Newslaya Home

​आयात र निर्यातको प्रक्रिया झन्झटिलो

बुधबार ३०, जेठ २०७५

धरान । भारतीय नाकाहरु बाट आयात तथा निर्यात हुने सामग्रीहरुमा भन्सार पास गराउन प्रक्रिया झन्झटिलो हुने भएकाले असहजत बनेको व्यवसायीहरुको गुनासो छ । 

स्वदेशी उत्पादनहरुको आन्तरिक निर्यात र अन्य मुलुकमा गरिने निर्यातलाई सहज बनाउन व्यवसायी तथा कृषकहरुले गुनासो गरेका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र सुनसरी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा धरानमा भएको आयात निर्यातको प्रक्रिया र उत्पादन विकाश र बजारमा पहुँच विषयक अन्तरक्रियामा सरकारले बनाएका आयात निर्यात नीतिहरु कार्यान्वयन हुन नसक्दा समस्या बढ्दै गएको उनीहरुले गुनासो गरेका छन् । 

वाणिज्य, उद्योग, आयात निर्यात निती हेरेर व्यवसायीले लगानी गरे पनि निती कार्यान्यवन नहुँदा निर्यात तथा आयातमा समस्या बढ्दै गएको व्यापार तथा कर विज्ञ कृष्ण कुमार अग्रवालले बताए । उनले भने, ‘सबै भन्दा ठुलो समस्या भनेको उद्योगीहरुको समस्या उद्योग मन्त्रालयले अन्य सम्बन्धीत मन्त्रालयहरुमा पुर्याउन नसक्नु नै हो ।’ सम्बन्धित मन्त्रालय सम्म उद्योगी व्यवसायीहरुको समस्या पुरयाएर समस्या समाधान गर्ने तर्फ ध्यान पुग्न नसकेको उनको भनाई छ । 

सरकारले जारी गरेको बजेट तथा निती कार्यक्रमले निर्यातमा बढाएको अढाई प्रतिशत करले झन व्यापारीहरुलाई मारमा पारेको उनले बताए । कच्चा पदार्थको अपर्याप्तता र गुणस्तरिय उत्पादनलाई प्रवद्र्धन गर्न नसक्दा निर्यात सम्भव नभएको व्यवसायीहरुको भनाई छ । 
अन्तरक्रियामा उठेका सवालहरु माथि टिप्पणी गर्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा वृद्धि गर्ने लक्ष्य सहित आयातमा राज्यले हस्तक्षेप गर्न थालेको बताए । उत्पादन गर्ने भन्दा उपभोग गर्ने प्रवृत्ति बढ्दो रहेको बताउँदै उनले स्थानीय उत्पादनमा वृद्धि गर्दै आयातित वस्तुहरुलाई निरुत्साहित गर्ने सरकारको तयारी रहेको उनको भनाई छ । उनले भने, ‘एन्टी डम्पीङ सम्बन्धी कानुन बनेको छ, संसदमा पेश गरेर पारित भए पछि कार्यान्यवमा आउने छ ।’ एन्टी डम्पीङ कानुनले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तरिय छनौट गरेर मात्रै आयात हुने उनले बताए । उनले सरकारले बजेट मार्फत् तत्काल ८ प्रतिशतको आर्थिक वृद्धि हासिल साथै ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए । उनले नेपालमा कृषिको अथाह सम्भावना भए पनि पर्याप्त उत्पादन भने गर्न नसकेको बताए । वाणिज्य मन्त्रालयले आगामी पाँच वर्ष भित्र १९० वस्तुको निर्यात गर्ने लक्ष्यमा पुगेको बताउँदै उनले वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको निर्यात रणनीति प्रतिवेदनमा चिया, कफी, अलैँची र हातेकागज निर्यात गर्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा मन्त्रालयका व्यापार सहजीकरण सल्लाहकार हिमाल थापा, व्यापार तथा निकास प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयस खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।