Newslaya Home

‘बडी क्यामेरा’ को प्रयोग गर्दै प्रहरी

बिहीबार ३१, जेठ २०७५


झापा । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न  ‘बडी क्यामेरा’को प्रयोग थालेको छ । 

अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

उक्त प्रविधिले अपराधीमात्र नभइ प्रहरीको गतिविधिबारे जानकारी लिन पनि सहज हुन्छ, कतिपय घटनामा प्रहरी नै दोषी भएको आरोप लाग्ने गरेको प्रहरी नायब निरीक्षक कोइरालाले बताए ।

इलाका प्रहरी कार्यालय बाट क्यूआटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिएको हो । मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रविधिको प्रयोगबाट अनुसन्धान छिटो सम्पन्न हुने र पीडितले चाँडै न्याय पाउनेमा प्रहरी आशाबादी रहेको छ ।