Newslaya Home

​फूलमतीको देश (कविता)

- किरण सिवा
आइतबार २७, जेठ २०७५

समयको कलिलो डोरि बाटेर 
आँशुको नाम्लोले पिरहरुको भारी बोक्छिन् फुलमती

पसिना र आँशुको स्वाद एकै चोटि बुझेकि उसले 
मुस्कानको अस्तित्व बन्धकी राखेर जिन्दगी सित 
हाँस्न पनि चाहन्छिन् 
गर्छीन् कृत्रिम मुस्कानको आविष्कार

दिन थाके पछि 
सालधुपको सुगन्धले साँझको सिमेभुमे पन्छ्याउँदै 
सिकुवामा बसेर के के सोचीरहिन्

किन फर्किएको छैन श्रीमान्
स्वाभिमानको आकाशमा देशभक्तिको विमान 
चढेर हिडे देखि ?

टिनको पाताले घर छाउने सपना बोकेर हिडेको छोरो 
आखिर किन फर्किएको छैन ?
किन 
सब्जी किन्न हिडेकी बुहारी 
तीन साल बितिसक्दा पनि उसको हटिया सकिएको छैन ?
किन एकान्तपनको सन्नाटाले लखेटी रहन्छ उस्लाई ?

यी सबै कुरा सँग खबर पाएर पनि 
बेखबर फुलमती 
समाजको शुन्यताबाट जोगिदै जोगिदै 
यसरी चित्त बुझाउँछिन् कि 
रोए पछि मात्र पोखिन्छ दुःख, 
सम्झिए पछि मात्र बल्झिन्छ अतीत,

नवजात बिहान ब्युँझे पछि
जब कलिलो घाम निस्किन्छ 
तब 
कठोरताको मरुभूमिमा यात्रा गर्छिन्

आफ्नै परिवारको देशबाट
बञ्चित भएकी फुलमती 
यति बेला सहर पसेकि छिन्

कल्पनाको डायरी बाट गुञ्जिरहेको जीवनका रागहरु 
सार्थक बने पछि 
क्षितिजको फेदिमा उभिएर 
इन्द्रेणी रङ्गहरुले क्यान्भास गर्छिन् देशको मानचित्र
हो सहर पसेपछि फुलमती देश सोच्न थालेकी छिन्

देख्न थालेकी छिन् 
आफुल जस्तै हजारौं फुलमतीहरु 
जो आँशुको सुन्यतामा बिलाई सकेका छन् 
जो झुन्डिएका छन् आफ्नै खुसिको फाँसि लगाएर 
जो हिडिरहेका छन् नयाँ युगको खोजी गर्दै

आफ्नै आदर्शबाट खसेकी फुलमती 
फूलको नाममा कोमलता गुमाएकी छिन्
ईज्जतको नाममा ईमान गुमाएकी छिन्
बाध्यताको नाममा रहर गुमाएकी छिन्
उ सँग
मात्र बाँकी छ त आफु बाँचेको समय 
जुन् समय ईश्वरले चिहाई रहेकोछ

हो 
जिन्दगीको रुखबाट
उमेरका पत्ताहरु खसिरहँदा
बटुलेर सभ्यताको आयामहरु 
स्वाभिमान मझेत्रो ओढि 
राष्ट्रबादको पटुकी बेरेर हिडेकी फुलमती
यसबेला चिहान भित्र देशको नक्सा कोरिरहेकी छिन् ।

(इटहरीमा आयोजित साँस्कृतिक महोत्सवअन्तर्गत कविता प्रतियोगितामा प्रथम भइ २५ हजार रुपैयासहित प्राप्त गरेको कविता)