Newslaya Home

मूल्यवृद्धिको विरोधमा नेविसंघको शंख जुलुस, पुतला जलाउन खोज्दा प्रहरीको हस्तक्षेप

- विनय बाह्रकोटी
बिहीबार ३१, जेठ २०७५

नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गरेको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम जिल्ला कमिटी सुनसरी इटहरीमा विरोध जुलुस निकालेको हो । 

नेबिसंघले २७ गते सिट्ठी जुलुस, २९ गते मशाल जुलुस र आज ३१ गते प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम घोषणा गरेको छ । सोही अनुसार सुनसरी नेबिसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । 

नेपाली काँग्रेस इटहरी पार्टी कार्यालयबाट निस्केको विरोध जुलुसले चोक परिक्रमा गरी पुत्ला दहन गरेको हो । जसमा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको बाबजुद पनि नेबिसंघले दुईवटा पुत्ला बनाएर तयारी गरेको थियो । त्यसैले एउटा प्रहरीले गिरफ्तार गर्ने बित्तिकै अर्को पुत्ला जलाएको हो । 

करिब ५ सयको हाराहारीमा निस्किएको नेबिसंघको टोलीले मूल्य वृद्धि यथाशीघ्र फिर्ता गर्न माग गरेको छ । नेपाल सरकार र प्रहरी प्रशासनको विरुद्धमा नारा लगाएको नेबिसंघले जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि चाँडोभन्दा चाँडो फिर्ता नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । 

जुलुसको लागि इलाका प्रहरी कार्यालय इटहरीको नेतृत्वमा २०० बढी प्रहरी परीचालित थिए । पुत्ला दहनको क्रममा प्रहरी र नेबिसंघ कार्यकर्ता बिच ठेलमठेलसमेत भएको थियो । सो क्रममा नेबिसंघका पूर्व केन्द्रिय उपसभापती राजीव ढुङ्गाना माथि प्रहरीले बलजफ्ती गरेको थियो । 

विरोध जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै नेबिसंघ प्रदेश संयोजक विकास केसीले यो माग नेबिसंघको मात्र नभएर जनताको माग भएको तर नेबिसंघले आवाज उठाएको बताए । नेबिसंघ सधैँ जनताको पक्षमा रहेकोले जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि फिर्ता गरिदिन माग गरेका छन् ।

यो आन्दोलन सामान्य भएको र यो भन्दा कडा आन्दोलनमा उत्रन पनि नेबिसंघ तयार रहेको उनको भनाइ थियो । केन्द्रीय उपसभापती समेत रहेका केसीले यो सरकार निरंकुश शैलीमा अगाडी बढ्न खोजेको भन्दै नेबिसंघले सधैँ खबरदारी गर्ने उनी बताउँछन् । 

त्यस्तै नेबिसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले यो सरकारको ज्याजती भएकोले यसको खिलापमा नेबिसंघ सधै विद्रोह गरिरहने बताए । 

नेबिसंघले जुलुसमा शंख बजाएर रामनाम सत्ते हो भन्ने सम्मको नारा लगाएको थियो । उक्त कार्यक्रममा इकाइ क्षेत्र र जिल्ला कमिटी समेतको सहभागिता रहेको जनता बहुमुखी क्याम्पस इकाइ समितिका सभापति प्रमोद भट्टराईले बताए ।

नेबिसंघ जहिल्यै पनि शैक्षिक र जनमुखी कार्यक्रमको पक्षमा भएकोले यो सरकारको जबरजस्ती प्रवृतीको विरुद्धमा आवाज उठाएको उनको भनाइछ ।