Newslaya Home

​सांसदलाई तालिम दिन ६० करोड

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । सांसदहरुलाई तालिम दिनका लागी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ५ वर्षमा ६० करोड रुपैयाँ खर्च गर्ने भएको छ । 

यूएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद् सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो ।

प्रदेश संसद् सचिवालयलाई सबल बनाउने, कर्मचारीको क्षमता विकास गर्ने, प्रदेश सदस्यलाई कानुन बनाउने र कार्यान्वयन गर्नेलगायत अन्य प्रक्रिया सिकाउनेजस्ता कार्यक्रम गर्नका लागि सचिवालयले सम्झौता गरेको बताइएको छ । 

यूएनडीपीका अनुसार सन् २००८ देखि अघिल्लो वर्षसम्म दुई अर्ब १८ लाख रुपैयाँभन्दा बढी सहयोग उसले गरेको छ । 

अघिल्लो संसद्मा पनि २४ वटा विधेयक बनाउन विज्ञको परामर्श दिन सहयोग गरेको, सार्वजनिक चासोका विषयको विधेयक छलफल गराएको, ४ सय ५३ सांसदलाई संसदीय प्रक्रिया सिकाएको, विभिन्न संसदीय समितिलाई स्वदेश र विदेश भ्रमण गराउनसमेत यूएनडीपीले सहयोग गरेको थियो ।

गत साताको दुईदिने प्रशिक्षण यूएनडीपीको खर्चमा भएको विषयलाई लिएर संसद् बैठकमा समेत विरोध भएपछि सचिवालय र यूएनडीपीबीच भएको ६० करोड सम्झौता सार्वजनिक भएको हो । 

संघीय संसद् सचिवालय, सांसद, प्रदेश संसद्, प्रदेश सदस्य, संसदीय समिति र कर्मचारीको क्षमता बढाउने, सांसदलाई जनताप्रति उत्तरदायी बनाउन ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी डलर खर्च गर्ने सम्झौतमा उल्लेख छ ।


तर, संसद् सचिवालय र सांसदको क्षमता अभिवृद्धि गर्न सरकारले नै खर्च गर्नुपर्ने सांसदहरुको माग छ ।