Newslaya Home

सफाइ पाएपछि पूर्वेली फुटबलर सन्दीपले लेखे, ‘पर्सनल फाईदाको लागि हामीलाई मोहरा बनाइयो’

शुक्रबार २५, जेठ २०७५

इटहरी । म्याच फिक्सिङ आरोपमा तीन वर्षअघि पक्राउ परेका फुटबल खेलाडीहरुले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीहरुले सफाइ पाएपछि खुसी व्यक्त गरेका छन् । 
नेपालको तर्फबाट विभिन्न खेलका दौरान म्याच फिक्सिङ गरेको अभियोगमा सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापामाथि राज्यविरुद्धको अपराधसम्बन्धि मुद्धा चलाइएको थियो ।

सफाइ पाएलगत्तै खेलाडीहरुले सत्यको जित भएको लेखेका छन् । सुनसरीका फुटबलर सन्दीप राईले केही फोटोसँगै लामो स्टाटस र अनुभव फेसबुकमा शेयर गरेका छन् । स्टाटसमा आफूहरु कसैको व्यक्तिगत फाइदाको लागि प्रयोग भएको बताएका छन् । उनले आफ्नो पक्राउ वा सफाइमा एन्फा नबोलेकोमा समेत चित्त दुःखाएका छन् । उनले आउँदो दिनमा निर्दोष खेलाडीले दुःख नपाउन्समेत भनेका छन् । उनको स्टाटस यस्तो छ ः

२० वर्ष अगाडी आफ्नो परिवार पढाई सबै एक ठाउँमा छोडेर फूटबलमा प्रवेश गरे । फूटबल भित्रकै परिवारमा छु, राम्रो मार्गमा छु जस्तै लाग्थ्यो । ठूलै झूठको भुल भुलैया परेको रहेछु ।अझ हाम्रो छाता सङ्घ एन्फा । तीन वर्ष अगाडी पर्याप्त प्रमाण विना हामी खेलाडीलाई त्यस्तो ठूलो अभियोग लगाउँदा नेगेटिभ वा आज सम्मानित विशेष अदालतबाट सफाइ पाउँदासमेत ,एक शब्द पोजेटिभ बोल्न नसक्नुले नै प्रष्ट पारिदियो । डर हो वा फाइदा ?? कुरा बुझ्न गाह्रो । 

सबैलाई आफ्नो व्यक्तिगत फाइदाको मात्र मतलब रहेछ । 
साढेको जुधाईमा बाच्छाको मिचाई भन्ने उखान एकदमै ठिक लाग्यो । हरेक फुटबल खेल खेल्दा सम्म सबैले राम्रो अझ उत्कृष्ठ नै भने, कहीँ कतैबाट कहिले पनि एक शब्द नराम्रो आएन । पर्सनल फाईदाको लागि होस् वा कुनै झगडाको लागि, हामीलाई मोहरा बनाइयो । 
एक तर्फी नेगेटिव न्युज आयो, तब सबै नराम्रो मै ?? र हामी ?? हेर्ने, देख्ने र बुझ्नेले त कमसेकम केही बोल्दिन्छन् भन्ने थियो, तर त्यस्तो केही भएन । कता कता त झन उल्टो मात्र । 

जे भयो अत्यन्त नराम्रो घटना भयो ।आज आएर सम्मानित विषेश अदालतबाट सफाई पाउँदा केहि राहत अवश्य मिलेको छ तर आउने दिनमा फेरी पनि कुनै निर्दोष खेलाडीको खेल जिवन  कसैको व्यक्तिगत फाईदाको लागि वा कुनै लडाईको लागि युज नहोस् ।
अझै पनि हामीलाई बदनाम गराउन कतीसम्म खेल खेल्छन्, हेर्न बाँकी नै छ। अन्त्यमा, तीन वर्षको यो मेरो कठिन घडीमा म प्रति सधै विश्वास र सद्भाव राख्दिनु हुने सम्पूर्ण ईष्टमित्र दाजुभाइ परिवार संघ सस्थालाई मेरो मनबाट मुरी मुरी धन्यवाद ।

1 प्रतिकृयाहरू प्राप्त
  • arjooonलेख्नुहुन्छ
  • |
  • शनिबार २६, जेठ २०७५ ०३:३०
Ummmm..... But i dont believe it...