Newslaya Home

‘वडाध्यक्ष अपजसे पद रहेछ, तर पनि वडा नं २० लाई सुनसरीकै नमुना वडा बनाएर देखाउँछु’ : मणीराम श्रेष्ठ

- विनय बाह्रकोटी
आइतबार १७, असार २०७५

इटहरी । म विगत लामो समय देखि नेपाली काँग्रेसको हरेक तह र तप्कामा रहेर राजनीति गरेको मान्छे हुँ । मैले राजनीतिलाई समाजसेवाको राजमार्गको रूपमा बुझेको छु । र यो कुरा आजसम्म पनि दाबी गर्न सक्छु की मैले राजनीतिको माध्यमबाट कुनै उपार्जनको बाटो रोजेको छैन । यो भनाइ इटहरी उपमहानगरपालीका वडा नं २० का वडाध्यक्ष मणीराम श्रेष्ठको हो ।
 
उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा उमेद्धवार भई विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेका उमेघद्धवारलाई मतले पाखा लगाउँदै उनी विजयी भएका थिए । इटहरी उपमहानगरका वडाध्यक्ष मध्ये सबैभन्दा ठुलो राजनैतिक आहोदाको रूपमा उनको उमेद्धवारी परेको थियो । उनी नेपाली काँग्रेस सुनसरी क्षेत्र नं २ का सभापति पनि हुन् । 

वडाध्यक्षमा विजयी भएसँगै उनी हरेक हिसाबमा चर्चाको शिखरमा छन् । कहिले काही विवादित विषयमा उनको उपस्थितिले उनी चर्चामा आउने गर्छन् ।

श्रेष्ठ राजनीतिमा लागे देखिनै आफ्नो निष्पक्षता र न्यायको बाटोमा स्पष्ट रहेको बताउँछन् । हुन त आफूले आफूलाई सबैले सही नै देख्छन् तर आफूले कहिल्यै कसैमाथि अत्याचार नगरेको कारण पनि सही नै रहेको उनको भनाइ छ ।
पहिला वडाध्यक्षको उमेद्धावार हुँदा यति धेरै तनाव हुन्छ भन्ने लागेको थिएन । काम गर्ने ऊर्जा थियो जुन अझै पनि कायमै छ । तथापि सार्वजनिक पद धारण गरेपछि त्यसलाई अंकुश लागाउनुपर्छ भन्ने मानसिकताको बिचमा जिम्मेवारी परेको उनी बताउँछन् । 

‘म सार्वजनिक पद धारण गरेको मान्छे हुँ,’ उनी भन्छन्, ‘म सार्वजनिक रुपमा नै जनताको हकहित चाहने मान्छे हो । त्यसैले जनताको पक्षमा पारदर्शी तवरले केही गरेरै देखाउने मेरो चाहना छ ।’

हुन त अहिले केही काम गर्न खोज्यो भने खुट्टा तान्ने प्रचलन व्याप्त छ । तर पनि त्यसबाट हलचल नहुने उनको भनाइ छ । उनी राम्रो कामको पनि गलत व्याख्या गर्ने काम भइरहेको प्रति दुखेसो गर्छन् । समाजमा राम्रो काम भयो भने आफू जस लिने कतै नराम्रो  भइहाल्यो भने त्यो सबै वडाध्यले गर्दा हो भन्ने प्रचलन स्थापीतनै भएको उनको बुझाइछ । 

वडाध्यक्ष भएपछि सबैले बोलाएको ठाउँमा जानै पर्यो । गएन भने ठुलो भयो भन्छन् । भोट चाहीन्जेल प्रयोग गर्यो अहिले समस्या पर्दा आँउदैन भन्छन् । उपस्थित मात्र भयो भने चित्त नबुझेको पक्षले वडाध्यक्ष विवादित भयो भन्न थाल्छन् । त्यसैले यो अपजसको पद हो भन्ने उनको बुझाइछ । 

‘कुनै विषयमा न्यायको पक्षमा बोल्यो भने पीडित वडाध्यले बर्बाद पार्यो भन्दै हिड्छ । अनि समाज पनि त्यही हल्ला अनुसारको धारणा बनाउँछ र समाजमा नकारात्मक सोचको विकास भइरहेको छ ।’ श्रेष्ठ भन्छन्, ‘कुनै विषयमा कसैलाई चित्त बुझेन भने पनि वडाध्यक्ष ले सबै जिम्मेवारी लिनुपर्छ भन्ने भएको छ ।’  

आफूले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर केही काम नगरेको उनको भनाइछ । आफू एक पटक वडाध्यक्ष भएको, तर पछि अर्को निर्वाचन पछि आउने वडाध्यक्षले पनि काम गर्ने उत्साह पाओस् भन्ने उनको धारणा छ । तर यस्तै नकारात्मक कुराले हरेक जनप्रतिनिधिलाई काम गर्न हतोतसाहीत गरीरहेको छ उनी सुनाउँछन् । 
 
तथापि वडा  नं २० इटहरीकै नमुना वडा बनोस् भन्ने चाहाना रहेको र त्यस्तै वडा बनाउने उनको योजना रहेको छ । आफू पहिला पनि गुण्डागर्दीको विरुद्धमा अभिया चालेको मान्छे भएको हुनाले गुण्डागर्दी गर्दै हिंड्नेको विरुद्धमा आफू सधैँ रहने श्रेष्ठ बताउँछन् । 

‘धेरैले वडाध्यक्षले यो काम गर्यो उ काम गर्यो यो भन्ने गर्छन्’, उनी भन्छन्, ‘जनताले बोलाएको ठाउँमा नगएर कहाँ जाने ? जनताले निर्वाचित् गरेपछि जनताकै पक्षमा फैसला गर्नुपर्ने हुन्छ, त्यसैलाई आधार बनाएर चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

आफू कानुन भन्दा बाहिर गएर केही गर्ने कुरा हुँदैन भन्ने पक्षको मान्छे भएकोले समस्या नहुने उनी बताउँछन् । कानुनकै आडमा बसेर आगामी ४ वर्ष भित्र वडा नं २० लाई इटहरीको मात्र हैन सुनसरीकै नमुना वडा बनाउने उनले प्रतिबद्धता व्यत्त गरेका छन् ।