Newslaya Home

​कम्मरभन्दा माथि नांगै भएर नुहाउन पाउने पक्षमा फैसला

बिहीबार ३१, जेठ २०७५

काठमाडौं । क्याटलोनियास्थित बार्सिलोनाको लामेतिया डिल व्यालियास गाउँमा स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विषयमा विवाद भएको थियो । विवादका कारण त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको थियो । मतदानमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ ।

उक्त गाउँ बार्सिलोनाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्दछ । गाउँमा करिब आठ हजार जनसंख्या छन् ।

टपलेस भएर नुहाउन पाउनुपर्छ भन्नेहरुको पक्षमा ६१ प्रतिशत र विपक्षमा ३९ प्रतिशत नतिजा आएको बीबीसीले जनाएको छ ।

यसको नतिजा कानुनीरुपमा १६ वर्षभन्दा बढी उमेरका महिलाहरुमा लागू हुने छ ।

हालै गर्मीको बेला जब दुई महिला कुनै स्विमिङ पुलमा टपलेस भएर नुहाइरहेका थिए, त्यहाँ रहेका लाइफ गार्डले प्रहरीमा खबर गरे । प्रहरी त्यहाँ पुगेर प्रहरीले तुरुन्त बिकिनी टप लगाउन भन्यो ।

यो घटनापछि टपलेस हुन पाउनुपर्ने पक्षमा रहेकाहरुले प्रहरी र प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु गरे । अर्कोतिर टपलेस हुनु हुँदैन भन्ने सन्देश दिन गाउँका पुरुष र महिलाहरुको समूह बिकिनी टप लगाएर स्विमिङ पुलमा पुगे । त्यहि बेलाबाट मानिसहरुले यसको छिनोफानो जनमत संग्रहबाट गर्नुपर्ने आवाज उठाएका थिए ।