Newslaya Home

​​इटहरीमा फोहोर भित्रको गन्हाउने राजनीति-१ : नगरको पैसामा इन्भारोको लुट

सोमबार ०७, जेठ २०७५

इटहरी । प्रदेश नं १ मा इटहरी मात्र यस्तो उपमहानगरपालीका हो जहाँ फोहोरकै विषयमा राजनीति भइरहन्छ । बिहानदेखि साँझसम्म फोहोर उठेन, ढल जाम भयो, यता गन्हायो उता गन्हायो भनेर चर्चा हुने गर्छ । झन्डै प्रदेशको राजधानी भएको इटहरीले आफ्नो क्षेत्रमा उठेको फोहोर व्यवस्थापन गर्न सकेको छैन । तर भन्न चाहिँ हरीत नगरी र स्मार्ट सिटी भन्ने गरीएको छ ।

इटहरीको फोहोर जति दुर्गन्धित छ, त्योभन्दा दुर्घन्ध फोहोरभित्रको राजनिती छ । फोहोरको नाममा भएको दुर्गन्धित राजनीतिको मारमा जनता र सिङ्गो नगरपालिका परेको छ । त्यति मात्र हैन इटहरीकै पहिचानको रूपमा रहेको हासपोसा सामुदायिक वनमा अक्सिजन हैन कार्बन्डाइअक्साइड उत्पादन हुन थालेको छ । 

इटहरी उममहानगरपालीका र इन्भारो केयर कन्सर्न प्राली बिचमा २०७३ असार ५ गतेका दिन इटहरीको फोहोर व्यवस्थापनका विषयमा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्ष पुग्न लाग्यो, तर इन्भारोले सम्झौताको ९९ प्रतिशत बुँदा पालना गरेन । पैसा लिने र कहिलेकाहीँ फोहोर सङ्कलन नगरेर आतङ्क मच्चाउनेदेखि फोहोर व्यवस्थापनमा कुनै सुधार गरेन इन्भारोले । 

बरु सहमति बेगर जथाभाबी फोहोर फ्याक्न सुरु गर्यो । नगरपालिका सँगको सम्झौताको पहिलो बुँदामा नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक भौतिक पूर्वाधार निर्माण गरेर इन्भारोले ल्याण्ड फिल्ड साइड निर्माण गर्ने उल्लेख छ । नगरपालिकाले जग्गा उपलब्ध गराएको तीन वर्ष बितिसक्दा पनि अझैसम्म ल्याण्ड फिल्ड साइड निर्माण गरेन । बरु उपमहानगरपालिका आफैले निर्माण गर्यो ।

त्यस्तै कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्याउने भनिएको छ । कुहिने फोहोरलाई अर्गानीक मल बनाउने र नकुहिने फोहोलाई पुर्नप्रयोगको व्यवस्था मिलाउने उल्लेख छ, त्यो पनि सम्झौतामै सिमित रह्यो । इन्भारोले इटहरी क्षेत्र भरी डस्विन राख्ने सहमती गरेपनि एउटा पनि डस्विन राखेको छैन ।

साबिकको इटहरी नगरपालिका क्षेत्र भन्दा बाहिरको फोहोर सङ्कलन गर्नुपर्ने भएकोले पहिला दिँदै आएको ३ लाखबाट बढाएर ५ लाख ९० हजार पुर्याइयो । तर अहिले इटहरी चौक आसपासबाहेक अरू ठाउँमा फोहोर सङ्कलन गरेको छैन ।
नगरपालिकाले सम्झौताको विषयमा इन्भारो केयर कन्सर्नसँग कुनै पनि प्रश्न गरेको छैन । बरु उल्टै सम्झौतामा उल्लेख नै नभएको मासिक सात हजार रुपैयाँ नगरपालिकाले भुक्तानी गरीरहेकोछ । हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिको अनुमति बिना जङ्गलमा फोहोर फ्याँकीदैछ । प्राकृतिक स्रोतलाई अझ प्रदुषित बनाइरहेको छ, इन्भारोले ।

