Newslaya Home

​मुगुको श्रीकोट पुग्दा......

म्याक्स अभय पोखरेल
सोमबार १४, जेठ २०७५

७५ जिल्लाको पैदल यात्राका क्रममा हामी २०७३ चैत्रमा मुगुको श्रीकोट पुगेका थियौं । अघिल्लो रात माझचौरमा बसेर बिहानै निस्केका हामी २ घण्टा हिंडेपछि गोजीमा रहेको पैसाले चिउरा र भुजा किन्न एउटा पसलमा रोकियौं । पसलकी दीदिसँग कुरागर्दै जाँदा हाम्रो यात्राको बारेमा बतायौं । हामी पैदलै ७५ जिल्लाको भ्रमणमा छांै भन्दा दीदि तीनछक्क परिन् । 

कुरा अगाडी बढ्दै गर्दा दीदिले आज गाउँमा छैठी भएकाले छैठीमा देउडा हेर्न जान आग्रह गरिन् । ‘भोज भतेर हुन्छ, जाऔं हिंड्नुस् हेर्न, म पनि त्यहिं हिंड्न लागेको’ दीदिले भनिन् । बाटो पनि त्यतै पर्ने भएकाले अनि केहि खान पनि पाइने आसमा हामी दीदिको पछाडी लाग्यौं । 

             
    
दीदिले हामीले ७५ जिल्लाको यात्रा गर्दै  गरेको तब पत्याइन, जब राराको चेकप्वाइण्टमा खटिएका प्रहरीलाई हामीले हाम्रो जिल्ला प्रशासन र प्रहरीको कागज देखायौं । चेकप्वाइण्टबाटै देखिने छैठीको त्यो रमाइलो देउडा नाच हामी नजिकबाट नियाल्न आतुर भयौं । हामी केहि अगाडी पुगेर घर अगाडीको डाँडाबाट हेरीरहेका थियौं । एउटा व्यक्तिले भित्रै आउन अनुरोध गरे, भित्रै गएर कुराकानी गर्न थाल्यौं, उनले खान खाएर जान अनुरोध गरे, हामी पनि मख्ख पर्दै खानको पर्खाइमा देउडाको रमाइलो लिंदै बस्यौं ।  

छोरा जन्मेको ६ दिनमा मनाइने छैठी, छोरी जन्मिदा भने देख्न नपाइँदो रहेछ । छोरो जन्मेको खुसीमा, जन्मेको दिनदेखि नै देउडा खेल्न थालिन्छ । ६ दिनसम्म मनाइने यो छैठीको अन्तिम रात, रात भरि नै देउडा खेलिन्छ । छैठीको अन्तिम दिन गाउँभरिका मान्छेलाई भोज दिने चलन रहेछ । 

महिला र पुरुष अलग–अलग खेलिने देउडा २ समूहमा बिभाजन भइ प्रश्नउत्तरको रुपमा खेलिन्छ । व्यङ्ग्य र ठट्यौली पारामा खेलिने यो देउडा पूर्वको दोहोरी जस्तै लाग्यो । भाका, लय, अलिकति भाषा अनि खेल्ने तरिका मात्र छुट्टै, सबैजना हात समातेर गोलो भएर वरिपरि घुम्दै खेलिने यो देउडा, तबसम्म चल्छ जबसम्म पुरेत(पण्डित)ले पूजाको काम सक्दैनन् ।
 
देउडा सकिएपछि बीचमा बलेको मुढोमा देउडा खेलेको बासलाई हालिन्छ अनि भोजमा तयार पारिएको खसी र भेडा बलि दिइन्छ । अचम्म त तब लग्यो जब त्यो बली दिएको सिङ्गै खसीलाई अँगेनामा हालियो । हामीले सोध्यौं, किन यस्तो गरेको ? खासमा त्यसरी नै मासु तयार पर्ने चलन रहेछ, त्यो बलेको आगोमा खसीको भुत्ला मजाले नडढेसम्म मासु तयार नपारिंदो रहेछ । हामी पनि मासु चाहिं खाएरै जाने भनेर पर्खाइमा बस्यौं .......... ।
(अन्त्य को सुरुवात यात्रा को ३१ दिन को डाइरीबाट)