Newslaya Home

नेपालको कृषिमा मलबिउदेखि यान्त्रिकरणसम्मको आवश्यकता

-बाबुराम कार्की
आइतबार १७, असार २०७५

असारे मासको दवदवे हिलो छि मलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा छविस ऋण लाग्यो.......

असारमास रोपाईका बेला गाउने यस्तै गीतहरुले खेतबारीको रमाइलो दृष्यमा रोपाई चल्ने गर्थ्यो । हिलो खेल्दै खेल्दै बिउ काढ्ने, बाउसे रोपार र गोरुले जोतेको दृष्य नै बेग्लै हुन्थ्यो त्यसमाथी असार १५ को दहि चिउराको महत्व नै बेग्लै हुन्थ्यो ।

तर आजकाल असार १५ को महत्व घट्दै गएको छ । नयाँ पुस्ताहरुका लागि त असार १५ को महत्व नै छैन । पछिल्लो समय अन्न भण्डार मानिने तराई क्षेत्रमा गोरुको संख्या घट्दै गएपनि जोतने प्रविधिको विस्तार भएको छ । पूर्वी नेपालका खेतहरुमा ट्याक्टरको प्रयोग बढेको छ । 

नेपालमा धान खेतिको पुरानो इतिहास छ । धानलाई पुरानो वालीको रुपमा चिनिन्छ । चिनको झेजिङ्ग प्रान्तमा ७ हजार वर्ष पहिले पनि व्यवसायिक रुपमा धान खेती गरिएको पाईन्छ । नेपालमा जंगली धान मानव सभ्यताको शुरु हुनु भन्दा पहिलेदखि शुरु भएको पाईन्छ । धानका प्रमूख दुई वंशज मध्ये ओराईजा सेटिभा जातको उत्पति नेपाल, भारत, भुटान, वर्मा, लाओस, भियतनाम, फिलिपिन्स र चिनमा भएको पाइन्छ । अफ्रिकी धान ओराईजा ग्लोवोरिमा पश्चिमी अफ्रिकामा ४ हजार वर्ष पहिले उत्पति भएको थियो ।

हाल संसारमा ४० हजार भन्दा बढी प्रजातिका धानहरु पाईन्छ । अमेरिकामा सन् १९८५ पछि मात्र धान खेति सुरु गरिएको थियो । संसारमा २० वंशजका जंगली धानहरु मध्ये ४ बंशजका जंगली धानहरु नेपालमा पाईन्छन् । नेपालको कपिलवस्तु जिल्लाको अजिगरा तालमा जंगली धानको उत्पति र सुर्खेतको वुलवुले तालमा सदावाहार धानको उत्पति भएको थियो । चितवनको लोथरखोला, जुम्लाको सुन्दरपुर जंगली धान पाईने प्रमुख स्थानहरु हुन् । नेपाल र एसियाकै प्रमुख खाद्यान्न वालीको रुपमा रहेको धान विश्वमा दोस्रो वालीको रुपमा चिनिन्छ ।

धानको प्रयोग चाडपर्वहरुमा पनि हुँदै आएको छ । पूजा गर्दा धान, चामललाई घिउसंग मिसाएर होम गर्ने चलन परम्परागत देखि नै चलिआएको छ । दशैंमा घरघरमा आफ्ना मान्यजनबाट चामलको अक्षता लगाई ब्यापक रुपमा मनाउने प्रचलन छ । दशैं बाहेक अन्य चाड पर्वहरुमा पनि चामलको विभिन्न परिकारहरु बनाई खाने गरिन्छ । घरबाट बाहिर जाने क्रममा शुभ साईतमा चामलको अक्षताको रातो टिका लगाई बिदा गरिने चलन पहिलादेखि नै चलिरहैकै छ ।