समितिका अध्यक्ष कर्ण बहादुर राउत जङ्गलमा फोहोर फ्याकेको विषयमा बारम्बार जानकारी गराउँदा पनि इन्भारो केयरले वास्ता नगरेको दुःखेसो गर्छन् । तर इन्भारो केयर कन्सर्न प्राली भने नगरपालिकाले मासिक सात हजार र कम्पनीको तर्फबाट ४ हजार गरी जम्मा १० हजार मासिक रूपमा वन समितिलाई भुक्तानी गर्ने गरेको बताउँछन् । यसरी आपसमै कुरा बाझीरहदा नगरपालिका मुकदर्शक छ ।

नगरपालिकाले कुनै प्रश्न गर्यो भने राजनीतिक दबाबको सामना गर्नुपर्ने अवस्था छ । किनकी उपमहानगरपालिका र उपमहानगरपालिका वासीलाई तीन वर्षदेखि ठग्दै आएको कम्पनिमा यहाँका पहुँचवाला दलका नेता, व्यापारीहरुको लगानी छ । 

नयाँ कम्पनि खोल्नुको कारण यस्तो
त्यसैले सम्झौता अनुसारको काम गर्न नसकेको कम्पनिलाई नगरपालिकाले कारबाही गर्न सकेको छैन । बरु उल्टै इन्भारो केयर कन्सर्न प्रांलिकै मालिकले दर्ता गराएको ‘वेस्टे म्यानेजमेन्ट’ नामको कम्पनीलाई २० वर्षको लागि इटहरीको फोहोर व्यवस्थापनको लागि नयाँ सम्झौता गरीसकेको छ । 

पुरानो सम्झौता कार्यान्वयन नगरेकोमा स्पष्टीकरण सोध्नु त परै जाओस्, उल्टो नयाँ सम्झौता गर्नुले उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको समेत नियतमा खोट देखिने नगरवासी बताउँछन् ।

इन्भारोको नाममा पुनरावेदन अदालतमा मुद्दा परेको छ । जसको कारण हतार हतार अर्को कम्पनी दर्ता गराएर काम गर्न खोजिएको छ । त्यो पनि कुनै अनुभव नभएको कम्पनी लाई २० वर्षको लागि ठेक्का दिनु झनै विवादास्पद छ । तर पनि नगरका जिम्मेवार निकाय मौन छन् । 

फोहोर सफा नगर्ने, तर मोहोर जबरजस्ती उठाउने
इन्भारोले फोहोर सङ्कलन गर्न ल्याएका कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गराउने सम्झौतामा उल्लेख छ । तर अहिले सम्म एक पटक पनि स्वास्थ्य परीक्षण गराएको छैन । पन्जा, जुत्ता लगायत सामाग्रीको व्यवस्था गर्ने भनेपनि नाङ्गो हात खुट्टाले फोहोर सङ्कलन गरिरहेका छन् कर्मचारीहरू । 

आफूले पाउने हुँदा एक सुको पनि नछाड्ने तर संम्झौतामा उल्लेख भएको एउटा बुँदा पनि पूर्ण कार्यान्वयन नगर्ने उक्त कम्पनी लाई दण्ड सजाय दिनु भन्दा राजनीतिक तवरबाट प्रोत्साहन मिलेको छ । यो हदसम्मको गैर जिम्मेवारीपन देखाउँदा पनि कुनै राजनैतिक पार्टीका नेता कार्यकताले विरोध नजनाउनु गम्भीर बिषय हो । बरु इन्भारोलाई दुःख भयो भन्दै बारम्बार पैसा बढाउन पहल गर्नुले पनि राजनैतिक दलका नेताको चरित्र स्पष्ट हुन्छ । 

त्यसमाथि कम्पनिले सर्वसाधारण व्यापारीहरुबाट सफा नगरेको समयको समेत पैसा उठाउने गरेको छ । दुई वर्षसम्म फोहोर लिनै नआएको कम्पनिका कर्मचारीहरुले दुई वर्षपछि पुगेर ‘पुरानो समयको पनि पैसा दिने भए देऊ नत्र फोहोरै उठाउँदिनँ’ भनेका थिए । व्यापारीले बाध्य भएर भुक्तानी दिए । यो जति लज्जा र लुटको कुरा अरु के होला ?

