Newslaya Home

​जे पायो त्यही नभन्न नेकपा नेता ईश्वर पोख्रेलको आग्रह

बिहीबार ३१, जेठ २०७५

इटहरी । पार्टी संगठन र नेताहरुको विषयमा जे पायो त्यही नभन्न नेकपा नेता ईश्वर पोख्रेलले आग्रह गरेका छन् ।

सुनसरीको इटहरीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भर्खर विचार, बाटो र विश्लेषण मिलेर पार्टी एक भएको बताउँदै संयमित हुनुपर्नेमा जोड दिए । 

‘साना तिना कुरा चित्त नबुझ्दैमा फ्यास्स भन्ने छुट कसैमा छैन,’ उनले भने, ‘कसैलाई केही लाग्यो भने प्रक्रियाले भन्ने हो, जहाँ पायो भन्दा जोरीपारि हँसाउने र साथीको मन दुःखाउने काम मात्र हुन्छ ।’

उनले एकताले कम्युनिष्ट मिल्छन् भन्ने प्रमाणित गरेको बताउँदै अरु पार्टीहरु पनि नेकपामा समावेश हुन आउने क्रम रहेको बताए । ‘अरु आउँदा बिग्रिन्छ कि भनेर धेरैले चिन्ता गर्छन्,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार कोही आउँदा तलमाथि हुँदैन ।’

उनले संविधान गतिशिल दस्तावेज भएकोले संशोधन हुने तर पर्याप्त कारण चाहिने बताए । उनले विदेशीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्नेमा समेत जोड दिए ।