बिवाह, ब्रतबन्ध, पास्नी आदि कार्यक्रमहरुमा चामलको टिका लगाई कार्यको शुभारम्भ र समापन गरिन्छ । मृत्यु पश्चात् पनि लाशलाई घाटमा लैंजादा चामलको बुर्की छर्ने धानको चामल मात्र होइन परालबाट बिभिन्न प्रकारका घरायसी सामाग्रीहरु गुन्द्री, चकटी, भकारी, छानो आदि प्रयोग गर्ने चलन छ । कृषि उपज उत्पादन तथा अन्य सामाग्रीहरु सुरक्षितरुपमा ढुवानी गर्दा प्याकिङ्गको लागि परालको प्रयोग गरिन्छ । त्यसैगरी आधुनिक च्याउ खेती गर्नको लागि पराल प्रमुख श्रोतको रुपमा प्रयोग गरिन्छ । 

खाद्य तत्वको दृष्टिकोणले पनि भातलाई पोषिलो खानेकुराको रुपमा लिईन्छ । विज्ञहरुका अनुसार यसमा प्रशस्त मात्रामा कार्वोहाड्रेड पाईने, चिल्लो पदार्थ नगण्य रुपमा भएको र मुटु रोग लगाउने कोलेष्ट्रल तत्व नभएको, सोडियम तत्व कम भएको कारणले स्वस्थ्यबर्धक पनि मानिन्छ ।

धानमा प्रशस्त परिमाणमा भिटामिन, मीनरल्सहरु पाईने भएतापनि होलर मिलमा धान कुटाउँदा सबै तत्वहरु ढुटोमा जाने गरेको छ । यसमा शरिरलाई चाहिने ८ प्रकारका एमाईनो एसिडहरु पाईन्छ । साना बच्चाहरुको लागि पनि यो सजिलै पच्ने खाने कुरामा पर्छ । आधा कप भातमा ८२ क्यालोरी शक्ति, ४५ ग्राम कार्वोहाड्रेड र ३ ग्राम प्रोटिन पाईने गरेको विज्ञहरु बताउँछन् ।

यति धेरै महत्व बोकेको धानलाई बढी उत्पादन गर्न सरकारले किसानहरुलाई  माल, विउ, कृषि औजारहरु उपल्ब्ध गराउन बिर्सनु भएन । क्षेत्रफल र उत्पादनको हिसाबले अन्य खाद्यान्न वालीको तुलनामा झण्डै दोब्बर क्षेत्रफलमा हुने गरेको छ । विश्वका एक सय ११ भन्दा बढी देशले धानको खेती गरिरहेका छन् । विश्वमा खाद्यान्न वाली गहुंपछि दोश्रो स्थानमा धान वालीले ओगेटेको छ । विश्वको १६ सय २० लाख हेक्टर क्षेत्रफलमा धान खेती भईरहेको छ । एसियामा १५०० सय लाख हेक्टरमा खेती हुँदैआएको छ ।

विश्वमा एसिया र दक्षिण एसिया धान खेतीमा अग्रणी स्थानमा छन् । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ  भने भारत, इन्डोनेशिया, वंगलादेश, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल र जापान पर्दछन् । 

नेपालमा पनि धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धान खेतीको ठूलो महत्व रहेको छ । धानको उपभोग गरिबदेखि धनीसम्म र बच्चादेखि बृद्घसम्म सबैलाई समान छ । धानका चामल, भुजा, च्यूरा प्रमुख उत्पादन हुन् । बढ्दो पशुपालन व्यवसायिकमा धानको पराल, ब्रान, धानको ढुटो मुख्य आहार हुन् । धानमा आधारित कृषिजन्य उद्योग गाउँदेखि शहरसम्म प्रशस्त छन् जहाँ रोजगारको उपलब्धता बढी सुनिश्चित छ । यसैले नेपालको कूल जनसंख्याको करिब ६५% जनसंख्या कृषिमा आश्रित भै ३३ प्रतिशत कूल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने गरेको छ । करिब २१ प्रतिशत योगदान धानको मात्र रहेको छ ।