राजनीतिक दल भनेको गलत अभ्यासलाई प्रश्रय दिने प्रणाली हो भनेर जबरजस्त बुझाउन खोजिँदैछ । जुन इटहरीमा देखीएकोछ । यसको मतलब विरोधको लागि विरोध गर्नु भन्न खोजेकोहैन । तर इन्भारो केयरको नाममा उपमहानगरपालिकाको कोष लुटाउनु भ्रष्टाचार हो र भ्रष्टाचारको विषयमा थाहा पाउँदा पाउँदै नबोल्नु पनि भ्रष्टाचार नै हो भन्दा अतिशयोक्ति नहोला । 

जंगलको विनाश
राजनीतिक दलहरूले आँखा चिम्लिदिँदा सहर कति अव्यवस्थित बन्छ भन्ने कुराको यो एउटा नमुना मात्र हो । यसले गर्दा सिङ्गो नगरपालिकालाई आर्थिक व्ययभार त बढेकै छ । तर त्यो भन्दा भयानक समस्या त इटहरीको पहिचानको रूपमा स्थापित जङ्गल क्षयीकरण भइरहेको छ । 

हाँसपोसा सामुदायिक वनको ३ किलोमिटर क्षेत्र अहिले प्रवेश गर्न नसक्ने अवस्थामा छ । जथाभाबी फोहोर फ्याकीदै आएको छ । त्यो पनि अनुपती बिना । यसले जङ्गलको सौन्दर्यलाई त हानी गर्छ नै । यहाँका जीवजन्तु र वनस्पति लोप हुने खतरा बढी हुन्छ । अहिलेको यो लापरवाहीले अबको ३० वर्षपछि जङ्गल मरुभुमीमा रूपान्तरण हुने देखिन्छ । एक टन फोहोरले एक वर्षमा जमिनको २० प्रतिशत उर्वराशक्ति घटाउँछ । 

पुर्वाञ्चल इन्जिनियरीङ्ग क्याम्पस धरानका वातावरण विज्ञानका प्राध्यापक काजीराम कार्कीकाअनुसार जङ्गलमा फालिएको फोहोरले जङ्गलको मात्र हैन मानव सभ्यतालाई समेत असर गरिरहेको हुन्छ । त्यसमाथि पनि सहर बाट निस्कने केमिकल युक्त फोहोरको कारण जमिनको उर्वराशक्ति नाश हुने, फोहोरबाट बगेर गएको पानीले जमिन सिँचाइ हुँदा त्यो जमिन पनि क्ष्ययीकरण हुने उनको भनाइछ । त्यही पानीले सिंचीत भएको अन्न तथा सागसब्जी खाँदा मस्तिष्क, मुटु र हाडजोर्नी सम्बन्धी रोगको खतरा बढी हुने उनको तर्क छ । 

यसको विकल्पको रूपमा ३ आर को प्रयोग गर्न सकिन्छ । रिड्युस, रियुज र रिसाइकल । रिड्युस अन्तर्गत सकेसम्म कम फोहोर उत्पादन गर्न हो । जसले गर्दा फोहोरमैला व्यवस्थापनमा झन्झट पर्दैन । प्लास्टिक तथा कागजी फोहोर लाई कम उत्पादन गरी त्यसको विकल्पको प्रयोग गर्न सकिन्छ । स्थानीय सरकार सरोकारवाला निकायबाट घर घरमा फोहोर उत्पादनमा कमी गर्ने चेतना जगाउनुपर्छ । हरेक नागरिकलाई सफा र सुन्दर नगर निर्माण अभियानका हिस्सेदार बनाउनुपर्छ । 

