त्यही फेर्दै जाने हो भने एउटा गाडी पुस्तौं पुस्ता चल्छ र चलिरहन्छ । 
गाडीले बढि धुँवा फाल्यो भने त्यो बढि धुँवा फाल्ने सामान फेरीदिने, ठुलो आवाज आयो भने त्यो आवाज आउने सामान फेरेर सानो आवाज आउने सामान प्रयोग गर्ने । अब रह्यो सम्बन्धित निकायले समय समयमा चेक जाँच गर्ने कुरा । 
काठमाडौं र पोखरामा यदाकदा प्रदुषण मापन गरेको सुनिएको छ, बुझिएको छ तर अन्यत्र कुन ठाउँमा प्रदुषण मापन गरिन्छ ? सबै खाले गाडी मापदण्ड अनुसार संचालन गर्नु ठिक हो तर मापदण्ड नै गलत भएपछि स्वभाविक रुपमा जनताले सुख पाउँछन् । 

पुराना गाडीले दुर्घटना गराउँछन् ?
नेपालमा कस्ता सवारी, कस्तो बाटोमा, कुन स्पिडमा, कसरी कुदाउने ? गाडीको मापदण्डको कुरा सरकारले गर्छ भन्ने बाटाको मापदण्डको बारेमा कसले बोल्ने ? कस्ता गाडीका लागि कस्तो बाटो चाहिन्छ र कस्ता बाटा छन् हाम्रो मुलुकमा ?
विदेशबाट भन्सार तिरेर गाडी भित्रिने बित्तिकै गाडीको सडक सुधार कर भनेर सरकारले मोटो रकम असुल गरेको हुन्छ, तर सडक सुधार खोइ ? सडक सुधार कर लिने काम यातायात व्यवस्थापन कार्यलयले तोकेको छ तर सडक सुधार्नु पर्ने काम सडक विभागको हो ।
लाखौँ खर्चेर गाडी किनेको हुन्छ तर यहाँको सडकमा कुदाउनासाथ गाडी बिग्रिन्छ त्यसमा दोष चालकलाई दिइन्छ । बाटोको कारण गाडी दुर्घटना हुन्छ चालकलाई दोष दिइन्छ । यहाँ कुनै २० वर्ष कटेका गाडी नै दुर्घटना हुन्छन् भन्ने छैन । किनेको दुई महिनामा गाडी पल्टेका छन्, दुर्घटना भएका छन् । 
बरु ति २० वर्ष पुगेका गाडीका चालक अनुभवी छन् र ती गाडी यहाँको बाटोमा कसरी चलाउदा हुन्छ भन्ने कुरा ती चालकले जानेका हुन्छन् । त्यसैले पनि २० वर्ष पुगेका गाडी अत्यन्त न्युन दुर्घटना भएको पाइन्छ । 
हो, कतिपय पुराना गाडीको सिट फाटेको, टिनका पाता उक्कीएको, सिट च्यातिएको, कुनै सिसा नभएको त्यस्ता कमि कमजोरी भने स्वभाविक पाइन्छ तर २० वर्षे गाडीले दुर्घटना नै गराउँछ, धुवाँ धुलो र प्रदुषण बढी गर्छ भन्नु यो सरासर गलत हो ।

पुराना गाडी विस्थापन किन ?
