Newslaya Home

​स्थापना दिवसमा यातायात मजदुरले गरे रक्तदान

शनिबार ०९, असार २०७५

धरान । यातायात मजदुरहरुले आफ्नो संगठनको ३९ औं स्थापना दिवसको अवसरमा देशै भरि रक्तदान कार्यक्रम गरेका छन् । 

यातायात मजदुरहरुको साझा संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३९ औं स्थापना दिवसको अवसरमा धरानमा आयोजित रक्तदान कार्यक्रममा ५९ पिण्ट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा संकलन भएको रगत धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा बुझार्ईएको संगठनका धरान उपमहानगर संयोजक कमल भट्टराईले बताए । 

नेकपा एमाले धरान उपमहानगर  विशेष इलाका कमिटीका अध्यक्ष नारायण सु्वेदीको प्रमुख आतिथ्यता तथा संगठनका १ नम्बर प्रदेश सचिब लक्ष्मी वाँनियाको विशेष अतिथीमा भएको रक्तदान कार्यक्रमको अवसरमा संगठनको आग्रहमा यातायात मजदुरका छोराछोरीलाई निशुल्य अध्ययनको व्यवस्था मिलाईदिए वापत धरान स्थित युरेका उच्च माविका प्रिन्सिपल राजेन्द्र गुरुङलाई सम्मान गरिएको छ । 

विसं २०३६ सालमा तरहराको पानीपियामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना भएको थियो । धरानका यातायात मजदुर स्वर्गीय छबिलाल लम्साल, स्वर्गीय महेन्द्र वुढाथोकी, रमेश विष्ट, कमल वुढाथोकी लगायतले संगठनको स्थापना गरेका थिए । रक्तदान कार्यक्रममा संगठनका संस्थापक स्वर्गीयद्वय मजदुर नेता लम्साल र वुढाथोकीको फोटोमा माल्यार्पण गर्दै स्थापना दिवस मनाएका छन् ।