रियुज भन्नाले पुनर्प्रयोग हो । फोहोरको रूपमा निस्किएका कागज, प्लाष्टिक, बोतलको पुनप्र्रयोगन गर्न सकिन्छ । खेलौना बनाउने, सजावटका सामग्री तयारी गर्न सकिन्छ । जसले गर्दा फोहोर न्युनिकरण त हुन्छ नै रोजगारीको वातावरण पनि सृजना हुने देखिन्छ । 

रिसाइकल भन्नाले फोहोरको प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ । नकुहिने प्लाष्टिक जन्य फोहोरहरू लाई कार्पेट, कुर्सी लगायत सामग्री तयार पार्न सकिन्छ । त्यसको लागी प्राइभेट कम्पनीसँगको सहकार्य राम्रो हुन्छ । कुहिने फोहोर लाई अग्र्यानिक मल बनाएर बिक्री गर्न सकिन्छ अथवा घरघरमा अर्गा्निक मल उत्पादन गरी कौसी खेतीको लागी प्रोत्साहन गर्न पनि सकिन्छ । 

नजिकैको धरान उपमहानगरपालीकाले आग्र्यानिक मल तथा बायो ग्यास निकाल्नको लागी प्रक्रिया सुरु गरेकोछ । उता धनकुटा नगरपालिकाले फोहोर माथि फुल रोपेर पर्यटकीय क्षेत्र बनाएको छ । तर इटहरीमा भएको हरियो वन मासेर फोहोर थुपारीदैछ । 

समुन्द्र नजिकका मुलुकहरूले जथाभाबी फोहरा फ्याक्नाले समुन्द्रि जीव जन्तु नाश भइरहेकाछन् । अमेरिकाले मात्र वार्षिक ३ लाख टन प्लास्टिक समुन्द्रमा फ्याकीरहेकोछ । यसरी नै हरेक मुलुकहरू समुन्द्रलाई डम्पिङ्ग साइड बनाउदैछन् । जसको कारण २०५० सम्ममा ५० प्रतिशत सामुन्द्रिक जीवहरू नाश हुन सक्ने बिबिसीको रिपोर्टमा उल्लेख गरीएकोछ । 

जङ्गललाई डम्पिङ्ग साइड बनाउँदा जंगली जीव सँगै मानव सभ्यतामा पनि गम्भीर समस्या सृजना हुन सक्ने अनुमान लगाउन सकिन्छ । निजी स्वार्थ पूर्तिका लागी गरिएका अभ्यासहरू निकट भविष्यमा नै भयावह समस्याको रूपमा नआउला भन्न सकिन्न । चुरेको विनाशले निम्त्याएको समस्या जानकार हुँदा हुँदै तराईका जङ्गललाई पनि डम्पिङ्ग साइडमा रूपान्तरण गरीँदा त्यसको असर केही समयमै देखिन्छ । 

इटहरीमा फोहोर व्यवस्थापनको लागि भइरहेको आर्थिक तथा नैतिक भ्रष्टाचारको विरुद्धमा यहाँको राजनीतिक दलले कानमा तेल हालेर बस्नु लज्जास्पद बिषय हो । यतिका समस्या निम्त्याउन लालायीत इन्भारो केयर प्रतिको राजनैतिक समर्थन घिन लाग्दो छ । 

राजनैतिक दलले गरेनन् भनेर युवा तथा सरोकारवाला नागरिक चुप लागेर बस्नु हुँदैन । बारम्बारको खबरदारी जरुरी छ । इन्भारोकै अर्को अवतारको रूपमा जन्मेको वेस्ट म्यानेजमेन्टले अबको दशकमा जङ्गलमा हैन चौकमा नै फोहोर फ्याँक्न सक्छ । त्यसैले बेलैमा खबरदारीको खाँचो छ ।  

-विनय बाह्रकोटी

1 प्रतिकृयाहरू प्राप्त
  • Hariलेख्नुहुन्छ
  • |
  • बिहीबार १०, जेठ २०७५ १२:५६
Paisa matra khane phohor n uthaune