Newslaya Home

युगाण्डामा किन लगाइयो फेसबुक चलाउँदा कर तिर्नुपर्ने नियम ?

मङ्गलबार २२, जेठ २०७५

काठमाडौं । युगाण्डाको संसदले फेसबुक लगायतका सोसल मिडियाको प्रयोग गर्ने नागरिकमाथि कर लगाउने कानून बनाएको छ ।

कानून अनुसार फेसबुक, ह्वाट्सएप, भाइबर तथा ट्विटर जस्ता सोसल प्लेटफर्म प्रयोग गर्ने मानिसहरुले हरेक दिन झण्डै पाँच रुपैयाँ बराबरको रकम कर तिर्नुपर्ने छ ।

सोसल मिडियामा अफवाह रोक्नका लागि यस्तो कानून लागू गर्न लागिएको राष्ट्रपति योवेरी मुसेवनीले बताएका छन् ।

यो कानून आगामी जुलाई १ तारेखदेखि लागू हुनेछ । तथापि कानून कसरी कार्यान्वयन हुने भन्ने विषयमा अझैपनि अन्योल रहेको बताइएको छ ।

संसदले पारित गरेको नयाँ अन्तशुल्क कर सम्बन्धी कानूनमा अन्य धेरै खाले नयाँ कर पनि रहेका छन् । जसमा मोबाइल मनी ट्रान्सफरमा समेत एक प्रतिशत कर तिर्नुपर्ने प्रावधान रहेको छ । यस्तो कानूनले युगान्डाका गरीब नागरिकहरु नराम्रोसँग प्रभावित हुने आशंका गरिएको छ ।

पछिल्लोपटक बढाइएको करले देशको राष्ट्रिय ऋण कम गर्न सहयोग गर्ने युगाण्डाका अर्थमन्त्री डेभिड बहाटीले बताएका छन् ।

यो नयाँ कानून कार्यान्वयन गर्न भने सजिलो छैन । कुन मानिसले सोसल मिडिया प्रयोग गरेको छ र कसले छैन भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ ।

अर्थ मन्त्रालयले भने सोसल मिडियाको प्रयोग शिक्षा र अनुसन्धानमा पनि भैरहेको भन्दै यसमा कर लगाउन नहुने बताउँदै आएको थियो ।

तर राष्ट्रपतिले चाहीँ नयाँ कानूनले मानिसहरुको इन्टरनेट खपत कम हुने र यसले आर्थिक बचत हुने बताएका छन् ।