Newslaya Home

सुनसरीको कोशी नदिमा जेटबोट सञ्चालनमा कठिनाइ, यस्तो छ कारण

बुधबार ३०, जेठ २०७५

सुनसरी । सुनसरीको कोशी नदिमा जेटबोट सञ्चालनमा आउदा स्थानीयहरु निकै उत्साहित भएका थिए । पैदल हिडेर लामो दुरी पार गर्नु पर्ने बाध्यतालाई जल यात्राले निकै राहात पुर्याएको थियो । तर केही समय नबित्दै बर्षायाम सुरु भएसँगै कोसी नदीले तीव्र प्रवाहका साथ रूखका मुढा बगाएर ल्याउन थालेपछि एक सातायता जेटबोट सञ्चालन कठिन बनेको छ ।

नदीमा पानीको सतह घटेको र केही संलिएको संकेत पाएवित्तिकै जेटबोट सञ्चालन गर्ने गरिएको छ । यसरी अनियमित रूपमा जेटबोट चल्ने गरेकाले यात्रुहरू भने मारमा परेका छन् । 

एक दिनमा पाँच देखि आठ खेप यात्रु ओसार्दै आएको जेटबोटले नदीले बगाउने रूखका कारण मंगलबार बिहान एक पटकमात्र यात्रु ओसारेको थियो । 

चैत १९ गतेदेखि व्यावसायिक रूपमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट सञ्चालन गरेको हो । वर्षायाम सुरु भएयता कोसीले ठूलाठूला रूखै बगाएर ल्याउन थालेकापछि यात्रुको सुरक्षाका कारण जेटबोट सञ्चालन गर्न कठिन भएको छ । 

नदीको अवस्था हेरेर जेटबोट सञ्चालन गर्ने गरेको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सदस्य अमित भगतले बताएका छन् । 

व्यावसायिक रूपमा जेटबोट सञ्चालन गरेपछि दूधकोसीतर्फ भोजपुरको हतुवागडी, चुहार, आमचोकसम्म र अरुण नदीतर्फ धनकुटाको सहिदभूमि गाउँपालिकाको सिम्लेसम्म  सञ्चालन हुँदै आएको छ ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सदस्य अमित भगतले बर्षायाम सुरु भएसँगै केही दिनअघिदेखि कोसी नदीको सतह बढेको छ । वर्षाका कारण बाढी र पहिरो खस्ने र किनारा छेउछाउका रूखसमेत बगाएर ल्याउन थालेकाले जलयात्रा अनियमित भएको बताए । उनले धेरै वर्षा भएमा तीन महिनाका लागि जेटबोट सञ्चालन स्थगित गर्ने बताएका छन् । 

दूधकोसीमा व्यवस्थित, सुरक्षित रूपमा सरकारले जलयात्राको नीति तयार गरेर नदीका अवरोध हटाएमा भोजपुरको पावला, दुङमाना, पाङा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोक, खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जेटबोट सञ्चालक कवि राईले बताए । 

यस्तै अरुणको अवरोध हटाउन सकेमा संखुवासभाको तुम्लिङटार फेदीसम्म यात्रुलाई एक घण्टामा पुर्‍याउन सकिने राईले बताए ।