पुराना गाडीलाई २० वर्षे क्राइट एरिया तोकेर विस्थापन गर्ने हो भने यहाँ धेरै गाडीहरु घट्छन्, मान्छेको आवश्यकतालाई धान्न गाह्रो पर्छ । त्यसो भए पछि अत्याधिक नयाँ गाडी आयात गर्न बाध्य हुन्छ । त्यसो भयो भने भन्सार, सडक सुधार कर आदि राजस्व आम्दानी हुन्छ । त्यति मात्रै होइन गाडी कम्पनी र डिलरबाट यहाँका ठुलाहरुलाई आम्दानी पनि मोटै रकम प्राप्त हुने सम्भावना हुन्छ । त्यस कारण पनि २० वर्षे गाडी विस्तापन गर्न पहल भैरहेको बुझिन्छ ।
यथार्थमा भन्नु पर्दा पुराना गाडी विस्तापन गर्दा सबैभन्दा ठुलो नोक्सान नेपालका गरिब समुदायलाई पर्छ । जस्को घरमा हातमुख जोड्न समेत समस्या परेर एउटा गरिब ऋणपान गरेर वैदेशिक रोजगारमा जान्छ । वर्षौसम्म विदेशीको चाकडी गरेर बल्ल तल्ल आफूले लिएको ऋण तिर्छ । श्रीमती छोरा छोरी र आमा बाबुको मायाबाट समेत टाढा बसेर रगत पसिना खर्चेर कमाएको पैसा, श्रीमती, आमा छोराछोरीको इच्छालाई समेत मारेर जोडजाड गरेको पैसाले एउटा सस्तो मस्तो पुरानो गाडी किनेर परिवारको इच्छा कामना पुरा गर्ने, एउटा सानो घर बनाउने, छोराछोरी पढाउने, बृद्ध बाबु आमालाई एउटा लैनो गाई किनेर एक एक बटुका दुध खुवाउने कल्पना गर्दा गर्दै सरकारले अचानक गाडी कुदाउन नै प्रतिबन्ध लगाइ दिन्छ । बिचराको होस हवास गुम्छ ।
बाबुले पुरानै भए पनि गाडी किनेर ल्याएको दिन छोराछोरी कति खुसी भएका थिए । सकि नसकी छोराछोरी पालैपालो बाल्टीमा पानी ल्याएर बाबुलाई गाडी धून सघाएका थिए । गाँउभरीका केटाकेटीलाई आफ्नो बाबुले गाडी किनेको कुरा सुनाएका थिए । श्रीमाती पनि श्रीमानले ल्याएको गाडी देखेर दंग थिइन् । कसैसँग भेट हुँदा, पधेरामा जाँदा, हाट बजार जादा, साथीसंगीसँग भेट हुनासाथ आफ्ना बुढाले विदेशमा पैसा कमाएर गाडी किनेको कुरा गरेकी थिइन् । 
माईतमा दिदी बहिनी सबैलाई ज्वाइले गाडी किन्नु भएको छ अब ज्वाई विदेश नजाने रे, यही गाडी किन्नु भएको छ । घर बनाउँदा आफ्नो र बुवा आमाको कोठामा चैं एटेज बाथरुम राख्ने भन्नु भएको छ । यस्तै यस्तै कुरा गर्थीन् ।
छोराले दिन भरी गाडी कुदाएर कमाएको पैसाले बेलुका अंगुर, स्याउ, सुन्तला आदी आमा बाबुलाई ल्याई दिने गरेकोले आमा बाबु पनि छोरा छोरी देखि मख्ख थिए । एउटा छोरो भए पनि यस्तो होस् न भनेर बाबु आमा पनि मख्ख थिए ।
गाडी किनेदेखि सरकारी स्कुलमा पढ्दै गरेका छोरा छोरीलाई टाढाको बोर्डिङ्गमा भर्ना गरेको थियो, छोरा छोरी पनि बोर्डिङ्गको बसमा चढेर जान्थे । श्रीमतीले पनि नयाँ डिजाइनका सारी किनी नहाले पनि घरमा कुरा गर्न भने सुरु भएको थियो । जेनतेन एक बर्ष गाडी चलाउँदा भण्डै घडेरी किन्न आटेको थियो थोरै पैसा नपुगेर अझै छ महिनामा चाही पक्कै किनौंला भन्ने सोचेको अचानक सागरले किनेको गाडीको कर पनि यातायातले नबुझ्ने भयो ।
नभन्दै बिस बर्ष पूगेका गाडी चल्नै नदिने भयो । खुईय !! खुईय !! गर्दै दिन बिताउनु परेको छ । आज देशमा कुनै रोजगारीको लागि केही व्यावस्था छैन । फेरी उही विदेशको सपना देख्नु बाहेक यो गरीबको विकल्प नै के छ र ?