Newslaya Home

सिण्डीकेटका बोर्ड हटाउँदै ट्राफिक, १२ वटा संघहरु प्रालिमा दर्ता

बिहीबार ३१, जेठ २०७५

धरान । सिण्डीकेट प्रणालीबाट संचालन भएका यातायात संघका बुकिङ काउण्टरहरु जिल्ला ट्राफिक कार्यालय सुनसरीले हटाउन थाले पछि धरानका १२ वटा संघसंस्थाहरु प्रालिको दर्ता प्रक्रियामा आएका छन् ।

सरकारले यातायात क्षेत्रको सिण्डीकेट अन्त्य गर्न संघहरु खारेज गरे पनि धरानमा संघका बुकिङ काउण्टरहरु संचालन भइरहेको थियो । खारेज प्रक्रिया कार्यान्यवन नभएको भन्दै आलोचना हुन थाले पछि ट्राफिक कार्यालय सुनसरीले धरानमा अनुगमन अघि बढाएको थियो । अनुगमनका क्रममा अधिकांश बुकिङ काउण्टरहरु दर्ता प्रक्रियामा नआएको भेटिए पछि ट्राफिकले बोर्ड हटाउन थालेको हो । 

अनुगमनका क्रममा २ दर्जन भन्दा बढी संघका काउण्टर बोर्डहरु हटाईएको ट्राफिक कार्यालयले जनाएको छ । बोर्ड हटाउन थाले पछि दर्ता प्रक्रियामा आउन थालेको ट्राफिक प्रहरी निरिक्षक होमराज दाहालले बताए । उनले भने, ‘केही दर्ता प्रक्रियामा छन्, धेरै जसो दर्ता भएर आए, केहीलाई चाडै दर्ता प्रक्रियामा आउन निर्देशन गरिसकेको छौं ।’

प्रालि दर्ता गरे पनि संघकै बोर्ड राखेका व्यवसायलिाई तत्काल प्रालि लेखिएको बोर्ड राख्न कार्यालयले सुझाव दिएको छ । ट्राफिक कार्यालयले लामो र छोटो दुरीका सबै यातायातका सवारी अनिवार्य प्रालिमा दर्ता भएर मात्रै संचालन गर्न निर्देशन दिएको छ । उनका अनुसार धरान बाहिर बाट संचालन भएका सवारी साधनहरु मात्रै प्रालिमा दर्ता भएका छन् । धरानबाटै संचालन भएका संघहरु भने प्रालि प्रक्रियामा नआएको उनको भनाई छ । 

विशेष गरि यातायात व्यवसायीका नेताहरुले संचालन गरेको सवारी साधनहरु दर्ता प्रक्रियामा आएका छैनन्, उनले भने, अहिले बोर्ड मात्रै हटाएका छौं, असार मसान्त सम्म अन्तिम समय रहेकाले त्यस पछि पनि अटेर गरे सवारी साधननै नियन्त्रणमा लिन्छौं । धरानमा विभिन्न क्षेत्रबाट संचालीत यातायातका साधनहरुको करिब १ सय ५० बुकिङ काउण्टरहरु रहेका छन् ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश नम्बर १ का संयोजक सरोज श्रेष्ठले संस्थाको विषयमा सरकारको निती नै अन्यौलमा रहेको बताए । संस्थामा आवद्ध व्यवसायीहरुले प्रालिमा दर्ता गरिसकेको उनको दाबी छ । तर ४ वटा सम्म सवारी साधन हुने व्यवसायीले साना घरेलुमा दर्ता गर्न मिल्ने प्रावधान रहेकाले घरेलुमा दर्ता हुने प्रक्रियामा रहेको उनले बताए । उनले भने, ‘नेताहरुको सवारी साधन प्रालिमा दर्ता नभएको भन्नु गलत हो, एउटा, दुईटा गाडि हुनेले घरेलुमा दर्ता गर्ने भनेको छ अनि प्रालिमा दर्ता गरयो कि गरेन भनेर खोजेर हुन्छ ।’ व्यवसायीहरु प्रालिमा दर्ता भए पछि उनीहरुद्वारा संचालित संस्थालाई के गर्ने भनेर सरकारले निर्णय गर्न नसकेकोले केही समस्या आएको उनले बताए ।