Newslaya Home

प्रदेश १ का घरघरमा स्टिकर टाँस्दै प्रहरी

सोमबार १४, जेठ २०७५

विराटनगर । प्रदेश १ सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार एक विद्यालय भवनमा स्टिकर टाँसेर अभियान शुभारम्भ गरेका थिए । 

एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ यो कार्यक्रम शुभारम्भ भएको हो । 

स्टिकरमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोल फ्रि नम्बर, संघीय प्रहरी कार्यालयको टेलिफोन नम्बर र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा शुरु भएको उक्त कार्यक्रमलाई ‘जनतासँग प्रहरी कार्यक्रम’ नामकरण गरिएको छ । 

‘तपार्इंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने भएको छ । 

मुख्यमन्त्री राईले सरकारको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याुभूति गुराउनु जिम्मेवारी रहेको बताए ।

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उनले भने, ‘प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमूना प्रदेश बनाउनुपर्छ ।’

मुख्यमन्त्री राइले स्टिकरको माध्यमबाट प्रहरीसँग जनताको सम्पर्क बढ्ने र आपराधिक घटना पनि कम हुँदै जाने भएकाले यो कार्यक्रम देशभरिमै लागू गराउन व्यापक रुपमा प्रचारप्रसार आवश्यक रहेको जानकारी गराए । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सूचनामूलक स्टिकर टाँस्ने कार्यलाई निरन्तरता दिनुपर्ने र यस कार्यमा स्थानीय तहले सहयोग गर्ने बताए ।