Newslaya Home

२० हजार लिएको आरोपमा एक जना पत्रकार पक्राउ

बिहीबार ३१, जेठ २०७५

विराटनगर । व्यवसायीसँग रकम लिएको आरोपमा एक पत्रकारलाई प्रहरीले  पक्राउ गरेको छ । विराटनगरबाट प्रकाशित हुँदै आएको राष्ट्रिय समाचारपत्र दैनिकका सम्पादक केदार चौहानलाई  प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

उर्लाबारी बजारमा रहेको होटल भेटघाटमा व्यवसायीसँग बार्गेनिङ गरेर २० हजार नगद लिएको पाइएपछि चौहानलाई पक्राउ गरिएको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

बुधबार वजन पानी उद्योगले उत्पादन गरेको पानी गुणस्तरहीन रहेको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि उद्योग सञ्चालक ध्रुवचन्द्र पराजुलीले चौहानलाई होटलमा बोलाएर २० हजार दिएसँगै प्रहरीले उनलाई पक्ताउ गरेको हो ।

चौहानले भने आफूलाई नियतबश फसाइएको बताएका छन् । अहिले पत्रकार चौहानमाथि अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।