नेपालमा पछिल्लो समयमा कृषि अनुसन्धान परिषद्ले विकास गरेका ५४ जातका धानहरु सिफारिस भै खेती हुँदै आएका छन् । जसमा असिंचित र सिंचित जमिनलाई मध्यनजर राखी डुबान तथा सुख्खा सहन सक्ने धानका जातहरुको समेत विकास भएका छन् । अन्न भण्डार मानिने तराई क्षेत्रमा गोरुको संख्या घटदै गएपनि जोतने प्रविधिको विस्तार भएको छ । पुर्वी नेपालका खेतहरुमा ट्याक्टरको प्रयोग एक दशकदेखी हुँदै आएको छ । मुलुकमा खाद्यान्न वालीको उत्पादनमा धानले करिब ५५ प्रतिशत स्थान ओगटेको छ ।  धानलाई नेपाली अर्थतन्त्रको आधार स्तम्भ पनि मानिन्छ । 

पूर्वी नेपालमा कुल खेतियोग्य जमिन ९ लाख ७४ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमध्ये ४ लाख ८१ हजार ८३ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । धानमा उत्पादन लागत घटाई प्रतिस्पर्धी बनाउन रोपाई, कटाई, चुटाई तथा रोग, कीरा र झारपात नियन्त्रणमा मेशिनको प्रयोगलाई बढाई यान्त्रिकीकरणतर्फ जोड दिनुपर्ने बेला आएको छ ।

धान रोप्ने सिजनमा रासायनिक मलको व्यवस्था र मल अनुदानमा उपलब्ध गराउने कार्य, सहज रुपमा मल उपलब्ध गराउने प्रणालीको विकाश गर्ने कुनैपनि कन्जुसाई राज्यले गर्नु भएन । साना तथा सहकारी सिँचाइ कार्यक्रमलाई व्यवस्थित गर्दै ग्रमिण क्षेत्रहरुमा पुर्याउन आवश्यक भएको छ । 

आर्थिक वृद्धिको लागि कृषिक्षेत्रलाई प्रमुख क्षेत्र मानिएता पनि यसको प्रगति निकै कम छ । नेपालका बहुसंख्यक जनता कृषि क्षेत्रमा आधारित हुनुको साथै कृषि क्षेत्र नै राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा उभिएको अवस्थामा  कृषिमा आधारित जनता ब्यवसायीकको साटो निर्वाह मुखी छन् । कृषकहरुलाई  व्यवसायिक बनाउनतर्फ लाग्नुपर्ने भएको छ । 

ग्रामिण क्षेत्रमा कृषि पेशा पछिल्लो कालमा आएर घट्दै छ । पर्याप्त मात्रामा जनशक्ति नपाउदा , मल बिउको समस्या , सिचाईको असुविधा, परमपरागत खेति प्रणाली र उत्पादन गरेको अन्नले  बजार नपाउदा यस्ता समस्याहरु आई परेका छन् । परमपरागत खेति प्रणालीमा आधारीत कृषकहरु कृषिबाट जिवन यापन गर्नै नसक्ने भएका छन् । पछिल्लो समयमा किसानहरु कृषि कर्म गर्न बाट टाढा हुँदै छन् । आर्थिक आवस्था कमजोर भएका कृषकहरु मात्रै विकल्पको अभावमा कृषि पेशामानै अल्झेर बसेका छन् ।

नेपाल जस्तो गरिब मुलुकको लागि आर्थिक वृद्धिदरलाई माथी बढाउन मात्र हैन सामान्य रोजगारी गर्न जिविको पार्जनको लागि पनि कृषिको प्रमुख भुमिका छ । कृषि क्षेत्रलाई अध्ययन अनुसन्धान, प्राविधिकको विकासको सबै किसानलाई सबै प्रविधिको जानकारी र उन्नत प्रविधिहरुको सहि व्यवस्था, कृषिबजारको सुध्रिढीकरणमा उचित लगानी हुन सकेको खण्डमा कृषिको यथोचित प्रगति हुने थियो ।