Newslaya Home

‘चाँडै बजार बन्द गरेर शहर सुरक्षित हुन्छ ?’

- विनय बाह्रकोटी
शनिबार ०९, असार २०७५

इटहरी । इटहरी पूर्वको व्यापारिक हवको रूपमा विकसित हुँदै गइरहेको सहर हो । भौतिक रूपमा तीव्र विकास गरिरहेको इटहरी दिनमा जति दौडधुप र चहलपहलयुक्त देखिन्छ, रातमा भने मृत झै हुन्छ ।
 
इटहरीका छिमेकी नगर विराटनगर र धरान राती ११ बजेसम्म खुल्ला भइरहँदा इटहरी भने ८ बजे नै निदाइसकेको हुन्छ । 
 
सामान्य सहर बजार मात्र नभएर इटहरी हरेक यात्रुको ट्रान्जिट प्वाइन्ट हो । यहाँबाट बेलबारी, धरान, इनरुवा, बिराटनगरलगायत नजिकका सहरहरू आउजाउ गर्नेहरु रातीसम्म यात्रा गरीहरन्छन् । तर सम्साँझै बन्द हुने हुँदा इटहरीबाट आउजाउ गर्ने यात्रुहरू समस्यामा परीरहेकाछन् ।
 
इटहरी किन साँझै नपरी निदाउँछ ? इटहरीकै व्यापारी यसको जवाफ खोजिरहेका छन् । पहाडबाट झरेका र पश्चिमबाट आएका यात्रुहरू इटहरीमा बस्ने वा खाने योजनामा आउँछन् । तर उनीहरू साँझ सम्ममा इटहरी आइपुग्न सकेनन् भने बिचल्लीमा पर्ने गरेकाछन् । किनकी राजमार्गका अरु शहरहरुभन्दा इटहरी चाँडै बन्द हुने गर्छ । ‘भरतपुर, लाहानजस्ता बजारहरु रातीसम्म खुलै हुन्छन्,’ एक यात्रुले भने, ‘इटहरी भने ८ बजे नै बन्द भइसक्छ, होटल नपाएर समस्या हुन्छ ।’
 
इटहरी उपमहानगरपालिका, इटहरी होटेल व्यवसायी संघ, र इलाका प्रहरी कार्यालय इटहरी बिचमा गत जेष्ठ १४ गते एक सहमति भयो । 
 
जसमा राती १० बजे सम्म मदिरा पसल सञ्चालन गर्ने गराउने । मुख्य राजमार्गका आसपासका होटेल राती ११ बजेसम्म खुल्ला गर्ने । मुख्य राजमार्ग आसपासका र बसपार्क क्षेत्रका होटेलहरू मदीराजन्य वस्तुरहित ढङ्गबाट २४ सै घण्टा खुल्ला गरी खाना नास्ता बिक्री गर्ने गराउने सहमती भयो । 
 
यस्तै होटेल तथा लज व्यवसायीहरूले आफ्ना ग्राहकहरूको रजिष्ट्रर अध्यावधीक गरी अभिलेख राखी परिचयपत्र अनिवार्य राख्ने, होटेल तथा लज व्यवसायीहरूले आ–आफ्नो काउन्टरमा अनिवार्य रूपमा सिसी टिभी राख्ने, र कुनै पनि व्यवशायमा बालश्रमका प्रयोग नगर्ने सहमति भयो । 
 
तर सहमति अनुसार अझैसम्म पनि होटेल तथा बजार सञ्चालन हुन सकेको छैन । ‘प्रहरीहरु ८ बजे नै होटल बन्द गर्न दबाब दिँदै आइपुग्छन्,’ होटल व्यवशायी संघ इटहरीका महासचिव उमेश दाहाल भन्छन्, ‘चाँडै बजार बन्द गरेर शहर सुरक्षित हुन्छ ?’ उनका अनुसार चाँडै बन्द गर्दा अझ धेरै चोरीका घटना बढेका छन् इटहरीमा ।
 
उद्योग वाणिज्य संघ इटहरी सुरक्षाको हवला दिँदै पन्छिने गरेका छ । उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल शान्ति सुरक्षाको कारण बेलैमा बजार बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको बताउँछन् । गृह प्रशासनले रातीसम्म बजार चलाउन नसक्ने बताएपछि समसाझै बजार बन्द भएको उनको भनाइछ । उनी भन्छन्, ‘प्रहरीले माथिको आदेश भन्दै बजार खुल्ला गर्न मान्दैन ।’
 
उता व्यापारी व्यवसायी भने उद्योग वाणिज्य संघले प्रशासनसँग समन्वय गर्न सकेको भए यो सम्भव हुने बताउँछन् । रेडीमेड व्यवसायी संघ इटहरीका अध्यक्ष गायत्री कटुवालका अनुसार रात्री बजार सञ्चालन गर्न भनेर बारम्बार छलफल भए पनि व्यवहारिक रूपमा काम हुन सकेको छैन । इटहरी व्यपारीक नगरीको रूपमा परिचित सहर भएकोले यसैमार्फत् इटहरीको विकास सम्भव हुने उनको भनाइछ । जसको लागि इटहरीमा रात्रि बजार आवश्यक छ । उनी भन्छिन्, ‘स्ट्रिट लाइट, सिसी क्यामेरा र जनतामा सुरुक्षाको प्रत्याभूति हुन जरुरीछ ।’
 
इटहरीमा राती १० बजेपछि आइपुग्ने यात्रु होटल बन्द हुँदा भोकै सुत्नुपर्ने अवस्था छ । होटेल व्यवसायी संघको इटहरीका अध्यक्ष जीवन पराजुली शान्ति सुरक्षाको नाममा साँझ नपरी बन्द गर्नु पर्ने अवस्था आएको बताउँछन् । होटेलमा प्रहरीको अनावश्यक अनुगमन र सुरक्षाको प्रत्याभूति हुन नसकेको कारण इटहरी साँझ नपरी निदाउने गरेको पराजुलीको तर्क छ । इटहरीमा साना ठुला गरी १५ सय बढी  होटेल सञ्चालित छन् । 
 
कस्मेटीक व्यवसायी संघ इटहरीका अध्यक्ष अमर गोस्वामी पनि रातीसम्म पसल सञ्चालन गर्न सकिने बताउँछन् । तर सुरक्षित महसुस हुन नसकेको कारण दिउँसै पसल बन्द गर्नुपर्ने अवस्था आइपरेको उनको भनाइछ ।
 
इटहरी सबै तीरको ट्रान्जीट भएकोले यहाँ आपराधिक गतिविधि हुन सक्ने सम्भावना भएको कारण रातीसम्म बजार खुल्ला गर्न नसकिएको प्रहरीको भनाइछ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठ मदीराजन्य व्यापार बाहेक अन्य होटेलमा राती दश बजेसम्म कुनै अवरोध नभएको बताउँछन् ।