Newslaya Home

​घुम्टो र दाइजोले निमोठिँदै प्रेम विवाह

- विनय बाह्रकोटी
शनिबार ०९, असार २०७५

‘तँलाई विवाह दर्ता बनाइदिनु भन्दा त छोडपत्र गर्छु, जता जान्छेस् जा मर्ने भए पनि मर,’ आफ्ना श्रीमान्ले गरेको गाली सम्झँदा एलीसा अहिले पनि आँखाभरी आँशु पार्छिन् । पाँच वर्षअघि १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी एलीसा कार्की अहिले आफन्तको सहारामा छिन् । 

उर्लाबारीबाट इटहरी पाहूना गएको बेला इटहरी ९ का असीम मियासँग प्रेम सम्बन्धमा परेकी थिइन् एलीसा । करिब ६ महिना लामो प्रेम सम्बन्धलाई सफल बनाउन विवाह पनि गरेका उनीहरूको प्रेम बिस्तारै खिइँदै गयो । 

वर्ष दिन नबित्दै एक सन्तानकी आमा भइन् एलीसा । अहिले उनीहरूको ३ वर्षकी छोरी छिन् । तिनै छोरी लाई छाडेर एलीसा आफन्तको शरणमा पुगेकी छिन् । ‘पहिला म बाँच्छु र पो नानीलाई हेर्छु, म आफै नबाँचे पछि नानीलाई कसरी हेर्नु ?’ उनी भन्छिन्, ‘ज्यान बचाउन भागेर हिँडेको हुँ ।’  

आफूलाई हिन्दूकी छोरी भएकै कारण यातना दिइएको उनको भनाई छ । असीमका दाजुले अन्सारी थरकी युवतीसँग विवाह गरेको केही दिनमै विवाह दर्ता पनि गराएको उनको भनाईछ । उनी भन्छिन्, ‘तर मलाई चाहिँ हिन्दुकी छोरी भएकै कारण दिनै यातना दिन्छन् ।’ असीम लाई पनि विवाह दर्ता गर्नुपर्यो भन्दा धेरै पटक मार्ने धम्की दिएको उनले मारिने धम्कीसमेत खेपिन् ।

सासू, ससुराले पनि छोरालाई नै उक्साउने गरेको उनको गुनासो छ । 

घुम्टो नलाएको निहूँमा पटक पटक यातना खेपिसकेकी कल्पनाको लागि फेसबुक चलाउनु, पाइन्ट लगाउनु र घर बाहिर निस्कनु भनेको कल्पना बाहिरका कुरा हुन् । जुन कुरा असीमको परिवार पनि स्विकार्छन । ‘मुस्लिम समुदायमा यी कुरा हाम्रो धर्म भित्र पर्दैनन्,’ असिमको परिवारको तर्क छ । 

गत जेष्ठ २२ गते इलाका प्रहरी कार्यालय इटहरी मा उजुरी दिन आएकी उनी कुनै हालतमा असीमको घर नजाने बाचा गरिहरेकी थिइन् । तर असीम र उनको परिवार भने घरको झगडा घरैमा मिलाउनु पर्ने बताउँदै आएका थिए । 

असीमले एलीसालाई घर नजाने भए ५ लाख रुपैयाँ दिने बचन गरे । तर माइती नेपालको प्रतिनिधि भन्दै छलफल स्थलमा आएकी सुन्दरहरैचा ४ कि साबीत्रा ढकालले पैसा दिनु नपर्ने भन्दै कानेखुसी गर्न थालिन् । त्यसपछि एलीसा माइत लागिन् असीम आफ्नो घर तिर लागे । 

असीम र एलीसाको प्रेमको डोरी घुम्टो नलगाएकै कारण चुट्टिन पुग्यो । 

कार्तिक २०७४ मा मनीषा खातुन र उनकी आमा इटहरीको एक मस्जिदमा आमरण अनशन बसे । उनीहरू नमाज पढ्ने बेलामा मस्जिदबाट निकालिए ।

