Newslaya Home

​अमेरिकामा बन्यो सुपर फास्ट कम्प्युटर, संसारमा जम्मा पाँच सय यस्ता कम्प्युटर

बिहीबार ३१, जेठ २०७५

अमेरिका । अमेरिकाले विश्वमा अहिलेसम्मकै सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटरको निर्माण गरेको छ ।

समिट नाम दिइएको उक्त सुपर कम्प्युटर अहिले रहेको सुपर कम्प्युटर भन्दा दोब्बर शक्तिशाली छ । यो सुपर कम्प्युटरले एक सेकेण्डमा दुई लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्दछ । अर्थात् यो सुपर कम्प्युटर २०० पेटाफ्लोप्स क्षमताको छ ।

यसअघि सम्म विश्वमा सबैभन्दा तिव्र गतिमा चल्ने सुपर कम्प्युटरको रुपमा रहेको चीनको सनवे ताइहुलाइट सुपरकम्प्युटरको प्रोसेसिंग पावर ९३ पेटाफ्लोप्स रहेको छ ।

समिट सुपर कम्प्युटरको प्रयोग अन्तरीक्ष भौतिक विज्ञान, क्यान्सर अनुसन्धान र सिस्टम बायोलोजीमा हुनेछ ।

अमेरिकाको टेनिसीस्थित ओक रिज नेसनल ल्याबमा यो सुपर कम्प्युटर निर्माण गरिएको हो । आइबिएम र एनविदिया कम्पनीको सहकार्यमा यसको निर्माण भएको जनाइएको छ ।

सुपरकम्प्युटरमा निकै नै वृहत महंगो प्रणाली जडित हुन्छ र विशिष्टिकृत क्याल्कुलेसनयुक्त कार्यका लागि दशौँ हजार प्रोसेसरको प्रयोग गरिएको हुन्छ ।

समिट सुपरकम्प्युटरमा ४ हजार ६०८ कम्प्युट सर्भर हुनुका साथै १० पेटाबाइट मेमोरी रहेको छ ।

गत वर्ष सार्वजनिक एक तथ्यांक अनुसार विश्वका टप ५ सय सुपर कम्प्युटर मध्ये अमेरिकासँग १ सय ४३ वटा छन् भने चीनसँग २ सय २ वटा रहेका छन् ।

समिट निर्माण अघि अमेरिकासँग भएको सबैभन्दा तिव्र गतिको सुपर कम्प्युटर टिटान हो । यो विश्वको पाँचो तिव्र गतिको सुपर कम्प्युटर हो ।