भर्खरै १६ पुगेर १७ लागेकी कक्षा ११ मा पढ्दै गरेकी मनीषा प्रेम सम्बन्धमा थिइन् । इटहरी ५ का सबिद मियाले छोराको लाग विवाह गर्ने निधो गरेका थिए । यादव थर र हिन्दु धर्म मान्दै गरेको मनीषाको परिवारलाई सबिद मियाँले १ वर्ष अगाडीदेखि मुस्लिम बनाएका थिए । घरमा भएको तुलसीको मोठ उनैले भत्काइदिए ।

कार्तिक २८ गते सबिदका छोरा आजाद मियासँग उनको विवाह टुङ्गो भइसेकेको थियो । तर बिचैमा सबिदले विवाह गर्न नसक्ने बताए । त्यो बिचमा अर्को केटी पक्षबाट धेरै दाइजो आउने भएपछि मनीषा सँगको विवाह रोकिएको थियो ।  

एकअर्काको घरमा जाने, बुहारी भन्ने, काम अह्राउने, सम्धी, सम्धेना, सास,ु ससुरा सम्मको साइनो चल्न सुरु भइसकेको अवस्थामा दाइजो थोर भएकै कारण विवाह स्थगित गरियो । मनिषा र उनको परिवार यो घटनाले सामाजिक खिसिट्युरीको पात्र बन्यो । उनीहरु मुस्लिम एकता समाज र इलाका प्रहरी कार्यालय इटहरी पुगे । समाजले चासो देखाएन, प्रहरीले कुनै प्रमाण नभएकोले केही गर्न नसकिने बतायो । 
त्यसपछि मनीषा र उनकी आमा मस्जिदमा न्याय खोज्न अनसन बस्न पुगे । तर मस्जिदबाट पनि उनीहरुले न्याय पाएनन् । 

एकातिर हुँदा छँदाको धर्म परिवर्तन, त्यसमाथि विवाह गर्न सबै तयारी भइसकेको केटापक्षले तोडेको विवाह । मनीषाकी आमा त्यही तुलसीको मोठले सरापेर यस्तो भएको होला भन्ने दुःखेसो गर्छीन् । 

यी त इटहरीका प्रतिनिधि घटना मात्र हुन् । दाइजो र जातिय तथा धार्मिक परम्परागत संस्कारका कारण टुङ्गो लागिसकेका धेरै विवाह स्थिगित भएका छन् । मुस्लिम समुदायका युवा हिन्दु समुदायका युवतीसँग प्रेममा पर्ने र प्रेम लाई विवाहमा परिणत गरेपछि धार्मिक कारण देखाउँदै तलाक गर्नेहरु बढीरहेकाछन् । यसरी सामाजिक सद्भावको सेतु बन्ने अन्तरजातिय र अन्तरधार्मिक विवाहहरु विभिन्न कारणले टुट्ने गरेका छन् । 

२०७५ वैशाखयता दुहवी नगरपालिकामा मात्र १५ वटा डिभोर्सका घटना आएका छन् । जसमध्ये ११ वटा डिभोर्स चाहिँ सानै उमेरमा विवाह गरेर श्रीमान् विदेश गएको कारण टुटेका छन् । दुहबी नगरपालिकाकी उपमेयर सुनिता शाह अन्तर धार्मिक विवाह झनै समस्याको रूपमा देखा पर्ने गरेको बताउँछिन् । 

इटहरी उपमहानगरपालीकाको न्यायिक समितिमा पनि अधिकांश डिभोर्सका घटना दर्ता हुने गरेको पाइएको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार अन्तर धार्मिक सांस्कृतिक विवाहले समस्याको रूप धारण गरीरहेकोछ । 

प्रेममा सबै कुरा जायज हुन्छ, प्रेम अन्धो हुन्छ भन्ने जस्ता भनाइकै आधारमा प्रेम सम्बन्ध झाङ्गीदै गएको छ । तर जब प्रेम सम्बन्ध पारिवारिक बन्न पुग्छ तब जातीय, धार्मिक, साम्प्रदायिक रंगहरु गाढा बन्दै गएको पाइन्छ । जसको कारण प्रेम सम्बन्ध आझेलमा परीरहेकाछन् । दाइजो र धर्मकै कारण प्रेम अन्यायमा पर्ने गरेका छन् ।